हामी विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौं । आजको प्रगति विज्ञानको क्षेत्रमा भएको अभूतपूर्व बदलावको कारण सम्भव भएको हो । विश्वमा हाल भएको रूपान्तरण वैज्ञानिक आविष्कार तथा आधुनिकतम् प्रविधिका कारण सम्भव भएको हो । यी आविष्कारहरूले मानव जीवनमा धेरै ठूला परिवर्तनहरु ल्याउन सफल भएका छन् । मानिसलाई बाँच्न, हिँडडुल गर्न, काम गर्न लगायतका विविध क्षेत्रमा विशेषतः सूचना प्रविधिको प्रयोगले अकल्पनीय बदलाब ल्याएको छ । आजको शताब्दीका आवश्यकतालाई सामना गर्न सक्ने वैज्ञानिक शिक्षा नीतिनिर्माण गर्न प्रगतिशील र लोकतान्त्रिक दृष्टिकोणद्वारा निर्देशित हुनुपर्छ र रुढिवाद, अन्धविश्वास र कुरीतिका बिरुद्ध उभिएर सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने लक्ष्य बोकेको हुनुपर्छ । यसको लागि शिक्षामा सूचना प्रविधि पहिलो आवश्यकता हो ।
अफलाइन तथा अनलाइन दुबै माध्यमबाट र दूरशिक्षाको माध्यमबाट शिक्षा प्रदान गर्ने र शिक्षा लिने प्रक्रिया र क्रियाकलापलाई सहजीकरण गर्न सकिन्छ । पारम्परिक मूल्यमान्यतालाई सूचना प्रविधिमा आएको महत्वपूर्ण परिवर्तनले त्याग्दै विस्थापित गरिएको ठाउँमा नवीन मूल्यमान्यतालाई स्थापित गर्दै लगेको आजको यथार्थ हो । शिक्षा ज्ञान, विज्ञान र चेतनाको प्रवाह हो । तर, युग सुहाउँदो रूपमा शिक्षा दिने र लिने कार्यलाई व्यवस्थित गर्न सकिएमा मात्र समय, ऊर्जा र शक्तिको क्षयीकरणको न्यून सम्भावना हुन्छ र युगका नयाँ पानाहरू पल्टिन सक्छन् । सूचना प्रविधिले शिक्षाको क्षेत्रमा विद्यमान रुढीवादी संस्कार र पद्धतिलाई चुनौति दिँदै शिक्षण र सिकाइका नयाँ विधि र मान्यतालाई अभूतपूर्व रूपमा अघि बढाएको छ ।
शिक्षाका पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्याङ्कनका सम्पूर्ण चरणमा सूचना तथा प्रविधिको महत्वपूर्ण भूमिका हुन्छ । विज्ञानले सृजेका नवीनतम् ज्ञान र प्रविधिकै कारण आजको विश्व कल्पनै गर्न नसकिने विकासको यो अवस्थामा आइपुगेको हो । विद्यालय, महाविद्यालय र विश्वविद्यालय जस्ता शैक्षिक प्रतिष्ठानहरूमा जुनसुकै काम र क्रियाकलापलाई अघि बढाउने हो भने सूचना प्रविधिबिना अघि बढाउने प्रयत्न गरिएमा त्यो अपूर्ण हुन्छ भन्ने मान्यतालाई सबै पक्षले स्वीकार्नुपर्छ । यो विषय आज यति महत्वपूर्ण भएको छ कि यसको अभावमा धेरै कुरा अधुरा र अपुरा हुन्छन् ।
शिक्षा क्षेत्रमा कम खर्च र कम मेहनतमा बढीभन्दा बढी सूचना तथा ज्ञान ग्रहण गर्ने परिस्थितिको निर्माण गर्नु आजको खाँचो हो । आजको युग द्रूतगतिमा सूचना सम्प्रेषित गरी प्रभावकारी रूपमा ज्ञान दिने र ग्रहण गर्ने दिशामा अघि बढिरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नयाँ युगको सूत्रपात सूचना प्रविधिको कारणबाट हुन सफल भएको हो । आधुनिक सभ्यताको जग यसबाटै सम्भव भएको हो । समाज विकासको आजको चरणसम्म आइपुग्दा सूचना प्रविधिको क्षेत्रमा निरन्तर भइरहेको परिवर्तनलाई नजरअन्दाज गर्न सकिँदैन । आवश्यकता नै आविष्कारकी