नेपाली समाजको परिवर्तित विशेषताहरु

0
5

नेपाली समाज एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समाज हो । यसको अलावा वर्तमान समयको कुरा गर्ने हो भने नेपाली समाज एक परिवर्तनको संघारमा रहेको समाज हो । नेपाली समाजको हरेक क्षेत्र परिवर्तनको सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । समाजका विभिन्न पक्षहरूको कुरा गर्ने हो भने अथवा हाम्रो समाजको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि हरेक क्षेत्रको कुरा गर्ने हो भने अहिले यी सम्पूर्ण क्षेत्रहरू परिवर्तनको संक्रमणकालीन अवस्थामा गुज्रिरहेका छन् । सङ्क्रमणकालको यो अवस्थामा धेरै जटिलताहरू आउन सक्छन् । संक्रमणकाल जति छोटो भयो अथवा संक्रमण काललाई जति चाँडो व्यवस्थापन गर्न सक्यो उति नै राम्रो हुन्छ । तर, हाम्रो देशको सङ्क्रमणकाल लामो समयदेखि रहिरहेको अवस्थामा देखिन्छ ।

यो संक्रमण कालको व्यवस्थापन गर्ने सर्वप्रथम जिम्मेवार निकाय त राज्य र राज्यका नीतिहरुसँग सम्बन्धित क्षेत्रहरू हुन् अथवा अझ प्रष्ट शब्दमा भन्ने हो भने कुनै पनि देशको संक्रमण कालको अवस्थालाई व्यवस्थापन गर्ने, छोट्याउने काम राजनीतिले गर्छ । तर, हाम्रो देशको अवस्था हेर्दा समग्र समाजको संक्रमणकाललाई व्यवस्थापन गर्नुपर्ने राजनीति नै आफैमा संक्रमण कालमा गुज्रिरहेको पाइन्छ । मुलुकमा संविधानसभा मार्फत संविधान निर्माण भइसकेपश्चात संविधान लागू भएको पनि झन्डै १० वर्ष हुन लागिसक्दा पनि संविधानको पूर्ण कार्यान्वयन भएको पाइँदैन । संविधानको कार्यान्वयन भनेको सरकार बन्ने र ढल्ने मात्र होइन, संविधानमा उल्लेखित सबै कानूनहरु निर्माण भएर समाजका विभिन्न क्षेत्रहरूमा लागू हुनुपर्ने कानूनहरूको निर्माण र कार्यान्वयनमा यति धेरै सुस्तता आउनुमा राजनीतिक क्षेत्र आफैमा संक्रमणकालमा गुज्रिरहेको छ भनेर भन्न सकिन्छ ।

वास्तवमा हाम्रो देशको समाज संक्रमणकालमा गुज्रिरहेको छ । समाजका पुराना मान्यतालाई हामीले पूर्णरुपले फाल्न पनि सकेका पनि छैनौं, नयाँ पद्धतिलाई पूर्णरुपले अंगीकार गर्न पनि सकेका छैनौं । विश्वका अरु देशमा भएका परिवर्तनहरूलाई हेर्दै हामी परिवर्तन हुन त चाहन्छौँ, हाम्रो परिवर्तन भौतिक परिवर्तनमा बढी मात्रामा जोडिएका छन् । तर, मानसिक रुपले परिवर्तन हुन सकेको छैन । परिवर्तन स्वीकार्ने वा परिवर्तनलाई लागू गर्ने कुरा एउटा जटिल पक्ष हो । यसरी परिवर्तनलाई सफलतापूर्वक समाजमा लागू गर्ने जिम्मेवारी समाजका अग्रज, बुद्धिजीवी, नेतृत्वकर्ताहरुको हुन्छ । तर, हाम्रो देशमा भएका अग्रज, नेतृत्वकर्ताहरू विभाजित देखिन्छन्, व्यक्तिगत स्वार्थमा धेरै जकडिएको पाइन्छन् ।

