सुरुङ्गा ।

कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरूलाई विद्यालय समयमा विद्यालयको हाता बाहिर नजान निर्देशन दिएको छ ।
विद्यालय सञ्चालनको समयमा विभिन्न कारण देखाई प्रधानाध्यापकहरू विद्यालयबाहिर रहँदा पठनपाठन प्रभावित हुने गरेको र विद्यालयमा गरिने अत्यावश्यक कामहरू पनि प्रअको अनुपस्थितिमा ढिला हुने बुझिएको छ । शिक्षा शाखाले अत्यावश्यक बाहेक शिक्षक र कर्मचारीहरूलाई पनि विदामा नबस्न निर्देशनसहित अनुरोध गरेको छ ।
शैक्षिक सत्र २०८१ का विद्यालय तहका विभिन्न कक्षाहरूको वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भइसकेको र कनकाई नगरस्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण परीक्षा चैत ८ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हुँदा अन्तिम परीक्षाको तयारी सम्बन्धमा शाखाले सबै विद्यालयहरूलाई निर्देशन दिएको हो ।
शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत राजकुमार ओडारीले पाठ्यक्रमले निर्धारण गरेका सबै कक्षाको पाठ्यवस्तुको पठनपाठनको अवस्था विश्लेषण गरी निर्धारित पाठ्यवस्तु २०८१ साल फागुन मसान्तभित्र सम्पन्न गरी विशिष्टीकरण तालिका अनुसार विद्यार्थीहरूलाई परीक्षाको अन्तिम तयारी गराउन र विद्यालयहरूमा वार्षिक परीक्षाअघि अध्ययन अध्यापन बाहेकका खेलकुद, अतिरिक्त लगायत अन्य कुनै पनि क्रियाकलापहरू नगराउन लिखित निर्देशन दिएका छन् । विद्यालय परिसरमा नगरपालिका कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको अनुमतिबिना कुनै सङ्घ, संस्थाका कार्यक्रमहरू समेत गर्न नदिन विद्यालयहरूलाई पत्राचार गरेका छन् ।
कनकाई नगरमा सामुदायिक/सरकारी १४ वटा विद्यालय रहेका छन् । नगर शिक्षा, युवा तथा खेलकुद शाखा नगरका विद्यालयको पठनपाठनलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न उपाय र रणनीति अवलम्बन गरिरहेको देखिन्छ ।
हालै शिक्षा शाखाको संयोजन र आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा नगर स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरिएका छन् भने आगामी वैशाख महिनामा अन्तर विद्यालय वृहत् गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिने बताइएको छ ।






























