पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’

0
15

‘सेल्फ सेन्सरसीप’को अर्थ स्व–नियन्त्रण हो । पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ भनेको एउटा पत्रकारले थाहा पाएको वा थाहा पाउन सम्भव रहेको कुनै विषय आन्तरिक र वाह्य कारणले प्रकाशमा नल्याउनु वा जुन रुपमा भएको हो सो रुपमा नल्याउने अवस्था हो । अथवा पत्रकार र तथ्यका बीचमा अवरोध ल्याउने एउटा पाटो हो सेल्फ सेन्सरसीप । जो विभिन्न कारणले गर्दा पत्रकारले थाहा पाएको वा थाहा पाउन सम्भव विषयलाई प्रभावित गरिदिन्छ । जसकाकारण समाज तथ्य थाहा पाउने अधिकारबाट वञ्चित हुन्छ ।

‘सेन्सरसीप’ भन्दा ‘सेल्फ सेन्सरसीप’ झन् गम्भीर र खतरनाक हुन्छ । ‘सेन्सरसीप’ सामान्यतयाः घोषित हुन्छ, देखिन्छ, प्रकट हुन्छ । त्यसकारण यसका तथ्यहरु केलाउन सजिलो हुन्छ । त्यसबिरुद्ध लड्न वा प्रतिवाद गर्न सहज हुन्छ । तर, ‘सेल्फ सेन्सरसीप’ धेरै हदसम्म अप्रकट हुन्छ, प्रमाण जुटाउन मुस्किल पर्छ । परिवेश र परिस्थितिको समिक्षा गरेर निचोड निकाल्नु पर्ने हुनाले कठिन पनि हुन्छ । समाचार, कार्यक्रम वा विचारमा नआएका तथ्यहरु केलाएर यसको व्यापकता, असर र प्रभाव मूल्यांकन गर्नुपर्छ । त्यसैले यो तुलनात्मक रुपमा जटिल छ ।

अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने प्रजातान्त्रिक समाजमा ‘सेल्फ सेन्सरसीप’ गम्भीर कुराको संकेत हो र यसको सधैँ विरोध हुने गर्छ । किनकि यसले तथ्य लुकाउन, बंग्याउन वा नरम बनाउन बाध्य पार्छ । त्यस अर्थमा तथ्य थाहा पाउने नागरिक अधिकारकोे विरोधी पाटो पनि हो ‘सेल्फ सेन्सरसीप’ । ‘सेल्फ सेन्सरसीप’लाई कतिपयले कतिपय प्रसंगमा सकारात्मक अर्थमा पनि प्रयोग गर्न खोजेका छन् । पत्रकार वा सञ्चार संस्थाले बृहद् सार्वजनिक हितमा कुनै कुरा तौलिएर मात्रै प्रकाशन वा प्रशारण गर्नु, कहिलेकाहीँ त्यसलाई प्रकाशमा नल्याउनु पनि हो । अथवा कतिपय कुरा लुकाउनुलाई पनि ‘सेल्फ सेन्सरसीप’ मानिएको छ र यसो गर्नु व्यापक सार्वजनिक हितमा उपयुक्त नै हो भन्ने अर्थ गर्न खोजिएको छ । यसका पक्षधरहरु ‘भारतमा इन्दीरा गान्धीको हत्या कुनै जाति विशेषका सुरक्षागार्डबाट भएको’ भनेर गरिएको गल्ती प्रेसले लुकाउन सक्थ्यो भनेर तर्क गर्छन् । तर, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको फराकिलो आलोकमा ‘सेल्फ सेन्सरसीप’ भनेको विचार र अभिव्यक्ति स्वतन्त्रता विरोधी पक्ष नै हो । यसले कुनै न कुनै रुपमा विचारलाई संकुचन गर्छ, तथ्यलाई लुकाउँछ, ढाकछोप गर्छ वा पीडक वा जवाफदेही बनाउनुपर्ने पक्षको हितमा प्रयोग गर्छ ।

‘काउन्सिल अफ युरोपको ह्युमन राइटस् च्यानल’ मा प्रेस स्वतन्त्रता अनुगमन कर्ता एइडन हवाइट लेख्छन्– ‘जब पत्रकार अथवा सम्पादक आफ्नो समाचार वा सम्पादकीय अन्र्तवस्तु माथिको छनौट गर्दा राज्य, प्रहरी, सञ्चार संस्थाको मालिक वा विज्ञापनदाताको स्वार्थ बमोजिम परिचालित हुन्छ भने त्यहाँ राम्रो पत्रकारिताको सम्भावना रहन्न ।’ यो भनेको सेल्फ सेन्सरसीपको अवस्था आउने परिस्थिति हो ।

