बिरीङ र टाङ्टिङ खोलाको गुणस्तर : खतरा कि सुधार ?

0
1

नेपालका खोलाहरूले हरेक वर्षायाममा बाढी र विपत्तिको सामना गर्छन् भने जाडो मौसममा पानी घट्दा यसको अभावले संकट उत्पन्न हुन्छन् । करिब ६,००० ठूलासाना नदी तथा खोला रहेको धनी देश नेपालमा राष्ट्रिय तथ्यांक अनुसार अझै पनि ०.४% परिवार पिउने पानीका लागि यी खोलाहरूमा प्रत्यक्ष निर्भर रहनु पर्ने अवस्था छ भने केहीले घण्टौं टाढाबाट पानी बोक्नु पर्ने बाध्यता रहेको छ ।

पूर्वी नेपालको चुरे क्षेत्र हुँदै तराईसम्म बग्ने बिरस्ीङ र टाङ्टिङ खोलाहरू इलाम र झापा जिल्लाका कृषियोग्य जमिनलाई सिँचाइ गर्न महत्वपूर्ण मानिन्छन् । यी खोलाहरू मेची नदीमा मिसिएर भारतसम्म पुग्छन् । पिउने पानी, कृषि, तथा धार्मिक प्रयोजनका लागि समेत प्रयोग गरिन्छ । तर, हाल यी खोलाहरू विभिन्न चुनौतिहरूको सामना गरिरहेका छन् । बिरीङ र टाङ्टिङ खोला आसपास हुने शहरीकरण, औद्योगिकीकरण र फोहोरको असंगत व्यवस्थापनले खोलाको पानीको गुणस्तर खस्कँदै गएको छ । जसले पारिस्थितिक र सामाजिक, आर्थिक महत्वमा गिरावट ल्याएको छ ।

हालै अमेरिकाको प्रतिष्ठित जर्नल, इनभाइरोमेन्टल रिसर्च मा प्रकाशित अध्ययनले बिरीङ र टाङ्टिङ खोलाको पानीको गुणस्तरको मूल्यांकन गरेको छ । यो अध्ययन त्रिभुवन विश्वविद्यालयका वातावरण विज्ञान केन्द्रीय विभागका विद्यार्थी अनुसन्धानकर्ता निरु बस्नेत, सागर सिटौला, सोमी भट्टराई, रुपेश बोहोरा, सबिन रावल, महेन्द्रप्रसाद उप्रेती र महेशप्रसाद अवस्थीद्वारा प्राध्यापकको सहयोगमा २०२४ मा सम्पन्न गरिएको हो । अध्ययनका लागि बिरीङ र टाङ्टिङ खोलाका अर्जुनधारा नगरपालिकामा पर्ने २० पानीका नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

टाङ्टिङ खोलाको क्षेत्र वन र कृषियोग्य जमिनले घेरिएको छ भने बिरीङ खोला कृषि र बसोबासको प्रभावका साथै तीव्र शहरीकरणको सामना गरिरहेको अध्ययनले देखाएको छ, जसले वातावरणीय चुनौतिहरूलाई थप जटिल बनाएको देखिन्छ । अर्जुनधारा नगरपालिकाको ल्याण्ड कवरमा कूल ६७% क्षेत्रफल कृषिले ढाकेको छ र मौसमी पानीको भर परी समयमा अन्नबाली लगाउन नसक्दा उत्पादन घटेको भनी कृषकहरुले गुनासो गरेको पाइन्छ ।

अध्ययनले पानीको नमूनामा अमोनियाको मात्रा केही हद सम्म धेरै पाइएको बतायो । जुन प्राकृतिक र मानवजन्य गतिविधिहरूका कारण हुन सक्छ । उच्च मात्रामा अमोनिया पिउने पानीमा विषाक्त हुन्छ । सानो मात्रा शरीरले सहन सकेपनि लामो समयसम्म धेरै मात्रा शरीरमा हँुदा यसले स्वास्थ्यलाई हानी पु¥याउन सक्छ । यसका साथै खेतीमा पानीमा हुने अमोनियाले माटो अम्लीय बनाउँछ, जसले माटोको उर्वराशक्तिलाई कम गर्छ र लामो समयमा बाली उत्पादन घटाउँछ ।

