कारागारबाट दुई पटक भागेका ब्यक्ति छठ मनाउने क्रममा पक्राउ

0
2

सुनसरी ।

सुनसरीको इनरुवा नगरपालिका–१० वलाहाका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सजाय भुक्तानका क्रममा कारागारबाट दुई पटक भागेका उनी यस पटक प्रहरीको फन्दामा परेका हुन् ।

सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका यादव गएराति नेपाल–भारत सीमाको कोशी गाउँपालिका–८ पथरचट्टान भन्ने ठाउँबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले विनायककुमार यादवलाई पक्राउ गर्ने क्रममा एक राउन्ड गोलीसमेत फायर गर्नुपरेको बताउनुभयो । यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका थिए ।

अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ साल कात्तिक २३ गते सुरुङ खनेर भागेका थिए । त्यसबेला उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतका धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।

झुम्का कारागारबाट भागेका विनायकलाई केही समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी भूकम्प गएको मौका छोपी त्यहाँबाट २०७२ साल वैशाख १२ गते भागेका थिए । प्रहरीका अनुसार झुम्का कारागारबाट सुरुङ खनेर भागेका १२ जनामध्ये अहिलेसम्म नेपाल र भारतमा गरी सात जनामात्रै पक्राउ परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here