प्रवासमा नेपाली पत्रकारिता : व्यावसायिक चुनौति र सम्भावना

0
16

वि.सं. २०४६ मा नेपालमा लोकतन्त्रको पुनस्र्थापनापछि नेपालीहरूका लागि संसार यात्राको ढोका खुल्यो– पढ्ने, अवसरहरूको खोजी गर्ने र विदेशमा स्थायी बसोबास गर्ने आदि । वि.सं. २०५२ मा माओवादी विद्रोह शुरु भएपछि त नेपालीहरुको विदेश पलायन तीव्रगतिमा हुन थाल्यो । हालै सार्वजनिक केन्द्रीय तथ्यांक विभागको तथ्याङ्क अनुसार हालसम्म बाइस लाख नेपाली मूलका मानिसहरू एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत महादेशमा पुगेका छन् । विदेशमा नेपाली समुदाय बढ्ने क्रमसँग नेपाली भाषामा नेपाल बाहिर पनि अखबार, रेडियो र टेलिभिजन खुल्न थाले । इन्टरनेटको आगमनपछि नेपाल बाहिरबाट नेपाली भाषामा अनलाइन पोर्टल सञ्चालन गर्ने लहरै चल्यो ।

स्मरण रहोस्, प्रवासी नेपालीको मात्रै होइन, अचेल संसारभरि नै प्रवासी मिडिया धेरै हदसम्म इन्टरनेटमा आधारित छन् । यसको संख्यात्मक आकार एवम् गुणात्मक स्तर दिन प्रतिदिन बढ्दो छ । त्यसरी सञ्चारमाध्यम सञ्चालन गर्नेहरू प्रायः नेपालमा पत्रकारिता पृष्ठभूमि भएका व्यक्ति छन् । उनीहरूले व्यावसायिक रूपमा आर्थिक उपार्जनका लागि अन्य काम गरेर बचेको समयमा पत्रकारिता गर्ने अभ्यास छ । किनभने सिमित संख्यामा छरिएको नेपाली समुदायकै भर परेर प्रवासी नेपाली मिडियाले सञ्चालन खर्च धान्न सक्ने अवस्था छैन । प्रवासी मिडियाले सम्बन्धित समुदायको पहिचान र राष्ट्रियताको भावनालाई बलियो बनाउँछ । यसले गर्दा नेपालबाहिर नेपाली भाषाीलाई संगठित गर्न र नेपाली भाषा र संस्कृतिको प्रवद्र्धन गर्न निकै मद्दत पुगेको मान्न सकिन्छ ।

प्रवासी सञ्चार संस्थाको संख्यात्मक वृद्धि भएसँगै गुणात्मक विकास वा व्यावसायिक पत्रकारिताका बारेमा चासो वा तदारुकता देखाउन ढिला भइसकेको छ । आफूलाई जे मनलाग्छ त्यही, जस्तो मन लाग्छ त्यस्तै, जति बेला फुर्सद हुन्छ, त्यही बेला जुन समाचार लेख्न मन लाग्छ, त्यही मात्रै राखेर अनालाइन वा कुनै सञ्चारमाध्यम चलाउने परिपाटीले प्रवासमा नेपाली पत्रकारिताले गुणात्मक फड्को मार्न सक्दैन । हुन त नेपालभित्रकै पत्रकारिता व्यावसायिक कार्यसम्पादनमा खरो उत्रन सकेको छैन, संख्यात्मक भीड बढेको छ, तर गुणात्मक फड्को मार्न सकिएको छैन भनेर चित्त बुझाउने ठाउँ पनि हुन सक्छ । तर, पत्रकारिताको लामो इतिहास र व्यावसायिक वर्तमान भएका युरोप र अमेरिका जस्ता महादेशमा बसेका नेपालीहरूले प्रवासमा मात्रै होइन, नेपालमा समेत व्यावसायिक पत्रकारिताका लागि उल्लेख्य मार्गनिर्देश गर्न सक्छन् । त्यसका लागि भए पनि हामीले फरक ढंगले सोच्न र काम गर्न ढिला भइसकेको छ ।