त्यसैगरी विश्व स्वास्थ्य संगठन अनुसार पानीको धमिलोपन स्तर ५ हुनुपर्छ, तर केही स्थानहरूमा यो १० स्तरमा पाइएको छ । धमिलोपनले पानीको गुणस्तरमा महत्वपूर्ण प्रभाव पार्छ ।

बिरीङ र टाङ्टिङ खोलाको पानी कृषियोग्य रहेको अध्ययनले देखाएको छ, तर यसको सदुपयोग भएको छैन । साथै, अन्य तत्वहरू (जस्तै सोडियम, म्याग्नेसियम, क्याल्सियम आदि) विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ठीकै पाइएको भए पनि पिउने पानीमा यी आयनहरू धेरै कम वा धेरै बढी भएमा मानिसको स्वास्थ्य र पानीमा निर्भर रहने जीवहरूको स्वास्थ्यमा समेत असर पार्छ ।

कृषि, बालुवा उत्खनन, र नजिकका उद्योगहरूले खोलाको पानीमा प्रतिकूल असर पारिरहेका छन् । केही महिना अघि रोशी खोलामा आएको बाढी गैरकानूनी बालुवा उत्खनन् र क्रसर उद्योगले प्रकोपमय बनाएको प्रतिवेदन छ । त्यसकारण यस्ता प्रकोप रोक्न पनि खोलाको दिगो संरक्षण गर्न अति आवश्यक हुन्छ । बालुवा उत्खननले नदीको प्राकृतिक प्रवाहलाई अवरोध पु¥याउँदै नदी किनार कमजोर पार्छ र बाढीको जोखिम बढाउँछ । अत्यधिक मल प्रयोग गर्दा नाइट्रोजन र फस्फोरस जस्ता तत्वहरू वर्षा वा सिंचाइको पानीसँग माटोबाट चुहिएर भूगर्भीय जल वा नदीमा पुग्छन् ।

यी खोलाहरू जोगाउन स्थानीय व्यक्तिहरू, समुदायहरू, र सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ । स्थानीय बासिन्दाहरूले खेतीमा प्रयोग हुने बजारीया कीटनाशक र रसायनिक मलको प्रयोग कम गरी जैविक मललाई प्राथमिकता दिनुपर्छ । त्यस्तै, पानीको संरक्षण गर्ने, सरसफाई अभियानमा सहभागी हुने, र खोलाको आसपास वृक्षरोपण तथा बाँध र जलाशय निर्माण गर्ने काम गर्न सकिन्छ । सरकार, गैरसरकारी संस्था, व्यवसायी र अनुसन्धानकर्ताजस्ता सरोकारवालाहरूले नियमहरूको पालना गराउने, संरक्षण परियोजनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने, वातावरणमैत्री अभ्यासलाई प्रोत्साहित गर्ने र खोलाको अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिने महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

परम्परागत ज्ञान, नवीन प्रविधि, र साझा उत्तरदायित्वको भावना समावेश गरी स्थानीय नदीलाई सुरक्षित र पुनर्जीवित गर्न सकिन्छ । यस अध्ययनले बिरीङ र टाङ्टिङ खोलाको पानीको गुणस्तर मूल्यांकन गर्दै प्रदूषण र बालुवा उत्खननजस्ता मानवजन्य क्रियाकलापले खोलामा पारेको असर उजागर गरेको छ । यदि यी खोलाहरूको दिगो व्यवस्थापन र संरक्षण गरिएमा जलस्रोतहरू सुरक्षित रहन सक्छन् । तर, समयमै संरक्षण नगरिए भविष्यमा बागमती र सिर्सिया खोला जस्तै खोला हो कि नाला ? भन्ने दिन नआउलान् भन्न सकिँदैन ।

सन्दर्भ : (लेखक वातावरण बिज्ञानको बिद्यार्थी , हाल क्लैमेत, रिस्क एण्ड रेसिलेंस ल्याब’ संस्था मा रिसर्च असिस्टेन्ट हुन् । )

https://www.sciencedirect.com/science/article/abs/pii/S0013935124016025.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here