जननी हुन् भने झैं मानिसका भौतिक आवश्यकता र संसारमा बढिरहेको जनसंख्याको कारणबाट सृजित पेचिला संकटको समाधान गर्न सूचना प्रविधिको उपयोग गरिने प्रचलन बढ्दै गएको छ । आजको शिक्षा प्रणाली अध्ययन र अनुशासनलाई गाँस्ने, शिक्षक र विद्यार्थी दुबै आम जनसमुदायसँग जोडिने र पाठ्यक्रम निर्माणमा समेत शिक्षक, विद्यार्थी र अभिभावकबीचको त्रिपक्षीय संयोजनकारी भूमिकाका लागि सूचना प्रविधिको महत्वपूर्ण देन हुन सक्छ ।
मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी शिक्षा नीतिमा परिवर्तन गर्न सूचना प्रविधिको शिक्षा हुन आवश्यक छ । सिक्ने र सिकाउने सवालमा विकसित नवीनतम् विधि, नियम र तकनिकीहरूलाई कुशलतापूर्वक प्रयोग गर्नसक्ने उचित वातावरण सृजना गर्दै अन्य विकसित देशको तुलनामा हाम्रो देशलाई पु¥याउने आत्मविश्वास उमार्न सक्ने शिक्षा नीति अबको युगमा सूचना तथा प्रविधिको क्षेत्रमा आएका परिवर्तनबाटै सम्भव हुन्छ ।
देशलाई प्रतिगमन र अधोगतितिर धकेल्ने होइन आधुनिकीकरणको दिशामा अघि बढाउने हो र आधुनिकीकरणको मूल मर्मलाई आत्मसात गर्ने हो भने शिक्षाक्षेत्रमा सूचना प्रविधिलाई अनिवार्य आधार बनाउन सकिन्छ । शिक्षामा समयसापेक्ष परिवर्तन नगर्ने हो भने स्वर्णिम नेपालको सपना फगत सपना मात्र हुनेछ र नेपालको संविधान २०७२ मा लेखिएको समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने कुरा गँजडीको उडन्ते गफ मात्र हुन्छ, गाँजाको नशाले छोडेपछि डङग्रङ्ग भुइँमा पछारिन्छ कल्पनादर्शी । हामी क्रान्ति चाहन्छौं र सँगसँगै लोकतन्त्र पनि चाहन्छौं ।
हामी मुलुकमा सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तह गठन गरेर शक्ति विन्यास र अधिकार प्रत्यायोजनका हिसाबले नितान्त नवीन ढङ्गबाट अघि बढ्न प्रयत्नशील छौँ । हामी मुलुकलाई लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने बाटोतर्फ अग्रसर छौं । सूचना तथा प्रविधिलाई मुलुकको पुनर्संरचनाको लागि एक महत्वपूर्ण आधारको रूपमा स्वीकार्न सकिएमा राष्ट्रका समस्या हल गर्ने गरी शिक्षा क्षेत्रलाई सबलीकरण गर्न सकिन्छ । शिक्षा क्षेत्रमा संरचनागत तथा नीतिगत परिवर्तन कस्तो हुने भन्ने कुराको केन्द्रविन्दु सूचना प्रविधि प्रतिको सोचाइ हो । सूचना प्रविधिलाई शिक्षाको क्षेत्रमा प्रयोग गर्ने हो भने शिक्षक र विद्यार्थी दुबैका लागि शिक्षण सिकाइ क्रियाकलापमा हुने पहुँचलाई वृद्धि गर्न सकिन्छ । आवश्यक सूचनाको ग्रहण क्षमताको स्तरमा पनि वृद्धि हुन्छ र सबै प्रकारका विद्यार्थीको सहभागितामा हुने सिकाइलाई बढावा दिन सकिन्छ ।