प्रवासमा नेपाली पत्रकारिताका समस्या

प्रवासी नेपालीले सञ्चार गरिरहेका सञ्चार संस्थामा पत्रकारिताको गुणस्तर कस्तो छ ? के समस्या छन् ? आर्थिक अवस्था कस्तो छ भन्ने बारे यथार्थ जानकारी नभइकन त्यसको समाधान के हो र कसरी गर्न सकिन्छ भनेर निष्कर्षमा पुग्न कठिन छ । यसका लागि मैले बीबीसी नेपालीका पूर्व पत्रकार भगीरथ योगी र डा. जगन कार्कीले सन् २०२२ मा प्रकाशन गरेको अध्ययनको संक्षेप यहाँ प्रस्तुत गरेको छु । उक्त अध्ययन बेलायतको राउटलेज प्रकाशनबाट प्रकाशित पुस्तक ‘ग्लोबल पस्र्पेक्टिभ अन जर्नलिजम इन नेपाल’मा प्रकाशित छ । त्यस पुस्तकको सम्पादक म आफैं भएकाले यस लेखमा योगी र कार्कीले गर्नुभएको अध्ययनका मुख्य अंशहरुलाई समावेस गर्दा अझ बढी सान्दर्भिक होला भन्ने ठानेको छु ।

योगी र कार्कीले केस स्टडी विधि प्रयोग गरी नेपाल बाहिरबाट सञ्चालित ४४ ओटा अनलाइन पोर्टलका सञ्चालकहरूलाई व्यावसायिक पत्रकारिता र आर्थिक दिगोपनका बारेमा सर्भेक्षण अध्ययन गर्नुभयो । त्यसको तथ्याङ्कमा आधारित भएर १० वटा अनलाइनको सूक्ष्म अवलोकन र पाँच अनलाइन सञ्चालकसँग अन्तरवार्ता लिइयो । उक्त अध्ययन दुईवटा प्रश्नमा आधारित थियोः

१. नेपाली प्रवासी पत्रकारले सञ्चालन गरेका अनलाइन माध्यमले व्यावसायिक मापदण्ड, आचरण, सामाजिक उत्तरदायित्व आदिलाई बहन गर्न सक्छन् ?
२. दीर्घकालसम्म नेपाली आप्रवासीले सञ्चालन गरेका सञ्चार संस्थाहरू आर्थिक रूपले सञ्चालन हुनसक्छन् ? अध्ययनका निष्कर्षहरूलाई यहाँ दुई उपशीर्षकमा चर्चा गरिएको छ ।

१. व्यावसायिक मापदण्डहरूको अवमूल्यन

प्रवासी नेपाली पत्रकारिताको व्यावसायिक मापदण्डको परिपालन र आर्थिक दिगोपनका बारेमा अध्ययन गर्न सम्पर्क गरिएका ६५ मध्ये ४४ अनलाइन पोर्टल सञ्चालकहरू सर्भेक्षणमा सहभागी भए । अध्ययनमा समाचारको मौलिकता, गुणस्तर, आचारसंहिताको परिपालन आदि शीर्षकमा प्रश्नहरू सोधिएको थियो । सहभागी भएका मध्ये ७३ प्रतिशत अनलाइन पोर्टल सञ्चालकले प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता पालना गर्ने गरेको बताए । नेपालबाहिर सञ्चालित नेपाली समाचार पोर्टलहरूले प्रेस काउन्सिल नेपालद्वारा जारी आचारसंहिता पालन गर्नु आवश्यक छैन । उनीहरूले सम्बन्धित देशका आधिकारिक संस्थाले जारिगरेका आचारसंहिताको परिपालन गर्नु पर्ने हो । कतिपयलाई त्यसको राम्रो जानकारी समेत छैन । सहभागी मध्ये ७० प्रतिशतले सूचना खोज्न वा भेला पार्न सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइयो भने त्यत्तिकै संख्यामा अध्ययनका सहभागीहरूले दाबी गरे कि उनीहरूसँग समाचारको तथ्यप्रमाणीकरणका लागि आफ्नै सम्पादकीय समूह छ । तर, ३० प्रतिशत सहभागीहरूले मात्रै आफ्नो समाचार पोर्टलमा व्यावसायिक स्तर कायम गर्न सकिएको स्वीकार गरे ।