२०औं वर्ष अगाडिदेखि समाज परिवर्तनका लागि लडेका हाम्रा नेतृत्वकर्ताहरू आज कसरी व्यक्तिगत स्वार्थमा फसेका छन् भन्ने थुप्रै उदाहरणहरु यहाँ दिन सकिन्छ । बहुदलीय प्रजातन्त्रमा दलहरूको महŒवपूर्ण भूमिका हुन्छ । सरकार निर्माण गर्न लगायत अन्य धेरै क्षेत्रमा दलहरुले अहम् भूमिका खेल्छन् । समाजको परिवर्तनका लागि मात्र होइन, राज्यले निर्माण गर्ने सामाजिक, आर्थिक, राजनीतिक लगायतका हरेक क्षेत्रको परिवर्तनका लागि निर्माण भएका नीति–नियमहरूको कार्यान्वयन गर्न सहयोग मात्र होइन राष्ट्रको समग्र विकास र परिवर्तनलाई आत्मसात गर्दै अगाडि लैजाने काम दलहरूको जिम्मेवारी अन्तर्गत पर्दछ । तर, हाम्रो देशका दलहरूलाई हेर्दा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको स्वार्थका लागि काम गर्ने सवालमा थुप्रै कमी–कमजोरी भएको स्पष्ट देखिन्छ । जसले गर्दा राज्यमा आएका थुप्रै परिवर्तनहरूको संस्थागत विकास हुन सकिरहेको छैन ।

राजनीतिले समाजका समग्र क्षेत्रहरूको नीति–निर्माण गर्ने कामहरूदेखि लिएर योजना बनाउने, कानूनहरू बनाउने तथा यी नीति, योजना, कानून आदि लागू गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी पर्छ । तर, नेपालको राजनीतिक अवस्था हेर्दा यी सम्पूर्ण कामहरूबाट विमुख भए झैँ लाग्छ । विगत लामो समयदेखि नेतृत्व गरेका नेतृत्व वर्गहरूको कार्य हेर्दा अब हाम्रा नेतृत्वहरू यस्ता परिवर्तनका संवाहक बन्न सक्छन् होला भन्ने आशा गर्न सक्ने अवस्था देखिँदैन । कसैका लागि आक्षेप लगाउने कुरा छुट्टै हो । तर, हाम्रा नेतृत्व वर्गहरुलाई जसरी विभिन्न विषयहरूमा लान्छ्वना लागेको छ, सम्बन्धित पक्षले नकार्नु एउटा पाटो हो, तर धेरै अर्थमा होइन भन्न सक्ने अवस्था देखिँदैन । हाम्रो देशको राजनीतिक क्षेत्र परिवर्तनको संघारमा भएको कारणले गर्दा धमिलो पानीमा माछा मार्न सजिलो हुने भएकोले कोही पनि यसलाई सकेसम्म चाँडै व्यवस्थापन गरेर अगाडि बढ्न चाहेको देखिँदैन ।

राजनीतिले समग्र क्षेत्रमा परिवर्तन ल्याउला भन्ने आम नागरिकको विश्वासमाथि तुषारापात भयो । वास्तवमा नेपालको राजनीति केहि दलहरु अझ भन्ने हो भने त दलहरु भित्रका सीमित व्यक्तिहरु को सिन्डिकेटको सिकार भयो । त्यसकारणले पनि प्रजातन्त्र भन्ने बित्तिकै एक प्रकारको अमिलो गन्ध आउने अवस्था सिर्जना हुनु दुर्भाग्य हो । अहिलेको वर्तमान नेपाली समाजको चरित्र हेर्ने हो भने विकृति र विसंगतिले गर्दा अहिलेको समाज चरम अविश्वासमा गुज्रिरहेको देखिन्छ । कसैले समाजमा राम्रो काम गर्न चाहेर इमान्दारितापूर्वक काम गर्न खोज्यो भने पनि सिङ्गो समाजले यसलाई विश्वास नगर्ने अवस्था सिर्जना भएको छ ।

सिंगो समाजले यसले कहिँकतैबाट स्वार्थ पूरा गर्न खोजिरहेको छ वा गरिरहेको छ भन्ने तत्काल लाल्छ्वना लगाउँछ र इमान्दारपूर्वक काम गर्ने अथवा गर्न खोज्नेहरुलाई तत्काल हतोत्साही बनाउने गर्छ । अहिले हाम्रो समाजमा भएको पछिल्लो सामाजिक चरित्र यसरी विकास हुँदै गएको पाइन्छ ।

