पथरीशनिश्चरे,
निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर कार्य समिति, पथरीशनिश्चरे, मोरङको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशन–२०८१ सम्पन्न भएको छ।
शनिबार भूपू सैनिक माध्यमिक विद्यालयको सभाहलमा पथरी शनिश्चरे पालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो। प्रमुख अतिथि तुम्वापोले निजी तथा संस्थागत विद्यालयहरूले नगरमा पुर्याएको विशिष्ट शैक्षिक योगदानको चर्चा गर्दै प्रदेश र सङ्घीय सरकारले बनाएका शैक्षिक नीति, नियम र विनियम अनुसार आफ्नो स्थानीय तहको सरकारले पनि निजी विद्यालयका समस्याहरु समाधानका लागि सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो।
प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेका सभापति सुरेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकामै शैक्षिक सत्र–२०८० को एसइई परीक्षामा ४ जिपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेको भन्दै रेडस्टर माध्यमिक विद्यालयका छात्रद्य सतिश आर्चाय र अजय लिम्बूलाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने सोही विद्यालयकी मनिता कार्कीलाई कक्षा १२ मा ३.८० जिपीए हासिल गरेकोमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा निजी तथा संस्थागत विद्यालयमा सन् २००१ देखि शिक्षण पेशामा क्रियाशील रहनुभएकी भूपू सैनिक स्कूलकी शिक्षक लक्ष्मी राना मगरलाई शिक्षक दिर्घ सेवा सम्मान तथा अन्नपूर्ण माविका कर्मचारी रामचन्द्र रानालाई कर्मचारी दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो।
सोही अवसरमा पथरी शनिश्चरे नगरक्षेत्रलाई कार्यथलो बनाई लामो समयसम्म पत्रकारितामा विशेष योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराई र आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय महासचिव अर्जुन जम्नेली राईलाई दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिका सचिव सन्तोष बस्नेतले जानकारी दिनुभयो ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वका पनि चयन गर्ने बताइएको छ ।