सर्भेक्षणमा प्राप्त तथ्यहरूलाई विश्लेषण गर्दै सहभागीले दाबी गरेको कुरा र अनलाइनमा प्रस्तुत गरिएका विषयवस्तु एकआपसमा मेल खान्छन कि खाँदैनन् भनी बाहेक १० वटा अनलाइन पोर्टलमा प्रकाशित समाचार सामग्रीको सूक्ष्म अवलोकन गर्नुका साथै पाँच जना सञ्चालकहरूसँग विस्तृत अन्तरवार्ता लिइएको थियो । सूक्ष्म अवलोकन गरिएका १० वटा अनलाइन पोर्टलहरूमा के पाइयो भने अधिकांशले नेपाल केन्द्रित समाचारहरू नेपाली भाषामा प्रकाशन गर्ने गरेको पाइयो । ती समाचारहरू प्राथमिक स्रोतको आधारमा भन्दा पनि विभिन्न सञ्चार संस्थामा प्रकाशित समाचारको आधारमा पुनर्लेखन गरी तयार गरेको पाइयो । त्यसरी समाचार तयार पारेका समाचारमा मूलस्रोतको नाम उल्लेख नगर्ने समस्या व्यापक थियो । अनलाइन पोर्टल सञ्चालन हुने देशको स्थानीय भाषामा समाचार प्रकाशन गर्ने बिरलै भेटिए तर तिनले पनि नियमित रुपमा स्थानीय भाषामा समाचार प्रकाशन गरेका थिएनन् । त्यसले गर्दा प्रवासी नेपाली बालबालिका, जो नेपाली भाषाभन्दा स्थानीय भाषामा बढी पारंगत हुन्छन्, नै नेपालबारे बेखबर हुने समस्या देखियो । अर्कातिर नेपाली भाषामा प्रकाशित समाचार पोर्टलले स्थानीय समुदायमा कुनै सम्पर्क बढाउन सक्ने सम्भावना रहेन ।

अन्तरवार्ता लिएका पाँच अनलाइन सञ्चालनहरूलाई प्रवासी नेपाली पत्रकारले सञ्चालन गरेका अनलाइन पोर्टलहरूमा कसरी व्यावसायिक गुणस्तर सुधार गर्न सकिन्छ भन्ने प्रश्न सोधिएको थियो । सहभागीहरूले समाचारको चोरी बढ्दो, नयाँ र मौलिक समाचारको अभाव, समाचारमा राजनीतिक झुकाव देखिने, कसैको चरित्रहत्यामा केन्द्रित हुने जस्ता समस्या रहेको बताए । सत्यनिष्ठ वा तटस्थ समाचारको सट्टामा विभिन्न व्यक्ति वा संस्थालाई खुशी पार्ने वा कहिलेकाँही कुनै व्यक्ति वा संस्थालाई लक्षित गरेर भँडास पोख्ने मञ्चका रूपमा पनि सञ्चार संस्थाहरूको प्रयोग गरेको पाइयो ।

समाचारको गुणस्तर निर्धारण गर्नका लागि व्यावसायिक मापदण्ड पालन गरेनगरेको हेर्ने प्रेस काउन्सिल नेपाल जस्तो कुनै निकाय हुनु पर्ने हो । तर प्रवासमा त्यो सम्भव छैन । स्थानीय देशका आधिकारिक निकायलाई नेपाली भाषामा सञ्चालन हुने समाचार पोर्टलहरू बारे प्रायः थाहा छैन । प्रवासी नेपाली पत्रकार दाबी गर्नेहरू पनि प्रवासी नेपालीका भेला आदिमा केन्द्रित छन् । स्थानीय पत्रकारको भूमिकामा छैनन् । अधिकांश स्थानीय निकायसँग समन्वयमा छैनन् । यसले उनीहरूलाई प्रवासी नेपालीको मात्रै ‘पत्रकार’ बनाएको छ । प्रवासमा प्रभाव पार्न, नेपाल र सम्बन्धित देशलाई जोड्न त्यो पर्याप्त छैन ।