शिक्षामै आफ्नो भविष्य पनि देख्ने सक्षम जनशक्ति निर्माण गर्ने शिक्षाको मूल उद्देश्य हो । हामी २१औं शताब्दीको अति आधुनिक युगमा बाँचिरहेका छौं । तर, युगको हाँकलाई सामना गर्न सक्ने र विश्वमा भएका बदलाबलाई आत्मसात गर्ने गरी हाम्रो शिक्षा नीतिमा सूचना तथा प्रविधिलाई आत्मसात गर्ने गरी परिवर्तन गर्न आवश्यक छ । नयाँ युगका चुनौतीसँग जुध्न सक्ने र प्राप्त विशाल अवसरलाई उपयोग गरी समाज र राष्ट्रलाई प्रगतिको सुमार्गमा डो¥याउन सक्ने सुयोग्य नागरिक उत्पादन गर्ने शिक्षानीति आजको खाँचो हो । उच्च चेतनायुक्त प्राविधिक दक्ष नागरिक तयार गर्ने उद्देश्यका साथ शिक्षा नीतिमा आमूल परिवर्तन गर्नु अत्यावश्यक भइसकेको छ । शिक्षानीतिमा नेपाल सुहाउँदो सूचना तथा प्रविधि सहितको वैज्ञानिक ढाँचा कस्तो हुनुपर्छ भन्ने कुरा नीतिनिर्माता र राजनीतिक तथा शैक्षिक नेतृत्वले सरोकारवाला सबैसँग गरिने घनिभूत छलफल, बहस र अन्तरक्रियाबाट निक्र्यौल गरिने विषय हो । तर हामी परम्परागत शैलीमा छौं ।
सूचना प्रविधिको कारणबाट मानवीय सम्बन्धमा पनि फेरबदल आउन थालेको र शिक्षा क्षेत्रमा त सूचना प्रविधि अनिवार्य झैं हुन थालेको छ । उच्च चेतनाको विकास गरी श्रमको सम्मान गर्ने नागरिक तयार गर्ने आधारको रूपमा रहेको शिक्षालाई सूचना तथा प्रविधिबाट अलग राख्ने हो भने युगका चुनौतीलाई शिक्षाले सम्बोधन गर्न सक्दैन । मल्टीमेडियाको प्रयोगले कक्षाकोठा बढी सजीव र प्रभावकारी हुन्छ । शिक्षा क्षेत्रमा सूचना प्रविधिलाई समुचित प्रयोग गर्न सके कृषि, वाणिज्य, उद्योग, पर्यटन लगायतका क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने सच्चाइलाई हामी सबैले ग्रहण गर्नु आवश्यक छ ।
आज हामी मुलुक किन बनेन भनेर सोचिरहेका छौं, तर देश बनाउने नयाँ पुस्तालाई कसरी तयारी गरिरहेका छौं भनेर चिन्तनमनन कम भएको छ । तसर्थ, युगका अभिभारा पूरा गर्ने जनशक्ति तयारीका लागि सूचना प्रविधिका क्षेत्रमा आएका नवीनतम् विधि र प्रविधिलाई आत्मसात गर्न आवश्यक छ । कालोपाटीमा कम्प्युटरका चित्र बनाएर कम्प्युटरको शिक्षण गर्नुपर्ने स्थितिबाट हामी गुज्रिनु परिरहेको छ । यसको अनत्य हुन आवश्यक छ । आजको माग भनेको सूचना प्रविधिको प्रयोगबाट सबै विषयहरु शिक्षण गरी युगको माग अनुरुपका मानव संशाधनको उत्पादन गर्नु हो । इन्टरनेट र इ–मेलले सूचनाको क्षेत्रमा क्रान्ति नै ल्याएको छ ।
शिक्षकहरुले कक्षाकोठामा सूचना प्रविधिको प्रयोग गर्ने क्रम नेपालमा पनि बढेर गएको छ । सफलतापूर्वक सूचना प्रविधिलाई प्रयोग गरेर शिक्षणलाई सशक्तिकरण गर्न धेरै चुनौतीहरू छन् । शिक्षकमा रहेको साधनस्रोत प्रतिको अनविज्ञता र विद्यालय परिवार सूचना प्रविधि मैत्री नहुनु, रेडियो, टीभी, मल्टीमिडिया, कम्प्युटर आदिको प्रयोगबाट सशक्त रुपमा शिक्षण गर्न सकिन्छ भन्ने आत्मविश्वास शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, आमा समूह लगायतका सरोकारवालामा नहुनु हामीसामु रहेका प्रमुख अवरोधहरू हुन् । कम खर्चमा पनि सूचना प्रविधिको प्रयोगबाट उत्तम शिक्षण हुनसक्छ भन्ने कुरा बुझी सोही अनुरूप पाठ्यक्रम निर्माण गर्ने र पाठ्यपुस्तक लेखी व्यवहारमा पनि लागू गर्नु अति आवश्यक छ । नेपालको संविधान २०७२ को मर्म र भावना अनुसार मुलुकको समुन्नतिको मूल आधारको रूपमा सूचना तथा प्रविधिलाई जोड्न आवश्यक छ र यसका लागि शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको जरुरत छ ।