ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी

0
1

फुङलिङ (ताप्लेजुङ),

ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट रु छ लाख ५२ हजार आठ सय सङ्कलन भएको थियो । शनिबारको खेलबाट मात्र रु तीन लाख ४४ हजार र शुक्रबारको खेलबाट रु तीन लाख आठ हजार आठ सय सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा रु सात लाख १० हजार नौ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति रु दुई सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा रु एक सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर रु दुई सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।

समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट रु २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here