२. आर्थिक दिगोपनको अभाव

प्रवासी नेपालीले सञ्चालन गरेका सञ्चार संस्थाहरू आर्थिक हिसाबले जर्जर अवस्थामा छन् । सभेक्षणमा सहभागी अनलाइन पोर्टल मध्ये ७५ प्रतिशतले आफैंले लगानी गरेर सञ्चालन गरेको बताए भने जसमा करिब आधाजति पूरै घाटामा छन् । बाँकीले खर्च कटौती गरेका छन् र प्रवासी नेपालीद्वारा सञ्चालित व्यापार–व्यावसायबाट धानिएका छन् । सर्वेक्षणका सहभागी मध्ये एक तिहाइभन्दा धेरैले आफ्नो समाचार पोर्टल लगातार घाटामा सञ्चालन गर्नु परेको, आफ्नो खल्तीकै पैसा हाल्ने गरेको, समाचार उत्पादनका लागि स्वेच्छिक रूपमा खटेको र अन्य कुनै स्थानीय वा अन्य निकायबाट कुनै सहयोग नपाएका बताए । केही विज्ञापन आउने सम्भावना भएको संस्थाहरू समेत कोभिड–१९ महामारीले चौपट भएकाले आर्थिक दीगोपन अझ चौपट भएको बताए । प्रवासी नेपालीले सञ्चालन गरेका अनलाइन पोर्टलहरूमा स्थानीय विज्ञापन उपलब्ध हुन नसक्नुको मूल कारण हो ती पोर्टलहरू मूलतः नेपाली भाषामा मात्रै सञ्चालन हुनु । जुन देशबाट अनलाइन पोर्टलहरू सञ्चालन गरिएको छ, त्यहाँको स्थानीय भाषामा समेत नेपाल र नेपाली समुदायका सरोकारका विषयहरू प्रकाशन÷प्रसारण गर्न नसक्दा स्थानीय विज्ञापन वा अन्य आर्थिक सहयोग पाउन मुस्किल छ ।

अखबार, रेडियो वा टेलिभिजन जस्ता परम्परागत सञ्चार संस्थामा नियमित आउने विज्ञापनको ठूलो हिस्सा विभिन्न सामाजिक सञ्जालले लगेका छन् । यसले गर्दा अनलाइनमा आधारित सञ्चार संस्थाहरू विश्वभरि नै कसरी आर्थिक रूपले स्वावलम्बी हुने भन्ने उपायको खोजीमा छन् । प्रवासी नेपालीका समाचार संस्थाहरू अपवाद होइनन् । तर, हामीले आफूले पाउन सक्ने बजारलाई पनि खोजी गर्न सकेका छैनौं । अनलाइन पोर्टलमा समाचार हेरिएको आधारमा अथवा फेसबुक, युट्युव जस्ता सामाजिक सञ्जालमा सेयर गरिएको आधारमा केही पैसा आए पनि त्यो पर्याप्त छैन । धेरैले हेर्ने किसिमको सनसनीपूर्ण समाचार बनाउन खोज्दा पत्रकारिताका मापदण्डहरू चौपट हुन्छन् । अर्थात् मापदण्ड पालन गर्न खोज्दा खर्च बढ्छ, आर्थिक दिगोपन खोज्दा पत्रकारिताका मापदण्ड चौपट होलान् भन्ने डर हुन्छ ।

