बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान

0
115

झापा, बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गर्दै बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।
मेची आँखा अस्पतालमा उनीहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । खासगरी विद्यार्थीमा आँखा सम्बन्धि देखिने समस्यालाई निराकरण गर्न बिद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । झापाका विभिन्न विद्यालयमा कार्यरत ३० जना स्टाफ नर्सलाई यो कार्यक्रममा सहभागी गराइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीको प्रमुख आतिथ्य तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई बिद्यार्थीको आँखा स्वास्थ्य राख्नका लागि नियमित आँखा परीक्षण, रोकथाम, आवश्यक रिफर गर्ने उद्देश्यका विषयमा जानकारी गराइएको थियो ।
नेपाल सरकारले झापाका ३२ वटा सामुदायिक विद्यालयमा विद्यालय स्टाफ नर्स राखेको छ । उनीहरुबाट विद्यार्थीमा कुनै प्रकारका समस्या देखा परे तत्काल प्राथमिक उपचार र थप उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाउने गरेका छन् ।
कार्यक्रममा सहभागीलाई प्रमुख प्रशिक्षक मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज वोहोराले प्रशिक्षण प्रदान गरेका थिए । उनले स्वास्थ्य आँखाको विशेषता, आँखाको बनावटा तथा भाग र काम, आँखामा लाग्ने रोग, मोतिविन्दू, जलविन्दू, भिटामिन ‘ए’ को कमीले आँखामा लाग्ने रोग, मधुमेह र उच्च रक्तचापले गर्दा आँखामा गर्ने असार, आँखाको क्यान्सर, आँखामा ऐजेरु पलाउने रोग आदिका विषयमा जानकारी सहितको उपचार विधिका विषयमा प्रस्ट्याएका थिए ।
दृष्टि विशेषज्ञ प्रियंका यादवले दृष्टि मापन, चस्मा लगाउनु पर्ने अवस्था, बाङ्गो र टेडो अवस्था, आँखाको लेजर सर्जसी (चस्मा हटाउने सर्जरी), आदिका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
आँखा दान, आँखामा लगाउने औषधि लगायतका विषयमा अस्पतालका आँखा दान विभागका इञ्चार्ज पुष्पप्रसाद अधिकारीले जानकारी दिएका थिए । आँखामा लाग्ने चोटपटक आदिका विषयमा अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरियाले जानकारी गराएकी थिइन् ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले औचित्यमाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here