काठमाडौँ,
वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा रहेको उल्लेख गर्दै यसबाट जनताको सुरक्षा गर्नु आजको प्रमुख विषय भएको बताएका छन् ।
संरक्षण समूह नेपाल (कन्जरभेशन अलाइन्स नेपाल)द्वारा आयोजित एक समारोहमा उहाँहरुले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसका असरबाट बढी पीडित हुनुपरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालको भूगोल जोखिमयुक्त रहेको र पछिल्लो समय जलवायुका असरबाट सिर्जित विपद् व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता विषय अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राथमिकताका साथ उठाउने बताउनुभयो । साथै उहाँले आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९)मा नेपालले जलवायुको न्याय र क्षतिपूर्तिका लागि उठाउनुपर्ने विषयको तयारी भईरहेको जानकारी गराउनुभयो ।
प्रधान सेनापति अशोकराज सिग्देलले वातावरण र जलवायु परिवर्तन आजको महत्वपूर्ण र संवेदनशील विषय हुनुका साथै सबैको सरोकारकोे विषय भएको बताउनुभयो । उहाँले नेपाली सेनाका आठ हजार भन्दा बढी जनशक्तिले मुलुकभरका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको संरक्षण गर्दै आएको, ‘एक सिपाही एक बिरुवा’ अभियान सञ्चालन गरी वातावरण संरक्षणमा सेनाले महत्वपूर्ण योगदान गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा संरक्षण समूह नेपालका अध्यक्ष तथा पूर्व प्रधान सेनापति गौरव शम्शेर जबराले सुरक्षाको परम्परागत परिभाषाअन्तर्गत जिउधनको मात्र सुरक्षा पर्ने भएपनि आजको आधुनिक परिभाषामा जलवायु परिवर्तनका असरबाट जनताको सुरक्षा गर्नु पनि उक्त परिभाषामा समेटिएको बताउनुभयो ।
साथै उहाँले जलवायु परिर्वतनमा न्यून योगदान भएपनि हिमाली मुुलुक नेपाल पछिल्लो समय जलवायुका असरबाट बढी प्रभावित भएकाले यो विषयलाई अन्तराष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा उठाउनुपर्ने र यसमा सबैले चासो दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले ‘नेपालमा जलवायु परिर्वतन र राष्ट्रिय सुरक्षा’ विषयमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा वन वातावरण, जलवायु परिवर्तन, जैविक विविधतालगायत विषयका विज्ञका साथै सुरक्षा निकायका अवकाश प्राप्त उच्च अधिकारीहरुको उपस्थिति थियो ।