पत्रकार, सम्पादक वा सञ्चार संस्थालाई समाजमा यस्ता विभिन्न पक्षहरु हुन्छन् जसले ‘सेल्फ सेन्सरसिप’ लागू गर्न दबाब दिन्छन् । ती मध्ये एउटा हो सम्पादक, पत्रकार वा सञ्चार सस्थाको व्यवस्थापकीय नेतृत्वको आस्थाको मामिला । सामान्यतयाः आस्था राजनीतिक भन्ने बुझिए पनि त्यो सार्वजनिक सरोकारको मामिलामा नीति–निमार्णदेखि कार्यान्वयन तहसम्मलाई प्रभाव पार्ने चिन्तनको फराकिलो दायरा हो आस्था ।

आफू सम्बद्ध दलको, दलका नेताको, त्यसमा पनि आफनो गुट वा समूहको पक्षमा गरिने खातिरदारी यसको एउटा उदाहरण हो । यसले आफ्नोको सधैँ सर्मथन र अरुको सधैँ विरोध गर्न सिकाउँछ । यसले व्यवहारमा आफ्नाको गल्ती नदेख्ने मनोवृत्ति विकास गरिदिन्छ । नेपाली समाजमा प्रचलनमा रहेको ‘आफ्नो आङको भैसी नदेख्ने, तर अरुको जिउको जुम्रा देख्ने’ प्रवृत्ति यसैको परिणाम हो । तसर्थ दल, जात, क्षेत्र, समुदाय प्रतिको अति आशक्तिले सेल्प सेन्सरसिपलाई मलजल गर्छ । कतिपय अवस्थामा कुनै व्यक्ति, विचार वा पक्षप्रतिको अति सर्मथन वा चर्को विरोधले पनि पत्रकारलाई त्यससँग सम्बन्धित मामिलामा ‘सेल्फ सेन्सरसिप’ को अवस्थामा पु¥याउन सक्छ ।

सेल्फ सेन्सरसीप बढाउने अर्को पक्ष धर्म पनि हो । सबै धर्महरुको केन्द्रीय चेतना भनेको मानव सेवा हो भन्ने सीमाभन्दा बाहिर निस्केर आफू र आफूले मानेको धर्म मात्रै ठिक अरु गलत देखाउन गरिने पैरवी जब पत्रकारिता वा सञ्चार संस्थाको सम्पादकीय अन्र्तवस्तु बन्नपुग्छ त्यहाँ एउटा धर्म ठिक अरु गलत भन्नुपर्ने अवधारणाले सम्पादक वा पत्रकारको मनोभावना एक पक्षीय हुन सघाउँछ । यसले पनि ‘सेल्फ सेन्सरसीप’लाई सघाउँछ । समाजमा यस्ता अरु थुप्रै बिषयहरु छन् जहाँ सम्पादक, पत्रकार वा सञ्चार संस्था स्वतन्त्र र तटस्थ भएर बिना दबाब वा प्रभाव विषय वस्तुलाई हेर्ने, टिप्पणी गर्ने वा पक्ष वा विपक्षमा उभिएर पूर्वाग्रह बीना बहस पैरवी गर्ने सम्भावना न्यून पारिदिन्छ । हिंसाको वकालत यसको एउटा उदाहरण हुन सक्छ । नेपालले पनि हिंसा राजनीतिको अंग हो र होइन भन्ने लामो श्रृंखला पार गरेको छ । बेलाबखत हाम्रा सम्पादक, पत्रकार र सञ्चार गृहहरु यसबारेमा अलमलमा परेका उदाहरणहरु पनि छन् ।
कतिपय बेला समाज वा राज्य संयन्त्रको चर्को दबाबका कारण पनि सञ्चार गृहहरु सेल्फ सेन्सरसीप गर्न बाध्य हुन्छन् । नेपालमा दरवार हत्याकाण्ड भनेर चिनिने घटनामा मिडियाले गरेको ‘कभरेज’ यसको एउटा उदाहरण हो । राजधानीमा सँ–साझै भएको हत्याको त्यो घटनाको भोलिपल्ट प्रकाशित हुने कुनै पनि पत्रपत्रिकाले तथ्यपूर्ण रिर्पोटिङ गर्न सकेका थिएनन् । एक–दुई पत्रिकाले दरवारमा गोली चलेकोसम्म लेख्न सके । अपराध र सुरक्षा विट हेर्ने केही पत्रकारले त यसलाई आफ्नो पत्रकारिता जीवनको सबैभन्दा अध्यारो पाटो समेत भनेका छन् । डर, त्रासका कारण कसरी पत्रकार र सञ्चार संस्था आफूले थाहा पाएको जति समाचार दिन पनि डराउँछन् भन्ने यो एउटा उदाहरण हो ।