विश्वभरि नै पत्रकारितामा वस्तुनिष्ठता, निष्पक्षता, तटस्थता र जवाफदेहितालाई व्यावसायिक मापदण्डको मानक मान्ने गरिन्छ । खल्तीबाट पैसा हालेर एवम् स्वयमसेवी रूपमा गरिएको कामले प्रवासी नेपालीले सञ्चालन गरेको पत्रकारितलाई व्यावसायिक बनाउन र आर्थिक रुपमा सबल बनाउने कुरा निकै चुनौतिपूर्ण छ । चाखलाग्दो कुरा के छ भने कोभिड–१९ जस्तो विश्वव्यापी महामारीको समयमा पनि प्रवासी नेपालीहरूले सञ्चालन गरेका कतिपय अनmलाइन समाचार पोर्टलहरू (जस्तैः नेपालीलिंक डटकम, ग्लोबलनेप्लिज डटकम, गोर्खामिडिया डटकम, ब्रिटिसखबर डटकम) आदि सञ्चालन भइराखे । यो निकै महत्वपूर्ण कुरा हो । तर, जस्तो परिस्थिति भए पनि पत्रकारिताको मूल्य–मान्यतामा सम्झौता गरेर गरिएको पत्रकारितालाई व्यावसायिक भन्न सकिन्न । महामारीभन्दा अघि वा पछि पनि प्रवासी नेपालीहरूले व्यावसायिक पत्रकारिता वा सञ्चार संस्थामा आर्थिक दिगोपनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा कुनै ठोस कार्ययोजना नभएको देखिएन ।

प्रवासी नेपाली मिडिया सञ्चालनका उपायहरू के हुन सक्छन् ?

माथिको अध्ययनबाट प्राप्त तथ्यहरूलाई विचार गर्दा निम्न रणनीति अपनाउन सके प्रवासको पत्रकारितामा गुणस्तर कायम गर्न र आर्थिक हिसाबले पनि चलायमान बनाउन सकिन्छ । ती रणनीतिक सुझावका बारेमा म छोटकरीमा चर्चा गर्न चाहन्छु :

– हामीलाई थाहै छ : पत्रकारिता सामुहिक कार्य हो । कुनै पनि सञ्चार संस्थामा गुणस्तर अभिवृद्धिका लागि स्थानीय संवाददाता, मुख्य संवाददाता, समाचार सम्पादक, पाण्डुलिपि सम्पादक, भाषा परीक्षक, सज्जा सम्पादक, प्रधानसम्पादक आदि भूमिकामा पत्रकारहरू चाहिन्छ । तर, अचेल प्रवासका धेरैजसो अनलाइन एक–दुई व्यक्तिको रहर वा लहडले चलेका छन् । जतिसुकै खटे पनि पत्रकारितामा निखार ल्याउन वा व्यावसायिक गुणस्तर कायम गर्न एक्लो व्यक्तिले सम्भव छैन । त्यसैले प्रवासमा गुणस्तरीय पत्रकारिताका लागि उस्तै भावना र हुटहुटी भएका साथीहरू मिलेर सहकार्य गर्नु पहिलो महत्वपूर्ण सर्त हो । एक्लै पत्रकारिता गर्ने कुरा हुटिट्याउँले सगर थामे जस्तै हो । त्यसैले गुणस्तरीय पत्रकारिताका लागि सहकार्य गरौं ।

