अर्जुनधारा ।

झापाको अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा तथा १४औं अधिवेशन आइतबार सम्पन्न भएको छ ।
समूहको प्राङ्गणमा समूहका अध्यक्ष टेकनाथ अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व वन राज्यमन्त्री वीरमणि ढकालले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष अधिकारीले संस्थाको चालु आर्थिक वर्ष ०८१/०८२को अनुमानित बजेट, नीति तथा कार्यक्रमसहितको गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा चालु आवको लागि एक करोड ७८ लाख ३७ हजार नौ रुपैयाँ ४५ पैसा बराबरको बजेट पेश गरिएको छ ।

जसअनुसार वन विकास खर्चतर्फ ९७ लाख ६३ हजार आठ सय ८३ रुपैयाँ, गरिवी न्यूनिकरणतर्फ ४३ लाख ६९ हजार छ सय ८६ रुपैयाँ, विविधतर्फ १७ लाख ६२ हजार रुपैयाँ, प्रशासनिक खर्चतर्फ १४ लाख आठ हजार दुई सय ४२ रुपैयाँ ४५ पैसा, ट्याक्टर सञ्चालनतर्फ तीन लाख ३३ हजार एक सय ९८ रुपैयाँ र सामाजिक खर्चतर्फ दुई लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सोही कार्यक्रममा समूह स्थापनाकालमा हेरालु रहेका १६ जना र निवर्तमान चार जना कर्मचारी गरि जम्मा २० जनालाई सम्मानित गरिएको समूहका कार्यालय सचिव युवराज खड्काले जानकारी दिए । त्यस्तै कार्यक्रममा स्थानीय अर्जुनधारा स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा कार्यक्रमका सहभागीहरुको निःशुल्क प्रेसर परीक्षण गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, अर्जुनधारा–५का वडाध्यक्ष गीताराज खड्का, कनकाई सब डिभिजन वन कार्यालयका अधिकृत सुरेशकुमार खनाल, सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका इञ्चार्ज तुलसीप्रसाद खतिवडा, नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहका उपाध्यक्ष तुलाराम बस्नेतले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सह–सचिव सीताराम पराजुलीले गरेका थिए ।






























