डेङ्गी र हैजाका सङ्क्रमित बढे

0
11

काठमाडौँ,

पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ ।

चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । सबभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेङ्गी सङ्क्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले डेङ्गीे सङ्क्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । ‘सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका सङ्ख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here