लोभ सेल्फ सेन्सरसीपको अर्को हतियार हो । जब पत्रकार, सम्पादक र सञ्चार संस्था कुनै कुराको लोभमा फस्छन्, त्यतिखेर उनीहरुले त्यहाँ स्वतन्त्रतापूवर्क समाचार, कार्यक्रम र सम्पादकीय टिप्पणी गर्ने हैसियत गुमाउँछन् । लोभ यस्तो हतियार हो, जसले सार्वजनिक नभइकन धेरै कुरा सिध्याउन सघाउँछ । यसमा कहिँकतै देखिने धम्कि वा डर हुन्न । लाभ पाइन्नकी भन्ने डर मात्रै हुन्छ । जसका कारणले गर्दा आँखै अगाडिका धेरै कुराहरु समाचार, कार्यक्रम वा सम्पादकीय टिप्पणीको बिषय बन्न छाड्छन् । सार्वजनिक सुरक्षा र मुलुकको शासन प्रणाली पत्रकार, सम्पादक र सञ्चार संस्थाहरुलाई सेल्फ सेन्सरसीपमा पु¥याउन सक्ने पक्ष हो । यदि देशको सार्वजनिक सुरक्षा पद्धती विश्वसनीय छैन भने पत्रकारले निर्भयतापूवर्क समाचार लेख्न सक्दैन । यो समाचार वा टिप्पणीले मेरो सुरक्षामा प्रश्न उठाउला कि ? म असुरक्षित हुँला कि ? अथवा मलाई केही भइहाल्यो भने ? जस्ता प्रश्न पत्रकारको मनमा उठाइदिन्छ ।
यसको परिणाम पत्रकारले धेरै समाचार देखेको नदेख्यै गर्न थाल्छन् । देखे पनि समाचारमा जुन ‘धार’ हुनुपथ्र्यो त्यो हुँदैन । समाचार आइहाले पनि असाध्यै नरम धारमा आउन सक्छ ।

यस अर्थमा पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ कतिको छ भन्ने प्रश्न त्यो समाजको पत्रकारिताभित्र मात्र सम्बन्धित विषय होइन । त्यो समाज कति उदार, खुला छ, कति सुरक्षित छ, शासकहरु कति जवाफदेही छन् अनि पत्रकारिता कति व्यवसायिक छ भन्ने कुरासँग सम्बन्धि हुन्छ । त्यस अर्थमा पत्रकारितामा सेल्फ सेन्सरसीप त्यो देशको राजनीति, समाज, अर्थतन्त्र र सार्वजनिक सुरक्षा प्रणाली र प्रेसको व्यवसायिक स्तर मापन गर्ने एउटा औजार पनि हो ।

खोज पत्रकारितामा बाधा

सेल्फ सेन्सरसीपले पत्रकारितालाई लुलो बनाउँछ । यसले तथ्यहरुलाई जस्ताको तस्तै आउन दिँदैन । पत्रकारिता प्रति पाठक, दर्शक र स्रोताको विश्वासलाई कमजोर बनाइ दिन्छ । त्यसमा पनि खोज पत्रकारितालाई यसले नराम्रोगरी प्रभावित बनाइ दिन्छ । किनकि खोज पत्रकारितामा गहिरो अनुसन्धान गरेर लुकाएको तथ्य बाहिर ल्याउनुपर्छ । अनुसन्धान र लामो अध्ययनपछि मात्रै कुनै कुरा बाहिर ल्याउने÷नल्याउने निर्णय गर्न सकिने हुन्छ । तर, जुन समाजमा सामान्य आलोचना वा टिप्पणी नै नसहने, त्यसलाई अवाञ्छित प्रतिवाद गर्ने वा अस्विकार गर्ने संस्कृति हुन्छ । त्यहाँ खोज पत्रकारिताले वाञ्छित परिणाम देखाउन सक्दैन । यस्तो समाजमा हो सेल्फ सेन्सरसीप मौलाउने । किनकि पत्रकारले आफ्नो समाचारलाई लिएर पाइँला–पाइँलामा डराउनु पर्दछ ।

असहिष्णु समाज र बन्द शासन प्रणाली खोज पत्रकारिताका अवरोध हुन । जहाँ पत्रकारले गहन अनुसन्धान गरेर प्रकाशमा ल्याएको तथ्यलाई राज्य प्रणाली र शासन पद्धतीको सुधारको अंग बनाउने होइन कि त्यसलाई अवमूल्यन गर्ने, मानमर्दन गर्ने र उल्टो गालिगलौचको बिषय बनाउने गरिन्छ । त्यस्तो अवस्थामा एउटा पत्रकार के गर्ने के नगर्ने भन्ने दुविधामा हुन्छ । यो पनि एक प्रकारको ‘सेल्फ सेन्सरसीप’ हो ।

