यस वर्षको लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सकिएकै दिन कोशी प्रदेश प्रहरी कार्यालयको हिंसा सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । बर्षेनि प्रहरी कार्यालयमा दर्ता हुने उजुरीका आधारमा कोशी प्रदेशको सुनसरी जिल्लामा प्रदेशमै सर्वाधिक हिंसा भएको जनाइएको छ । घरबाट शुरु हुने हिंसामध्ये महलिा हिंसाका घटना बढी दर्ता हुने गरेको विभिन्न प्रतिवेदनहरुले देखाउने गरेका छन् । विकृति मनस्थितिले अरुलाई बिनाकारण हेप्ने, होच्याउने, गाली गर्ने अथवा शारीरिक तथा मानसिक अवस्थामा आघात पु¥याउने व्यवहार हिंसा हो । यस्तो हिंसाले पीडितको सृजनात्मकता र क्षमता नष्ट हुने मात्र होइन पीडकले पनि मानसिक त्रासमा बस्नुपर्ने अवस्था आउँछ ।
आफ्नै परिवारका सदस्यलाई गरिने दुव्र्यवहार पनि हिंसा हो । यस्तो हिंसामध्ये महिलामाथि गरिने हिंसा बढी हुने गरेका तथ्यांकले देखाएका छन् । तर, पछिल्लो समय महिलाबाटै पुरुषहरु प्रताडित हुन थालेका घटना पनि प्रकट भइरहेका छन् । त्यसकै कारण हिजोआज महिला हिंसाको साटो लैङ्गिक हिंसा भन्न थालिएको छ । मूलतः हाम्रो समाजमा छोरीहरु घरमै, मेलापत जाँदा, विद्यालय जाँदा, बसमा यात्रा गर्दा वा कामकाजीहरु कार्यस्थलमै असुरक्षित हुन थालेका छन् । दाइजोको निहुँमा अपेक्षित सन्तान नजन्माएको, विवाह गर्न अस्वीकार गरेको निहुँमा कुटपिट गरेको, उपेक्षा गरेको वा अङ्गभङ्ग गरेको जस्ता घटना पनि बढ्दै गएका छन् । कतिपय हिंसामा बालविवाह, बहुविवाह, अनमेल विवाह, अपरिपक्व उमेरमा भएको प्रेम सम्बन्धले पनि हिंसाका घटना बढोत्तरी भएका छन् ।
अहिलेको समयलाई प्रविधिको समय भनिन्छ । त्यही प्रविधिले विश्वलाई एउटा विन्दुमा जोडेको पनि छ । त्यसबाट लिन सक्नेले अनेकन लाभ लिइरहेका पनि छन् । तर, हामी कहाँ पारिवारिक संरचना, वातावरण र देशको माटो सुहाउँदो शिक्षा प्रणाली भएन । हाम्रो शिक्षाले न आफ्नो, न परिवारको न त समाजको सुरक्षा दिनसक्यो । आफू सुरक्षित हुने तत्वज्ञान पनि दिन नसक्ने, व्यवसायिक बनाउन नसक्ने र जीवनका लागि उपयोगी हुन नसक्ने शिक्षाले स्वावलम्वी, आत्मनिर्भर, चरित्रवान र नैतिकवान पनि बनाउन सकेन । त्यस्तो अवस्थामा पहुँचमा आएको प्रविधि र त्यसको साधन सामाजिक सञ्जालले मानिसलाई एकाकी बनायो । परिणाममा अभद्रता, अनैतिकता हुर्कियो र हिंसा र द्वेषको परिस्थिति ल्यायो ।
आधुनिक हुने होडमा रहेको नेपाली समाजमा न मौलिकता रह्यो न त सांस्कृतिक परम्परा सुरक्षित हुन पायो । सञ्जालले जोडेको सम्बन्ध प्रेम हुँदै लिभिङ टुगेदर र कागजी विवाहसम्म पुग्न थाल्यो । वेदको मान्यताको विवाह पद्धति भङ्ग हुँदै गयो र प्रेमबाट शुरु भएको सम्बन्ध हिंसामा पुगेर टुंगियो थाल्यो । हिंसा बढाउनमा वैदेशिक रोजगार पनि जोडियो, पारिवारिक भूमिका र जिम्मेवारी पैसामा साटियो र दिनदिनै अप्रिय घटनाका सूचना आउँदै गए । यस्ता घटनाका श्रृंखलाका अन्य कारणहरु गरिबी, चेतना र शिक्षाको कमी, विलाशिताप्रतिको मोह र मनोवेगलाई नियन्त्रण गर्न नसक्ने कारण पनि छन् । त्यसैले राज्यले उचित शिक्षा र अवसरको माध्यमबाट सबै प्रकारका हिंसा अन्त्यका लागि नीति अंगीकार गर्नुपर्छ ।