आज झापामा श्रीकृष्ण रथयात्रा निकालिँदै, सुरक्षा व्यवस्था कडा

0
26

पार्थ मण्डल/ झापा ।

फोटो फाइल तस्बिर

झापा आज मंगलबार झापाका ६ पालिकामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरेको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो ।

जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिने श्रीकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए ।

श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट आज दिउँसो २ बजे रथयात्रा निकालिने अध्यक्ष भारतीले बताए । जिल्लामै भद्रपुरको रथयात्रा पहिलो हो । अहिले बिस्तारै सबै पालिकाहरूले निकाल्न थालेको उनको भनाई छ ।

यस वर्ष रथयात्राका लागि भारत विहारको फारभिजगञ्जका बोलाएको १४ जनाको टोलीले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गर्ने समितिका सचिव सञ्जय घोषले जानकारी दिए । विभिन्न झाँकीसहित निकालिने रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुने समितिका सहसचिव राजेश पकुवालले बताए । यस वर्ष रथयात्राको दुरी घटाइएको छ । विगतका वर्षहरूमा भद्रपुर–३ स्थित ज्ञानेचोकसम्म रथ लगिन्थ्यो ।

‘श्रीकृष्ण जन्माष्टमी’ मेला र रथयात्राका लागि अनुमानित ५ लाख रुपैयाँ खर्च हुने समितिका कोषाध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए । भद्रपुर नगरपालिकासहित विभिन्न संघसंस्था, चन्दादाताहरूबाट रकम संकलन गरिएको उनको भनाई छ । २०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पाङ्ग्रासहित फलामले रथ बनाइदिएको हो ।

त्यस्तै बिर्तामोडमा दोस्रो वर्ष रथयात्रा निकाल्ने तयारी गरिएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले अघिल्लो वर्ष छुट्टाछुट्टै रुपमा बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकालिएको थियो । तर, यस वर्ष यी दुवैको आयोजनामा बृहत् रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । बिहान ११ गते विशेष पूजाअर्चाना गरिने र दिउँसो ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने उनको भनाई छ । रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ ।

सद्गुरु सदनले दुई वर्ष अघि पनि एकल रथयात्रा निकालेको थियो । त्यसैगरी दमक नगरपालिकामा आठौँ श्रीकृष्ण रथयात्रा भव्यताका साथ निकाल्नका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गरिने छ । रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिएको उनको भनाई छ ।

गौरीगञ्ज गाउँपालिकामा चौथो पटक रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरीगञ्जको पहिचान र गौरवलाई मध्य नगर गरी श्रीकृष्ण रथयात्रा समारोह समितिले रथयात्रा निकालिएको हो । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाएको थियो । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने जनाइएको छ ।

त्यस्तै गौरादहमा पनि रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिने रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएको समापन हुने जनाइएको छ । झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले दोस्रो वर्ष पनि गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकाल्ने तयारी गरेको छ ।

सो रथयात्रा झापा–७ दयालधाम, मदरगाछ हुँदै शरणामती बजार परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर समापन हुने जनाइएको छ । यता जिल्लाका विभिन्न पालिकामा रथयात्रा निकाल्ने तयारी गरिएसँगै सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त बनाइने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । भद्रपुर, बिर्तामोड र दमकमा जिल्लाबाट थप प्रहरी जनशक्ति पठाइने उनले बताए । अन्य पालिकाहरूमा त्यहीका जनशक्ति परिचालन गरिने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here