नेपालमा दरवार, सेना र अदालत लामो समयसम्म नेपाली प्रेसका लागि हाउगुजीका बिषय भए । राज दरवारका बारेमा केही नलेख्ने कतिपय सञ्चार माध्यमहरुको नीति नै हुन्थ्यो । मुलुकमा प्रजातन्त्र आइसकेपछि पनि तत्कालिन दरवारका युवराजधिराजले गराएको सडक दुर्घटनालाई लिएर पनि त्यसबेला खासै आलोचना भएन । अझ कतिपय लिडिङ्ग पत्रपत्रिकाले दुर्घटनाका पाठहरु भन्ने टिप्पणी लेखेर पुरै घटनालाई ओझेलमा पारेका थिए ।

त्यस्तै सेना वा सुरक्षा निकायका वारेमा कुनै टिप्पणी गर्नु अघि पत्रकारले पटक–पटक सोच्नुपर्ने अवस्था आयो भने त्यो पनि सेल्फ सेन्सरसीप हो । त्यसैगरी नेपालको न्यायालय पनि लामो समयसम्म प्रेसको टिकाटिप्पणीभन्दा बाहिर रह्यो । प्रेसले पनि त्यहाँका औपचारिक समाचार कभर गर्नेभन्दा बारिह गएर कुनै गहिरो समाचार खोजबिन गरेन । नेपाली समाजमा अरु यस्ता धेरै उदाहरणहरु छन् जसले कुनै बेला ‘सेल्फ सेन्सरसीप’लाई मलजल गरेको थियो ।

नेपालमा सेल्फ सेन्सरसीपको अवस्थाका सम्बन्धमा केही संक्षिप्त अध्ययनहरु भएका देखिन्छन् । तिनले नेपाली समाज, यहाँका विभिन्न पक्षहरु र तिनले आमसञ्चार माध्यमहरुलाई सेल्फ सेन्सरसीपमा कसरी पु¥याउँछन् भन्ने खुलासा गरेका छन् । व्यवसायिक पत्रकार, सञ्चारविज्ञसँग देशव्यापीरुपमा छलफल गरेर तयार गरिएका यी प्रतिवेदनहरुले समाजको तत्कालिन अवस्थासँग प्रेसको ‘सेल्फ सेन्सरसीप’को बिषय अन्तर सम्बन्धित हुने देखाएको छ ।

त्यस मध्येको एउटा हो, दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा)को अध्ययन । साफ्मा लागि पत्रकार प्रतिक प्रधान र रघु मैनालीको संयुक्त लेखनमा तयार भएको प्रतिवेदन ‘नेपाली पत्रकारितामा सेल्फ सेन्सरसीप’ अनुसार, ‘सेल्फ सेन्सरसीप नेपाली समाजको अंग बनेको अवस्थामा पत्रकार मात्रले स्वतन्त्रतापूर्वक आफूले उजागर गरेका तथ्यहरु बाहिर ल्याउन सक्दैनन् । पत्रकार आफैले यति धेरै मामिलामा स्व–नियन्त्रण गर्छ कि तथ्यहरु हराएर जाने सम्भावना धेरै रहन्छ ।’

शक्तिशाली व्यक्ति वा समूहका बदमासी, भ्रष्टाचार र संगठिन अपराध जस्ता विषयमा पत्रकारले गहिरो अनुसन्धान नगरिकन सत्य बाहिर आउन मुस्किल पर्छ । तर, पत्रकारलाई लोभ, डर र भौतिक तथा व्यवसायिक सुरक्षाको अभावमा उसले धेरै तथ्यहरु लेख्ने÷नलेख्ने भनेर तौलिन थाल्छ । कति लेख्दैन, कतिलाई पीडक वा शक्तिशाली व्यक्तिको पक्षमा लेख्छ, नभए नरम भाषामा लेख्छ । यसको परिणाम समाज सत्य–तथ्य थाहा पाउनबाट वञ्चित हुन्छ । समग्रमा पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ पत्रकारको चिन्तन, सोच र परिश्रमबाट प्राप्त तथ्यमाथि उसले मनमनै चलाउने कैँची हो । जसबाट समाजमा लुकेका वा लुकाइएका तथ्यहरु बाहिर आउनबाट रोकिन्छन् ।

(अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । गाउँले यसअघि हिमाल खबरपत्रिका र खोज पत्रकारिता केन्द्रका सम्पादक थिए ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here