– सञ्चार संस्था चलाउँदा आफैं सर्वैसर्वा हुनुपर्ने वा प्रधानसम्पादक आफैं हुनुपर्ने मानसिकताबाट मुक्त हुनुपर्छ । नेपालमा म फलानो पदमा थिए भन्ने भूतप्रभावी मानसिकताले पनि कहिलेकाँही सहकार्य गर्न वा आफूभन्दा कनिष्ठहरूसँग उदार मन राखेर काम गर्न अप्ठेरो पर्छ । कसैले धेरै पैसा हालेकै भरमा त्यसलाई ठूलो पदमा स्वीकार्न सकिने अवस्था पनि हुँदैन । अमेरिका वा क्यानडामा त्यस्ता अनेक उदाहरणहरू छन्, जसमा सहकर्मीहरूको वरिष्ठ वा को कनिष्ठ भन्ने कुरामा विवाद भएर वा कसले कुन पद लिने भन्ने विषयमा कुरा नमिलेर चलिरहेका सञ्चार संस्था नै बन्द भएका छन् । अखबार सञ्चालनका लागि दिन सक्ने योगदान, समय वा आर्थिक सहयोग आदिलाई समेत दृष्टिगत गरेर विवाद नहुने किसिमले सबैलाई समेटेर सम्पादक मण्डल बनाऔं, जस अन्तर्गत सबै साथीहरूको नाम बराबरीको हैसियतमा राख्न सकिन्छ । सहकारी मोडलमा सञ्चार संस्था चलाउनुपर्छ– सहकार्य गर्ने साथीहरू बीच नाफाघाटा बराबर हुने गरी ।

– समाचारको ‘रिसाइक्लिङ’ बन्द गरौं । प्रवासबाट सञ्चालित नेपाली सञ्चार संस्थाहरूले मूलतः नेपालकै समाचार पुनःउत्पादन गर्ने गरेको कुरा माथि उल्लेख गरिएकै छ । फेरि त्यस्तो पुनःउत्पादित समाचारको कच्चा पदार्थ कुनै औपचारिक वा वैधानिक स्रोतबाट प्राप्त भएको हुँदैन । प्रायः सबैले नेपालबाट प्रकाशित विभिन्न सञ्चार संस्थाको अनलाइन संस्करणबाट उपलब्ध समाचार सामग्रीलाई अनधिकृत रूपमा काँटछाँट, पुनःलेखन, सम्पादन आदि गरेर पुनःउत्पादन गर्ने हुन् । त्यो कुनै नयाँ वा सिर्जनात्मक काम होइन, जसले प्रवासी नेपाली समुदायलाई ठोस योगदान दिन सकोस् । अझ कतिले त ‘कपी–पेस्ट’ मात्रै जानेका छन् । चोरीचकारीबाट सिर्जना गरेको समाचारले तपाइँको प्रतिष्ठा बढाउँदैन, घटाउँछ । तपाइँको अगाडि ‘क्याबात् पत्रकारज्यू’ भन्नेले पनि पछाडि कुरा काटेकै हुनसक्छन् । सचेत होऔं । बचौं ।

– स्थानीय समाचारलाई प्राथमिकता दिऔं । प्रवासी नेपाली सञ्चार संस्थामा प्रायः नेपालमा जे राजनीतिक, आर्थिक वा सामािजक घटनाक्रम हुन्छ, प्रवासका सञ्चार संस्थामा पनि त्यही समाचारको पुनःप्रस्तुतिले ठाउँ ओगट्छ । यो लेख लेख्दै गर्दा मैले युरोप र उत्तर अमेरिकाका विभिन्न देशहरूबाट सञ्चालित प्रवासी नेपालीले चलाएका १४ वटा अनलाइन पोर्टलहरू हेरे । ती मध्ये नेपालप्लस डटकम (फ्रान्स), खसोखास डटकम (अमेरिका) र नेपालटच डटकम (क्यानडा) खोल्ने बित्तिकै पहिलो पाँच समाचारहरू स्थानीय विषयमा लेखेको पाइयो ।

बाँकीमा पहिलो पाँच समाचारभित्र स्वर्णिम वाग्ले प्रकरण, राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन, मिटरब्याज पीडितको मुद्दा, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालका योजना, मच्छिन्द्रनाथको जात्रा आदि विषय समेटिएका थिए । नेपालको समाचार हेर्नका लागि नेपालकै अनलाइनहरू पर्याप्त छन् । त्यही समाचार पुनःलेखन गर्नुको साटो स्थानीय गतिविधिका बारेमा प्रवासी नेपाली पाठकलाई जानकारी दिन सकिएन भने प्रवासी नेपाली मिडियाले स्थानीय पाठकहरू बीच आफ्नो स्थान बनाउन सक्दैन । स्थानीय पाठकलाई काम लाग्ने खुराक दिन सकिँदैन र नेपालकै धङधङीमा रमाउने हो भने प्रवासमा त्यस्ता समाचार संस्थाको औचित्य छैन ।

