अमित खम्बू,
अर्जुनधारा ।
नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सूचिकृत एवम् पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा अत्याधुनिक सुविधासम्पन्न अतिथि सदन निर्माण हुने भएको छ ।
धामको ४२औं वार्षिक अनुष्ठान अन्र्तगत शनिबारदेखि शुरु भएको अष्टोत्तरशत्(१०८) श्रीमद् भागवत पाठपारायण साथै संगीतमय कथा प्रवचन एवम् हवनात्मक महायज्ञको उद्घाटन कार्यक्रमको अवसरमा उक्त अतिथि सदन निर्माण स्थलमा सामुहिक रुपमा भूमिपुजन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि १००८ स्वामी सिद्धबाबा कालीदासजी महाराज, विशेष अतिथि श्रीकृष्ण प्रणामी धर्म मंगलधाम कालिम्पोङका प्रमुख १०८ मोहनप्रियाचार्य महाराज, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानी, धर्मदर्शन फाउण्डेशन नेपालका संस्थापक एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी, मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले संकल्पसहित भूमिपुजन कार्यमा सहभागी भएका थिए ।
धामको गुरुयोजना अनुसार निर्माण हुने उक्त अतिथि सदन बेसमेन्टसहित आठ तलाको हुने धामका सल्लाहकार इन्जिनियर शंकर सुवेदीले जानकारी दिए । एउटा लिफ्ट, दुई वटा सिंढी, दुई वटा सभाहल, सुविधासम्पन्न कोठा र शौचालयहरु रहने अतिथि सदन निर्माण गर्न अनुमानित २५ करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
बहुउद्देश्यीय प्रयोजनमा प्रयोग हुने अतिथि सदनको नाम ‘अमर धर्मशाला’ नामकरण गर्ने निर्णय भएको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । अतिथि सदन निर्माणका लागि पूर्व मुख्यमन्त्री थापाले कोशी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र अर्जुनधारा नगरपालिकाका प्रमुख तामाङले ७५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अर्थ मन्त्री महेश आचार्य, धर्मगुरु श्यामानन्दजी महाराजलगायतले शुभकामना मन्तव्य राखेका थिए । धामका मूलअर्चक सिग्देलले धामको वर्तमान अवस्था र भावी रणनीतिसहित महायज्ञको औचित्य बारे जानकारी गराएको कार्यक्रममा अर्जुनधारा संस्कृत गुरुकुलका बटुक छत्रपति गुरागाईंले संस्कृत भाषामा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।
महायज्ञ उद्घाटन अघि पञ्चकन्या, नौमती बाजा समूह, शंखघण्ट ध्वनी समूह, विभिन्न जातजातीका झाँकीसहित अनुमानित तीन दर्जन बढी संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कलश यात्राको आयोजना गरिएको थियो । धाम पश्चिमतर्फ रहेको प्रवेशद्वारबाट शुरु भएको कलश यात्रा पिपलचौक–नारायाणचौक–खसीहट्टी–शनिश्चरे बजार हुँदै धाम उत्तरतर्फ रहेको मुख्य प्रवेशद्वारबाट मण्डपस्थलमा पुगेर सम्पन्न भएको थियो ।
विश्व शान्तिको कामना र पितृ उद्धारको मुख्य उद्देश्यले आयोजना गरिएको महायज्ञ मंसीर १५ गते बालाचर्तुदशीका दिन सम्म सञ्चालन हुने छ ।