सदाचारको पर्व जनैपूर्णिमा

0
2

वैदिक सनातन धर्म संस्कृति अनुसार आज ऋषि तर्पणी एवम् जनै पूर्णिमा विशेष रुपले मनाइँदैछ । प्रत्येक वर्षको साउन शुक्ल पूर्णिमाका दिन मनाइने यही पर्वका दिन खासगरी मधेशमा रक्षा बन्धनका रुपमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गरिन्छ । आफ्ना दाजुभाइको दीर्घायु एवम् सु–स्वास्थ्यको कामना गर्दै दिदीबहिनी र दाजुभाइका बीचको प्रेम, स्नेह पवित्र समबन्ध अटुट रहोस् भनेर बन्धन लगाउने परम्परा रहेको छ । वैदिक सनातन हिन्दू धर्ममा तागा धारण गर्ने प्रचलन रहेका वर्गले नजिकको तीर्थस्थल, नदी, तलाउ वा कुण्डमा स्नान गरेर विधिपूर्वक मन्त्रणा गरिएको तागा अर्थात् जनै धारण गर्ने परम्परा छ ।

वैदिक विधिपूर्वक शास्त्रीय नियम पालना गरेर बनाइएका जनै धारण गरी ब्राह्मणबाट रक्षा बन्धन लगाएमा विभिन्न प्रकारका बन्धनमा मुक्त भई सम्पूर्ण समस्याहरु पनि छुटकारा पाइन्छ भन्ने मान्यता रहेको छ । हिन्दू शास्त्रमा जनैलाई ब्रह्मसुत्र पनि भनिन्छ जसको अर्थ हुन्छ ज्ञानको सूत्र । जनैमा रहेका दुई सूत्रमध्ये एउटामा रहेको तीन शिखालाई ब्रह्मा, विष्णु र महेश्वर र अर्को शिखालाई कर्म, उपसना र ज्ञानको प्रतीकका रुपमा मानिन्छ । सत्ययुगमा दानवद्वारा लेखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी रक्षा गरेको तथा वामन अवतार लिएका विष्णु भगवानले राजा बलीलाई डोरो बाँधेर बचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध रहेको छ ।

यसै दिन आफ्नो शरीर शुद्ध गरी देवता, सप्तर्षि तथा पितृहरुका नाममा तिल, जौ, कुशसहित तर्पण दिने परम्परा रहेको छ । जसका कारण आजको दिनलाई ऋषि तर्पणी पूर्णिमा पनि भन्ने गरिएको छ । त्यसैले यो पर्वलाई हिन्दू धर्म मान्नेहरुका लागि सर्वाधिक महत्वको र पवित्र पर्व मानिन्छ। आजको जनै लगाउने ब्राह्मण, क्षत्री र वैश्य जातिले पुरानो जनै फेरेर ब्राह्मण गुरु वर्गद्वारा अभिमन्त्रित जनै फेर्ने परम्परा रहेको छ । जनै ज्ञानको धागो हो, जसले ईश्वरसँग नजिक पु¥याउँछ र ज्ञानका तीन योग मार्फत कर्म र उपसना गर्दै ज्ञानको खोजीमा लाग्न उत्प्रेरित गर्दछ ।

हिन्दू धर्ममा षोडश संस्कारमध्ये जनै धारण गर्ने सबैभन्दा महत्वपूर्ण संस्कार हो। जनै धारण नगरेको मानिस वेद अध्ययन र विद्या आर्जन गर्न योग्य हुँदैन भन्ने मान्यता छ । त्यसैले पौराणिक कालमा गुरुकुलमा गएर विद्या अध्ययन गर्न उपनयन संस्कार अनिवार्य थियो । तर, आज उपनयन त गरिन्छ, त्यसको पूर्ण पालना गर्न छाडिएको छ । यो अनुशासन, साधना र कर्मठताको प्रतीक पनि हो । तर, हाम्रो समाजमा हुर्किँदै गरेको देखासिकी गर्ने प्रवृत्तिले हाम्रा परम्परागत मान्यता कमजोर हुँदैछन् । त्यसैको परिणाममा दूराचार, व्यभिचार, अपराध र अनेक विकृतिहरु मौलाउँदैछन् । जसले समाजलाई दूषित र कलंकित पार्दै लगेको छ । यस्तोमा हाम्रा नव पुस्तालाई नैतिक, सदाचार, धैर्य, आदर्शको रक्षा गर्दै पितृधर्म र विशिष्ट परम्पराको अनुशरण गर्न यस्ता पर्वले उत्प्रेरणा प्रदान गरोस् । जनै पूर्णिमाको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here