विराटनगर,
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी चौकी चिचिला, संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद अधिकारीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी सहायक निरीक्षक अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका ४ का ४५ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरीसहित पक्राउ गरेका थिए ।
साथै, कार्तिक १८ गते चिचिला गाउँपालिका ३ बस्ने दुई व्यक्तिहरूबीच आपसमा वादविवाद हुँदा ढुङ्गा प्रहार गरी एक व्यक्तिलाई भीरबाट फालेको भन्ने सूचनाको आधारमा घटनास्थलमा खटी मृत शव भीरमा अड्किएको अवस्थामा फेला परेको र घटनामा संलग्न थप चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।