– स्थानीय भाषामा पनि समाचार उत्पादन गरौं । नेपालमा हुर्किएर प्रवासमा भाग्य खोज्दै हिँडेको हाम्रो पुस्ताले नेपाली समाचार पढ्छ, बुझ्छ । तर, सानो उमेरमै विदेश आएका वा प्रवासमै जन्मेका बालबालिकालाई नेपालबारे उत्ति जानकारी हुँदैन । एकातिर नेपाली भाषामा मात्रै लेखेर÷बोलेर हाम्रै बालबालिकाले बुझ्दैनन् । अर्कातिर, हामी पनि नेपाली भाषामा मात्रै अनलाइन चलाएर स्थानीय समुदायमा भिज्न सक्दैनौं । यसको अर्थ हो– हाम्रो पत्रकारिताले नेपाल र प्रवासलाई जोड्न सकेन । त्यसका लागि आफू बसेको देशको भाषामा पनि समाचार प्रकाशन गर्ने काम गर्नुपर्छ ताकि हाम्रा नानीबाबुले पनि नेपालित्वबारे जानकारी पाउन् । स्थानीय समुदायलाई पनि नेपाली आप्रवासीका सरोरकारका विषयमा जानकारी होस् । मातृभूमिको प्रवद्र्धन गर्ने हो भने हामीले हाम्रो पत्रकारितालाई स्थानीय भाषामा समेत प्रकाशन÷प्रसारण गर्न ढिला गर्नुहुँदैन ।

– अरुकै सञ्चार संस्थामा नियमित लेखौं । हामीले सबैभन्दा सस्तो ठानेको अनलाइन पोर्टललाई व्यावसायिक हिसाबले चलाउन सबैभन्दा खर्चिलो छ । अनलाइनमा समाचारलाई अझ विश्वस्त बनाउन तस्बिरको प्रयोग, श्रव्यदृश्य सामग्रीको प्रयोग, रेखाचित्रको प्रयोग गर्न सकिन्छ । फेरि अनलाइनमा समाचार प्रकाशन गर्ने कुनै समयसिमा हुँदैन । पाठकहरू संसारभरि छरिएका हुन्छन् । जति समाचार प्रकाशन गरे पनि अनलाइनको भाँडो अखबारको जस्तो भरिनेवाला छैन । त्यसमा पनि एक्लै चलाउन खोज्ने जोसले अझ दुःख दिन्छ । आफूसँग सञ्चार संस्था चलाउने मनमिल्दा साथीहरूको समूह छैन भने आफूलाई मन परेको सञ्चारमाध्यममा लेखक, स्तम्भकार वा टिप्पणीकर्ताका रूपमा आफूलाई सिमित राख्नु उपयुक्त हुन्छ ।

यसो गर्दा आफूलाई जसरी भए पनि पत्रकार हुनै पर्ने झन्झटबाट मुक्त राख्न सकिन्छ भने अरुले चलाएको अनलाइनमा योगदान गरेर आफ्ना समकक्षी साथीहरूलाई सहयोग गर्न सकिन्छ । फेरि हप्ता–दुई हप्तामा एउटा टिप्पणी वा लेख वा समीक्षा लेख्न सकियो भने आफ्नो लेखाइको गुणस्तर पनि बढ्छ । समाचार त जतासुकै पाइन्छ, आफ्नो ब्रह्मले देखेको सत्य लेख्न त आफैं अघि नसरी हुन्न । साथीहरूलाई सहयोग गरौं । हरेकले सम्पादकै हुनु पर्ने मानसिकताबाट पछि हटौं ।

(पिएचडी, प्राध्यापक, युनिभर्सिटी अफ ओटावा, क्यानडा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here