त्यसैगरी शैक्षिक क्षेत्रमा पनि समाजको दृष्टिकोण फेरिएको देखिन्छ । तर, यसलाई सकारात्मक रूपले लिन भने सकिने अवस्थामा छैन । हाम्रो समाजले अन्तर्राष्ट्रिय स्तरको शिक्षा को बारेमा सोच्ने त गर्छ, तर व्यवहारमा भने परम्परागत सोच नै कायम छ । उदाहरणको लागि पढ्ने कुरामा निर्णय विद्यार्थीको अभिभावकहरूले गर्ने प्रयास गर्दछन् । अझै पनि हाम्रा परम्परागत सोच र धारणाहरूको बाहुल्यता रहेको पाइन्छ । पढ्ने कुरामा सम्बन्धित व्यक्तिको इच्छा, चाहना, क्षमता, वातावरण अनुसार नभएर समाज र परिवारको नियन्त्रण हुने गरेको पाइन्छ । समग्र व्यवसायहरू को उत्तिकै महत्व छ भन्ने कुरा सिद्धान्त बोलिचाली मा मात्र सिमित छ । अझै पनि हाम्रो देशमा व्यवसायबीच विभेद मेटिइसकेको छैन, जसका कारणले शिक्षा क्षेत्रमा पनि प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेको छ ।

त्यसैगरी आर्थिक क्षेत्रमा पनि अहिलेको अवस्था संक्रमणकालीन नै देखिन्छ । नेपालको अर्थतन्त्र पूर्णरूपले चलायमान भएर सुधार भइसकेको अवस्थामा छैन त्यसकारणले अर्थतन्त्रको अवस्था पनि जटिल नै देखिन्छ । सूचना तथा सञ्चारको विकासका कारणले गर्दा भएको विश्वव्यापीकरणको प्रभावबाट नेपाली समाज पनि अछुतो छैन । हाम्रो देशको समाजले विश्वमा भएको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक आदि सबै प्रगतिहरू देखिरहेको छ । तर, यस्ता प्रगतिहरू भौतिकरूपले मात्र लिएर समाजको विकास सम्भव हुँदैन, विकासको लागि मानसिक परिवर्तन पनि अपरिहार्य सर्त हो । तर, हाम्रो नागरिकहरूको मानसिक परिवर्तन भइसकेको पाइँदैन । पुरानो सोच र रूढीवादी परम्पराबाट हाम्रो समाज अझै मुक्त हुन सकेको छैन ।

यसरी बदलिँदो समयसँगै हाम्रो समाजको चरित्र पनि बदलिरहेको छ । यसलाई सम्भव भएसम्म चाँडोभन्दा चाँडो व्यवस्थापन गरेर सही मार्गमा हिँडाउन सकिएन भने समाजले गलत बाटो समाउन सक्छ र अराजकता र उदण्डता फैलन सक्छ भन्ने कुरा हृदयङ्गम गरी अबको समाजलाई सहीबाटोतिर दिशा निर्देश गर्न हामी सबै नागरिकहरूको पहिलो कर्तव्य हुनेछ र यसमा पनि अझ समाजमा बसेर नेतृत्वदायी भूमिका खेल्नेहरूको अझ अहम भूमिका हुन्छ । समाजलाई अग्रगामी दिशातिर डो¥याउँछु भनेर राजनीतिमा होमिएकाहरूको झन् ठूलो जिम्मेवारी हुन्छ । त्यसकारण राजनीतिककर्मीहरुले इमान्दारितापूर्वक यी क्रियाकलापहरूबाट भाग्न वा पन्छन् मिल्दैन र अब हामी सम्पूर्ण देशका नागरिकहरुले यस्ता कुराहरुलाई बुझेर अगाडि बढ्न ढिलो गर्न हुँदैन ।

(निरौला समकालीन राजनीति, पर्यटन तथा विपद् व्यवस्थापनका विषयमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here