भाषिक हिसाबले नेपालको एकीकरण गर्ने महान स्रष्टा भानुभक्त आचार्यको जन्मदिन हो आज । भूगोलले नेपाल र नेपालीलाई जोड्ने वडामहाराजधिराज पृथ्वीनारायण शाह जस्तै भानुभक्तले नेपालीलाई एक सूचनामा बाँध्ने काम गरेका थिए । आधुनिक नेपाली भाषाका प्रथम लेखक भानुभक्तले नेपाली साहित्यको जग बसोलेका थिए । त्यहीकारण उनलाई आदिकविका रुपमा विश्वभर छरिएर रहेका नेपालीले विविध कार्यक्रमका साथ उनको जन्मजयन्ती मनाउँदै उनको योगदानको स्मरण र सम्मान गर्ने गर्छन् । वि.सं. १८७१ को असार २९ गते तनहुँको चुँदीरम्घामा उनको जन्म भएको थियो । धार्मिक एवम् नैतिक चिन्तनका माध्यमबाट नेपाली र नेपाललाई भावनाले जोड्ने भानुभक्तको योगदान सर्वोपरी रहेको छ ।

पूर्वीय साहित्य र दर्शनमा संस्कृति साहित्यका आदिकवि वाल्मीकि, हिन्दी साहित्यका तुलसी दास जस्तै नेपाली भाषाका आदिकवि भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा लगायत दर्जनौं फुटकर रचनाका माध्यमबाट नेपालीलाई आध्यात्मिक, नैतिक चेत प्रवाह गरेका छन् । हजुरबुवा श्रीकृष्ण आचार्यको प्रेरणाबाट भाषा साहित्यको सेवा र श्रीवृद्धिमा उनको योगदान अतुलनीय र अनुपम छ । भानुभक्तलाई पहिलोपटक चिनाउने मोतीराम भट्ट हुन् जसले आफू स्रष्टा भइकन पनि भानुभक्त कृति रामायणको प्रकाशन गराएका थिए । त्यसपछि राणा प्रधानमन्त्री जुद्धशमसेरले मोतीरामको प्रस्तावलाई स्वीकार गरेर राजकीय मान्यता दिएका थिए । आँशुकविका रुपमा समेत प्रतिष्ठित भानुभक्त कवितामै बोल्न सक्थे भनिन्छ ।
हजुरबुवाकै रेखदेख, संगत र संरक्षणमा भारतको बनारशमा पुगेर संस्कृत भाषा र साहित्यको अध्ययन गरेका भानुभक्तले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरे । त्यही रामायण आज नेपालीको घर–घरमा छ जसलाई धार्मिक पुस्तकका रुपमा पूजा समेत गरिन्छ । त्यसो त भानुभक्तसँगै मोतीराम भट्टलाई समेत जोडेर हेर्ने गरिन्छ, त्यसका पछि मोतीरामको उनीप्रतिको श्रद्धा र समर्पणभाव जिम्मेवार हुनसक्छ । तर, भानुभक्त स्वयम् महान सर्जक, बहुआयामिक, तीक्ष्ण बुद्धि र सरल स्वभाव भएका व्यक्ति चाहिँ थिए भन्ने उनका सृजनाहरुले सिद्ध गरेका छन् । तिनै भानुभक्त आफ्नै जन्मभूमिमा भने उपेक्षित हुन थालेका छन् ।
भानु जयन्ती भारतको दार्जीलिङमा जातीय पर्वका रुपमा मनाउने गरिएको छ । त्यस्तै सिक्किम, आसामका नेपाली भाषीको बसोबास भएका ठाउँहरु पनि यो दिन सांस्कृतिक पर्वकै रुपमा भव्यताका साथ मनाइन्छ । भानुभक्त कुनै एक जाति, भाषी वा धर्म समुदायका प्रतिनिधि होइनन् । उनी नेपाली भाषा साहित्य एकताका प्रतीक हुन् र हामी सम्पूर्ण नेपालीका साझा निधि हुन् । आज नेपाली राजनीतिक आस्थाका आधारमा विभाजित छौं । त्यसको फाइदा उठाउँदै पश्चिमेली भाषा, संस्कृति, धर्म र अर्काको अनुशरण गर्ने मानसिकताले दुर्बल हुँदैछौं । शासकहरु नै एकताबद्ध नेपालीलाई फुटाउने खेलमा लागेको बेला महामानव भानुभक्त लगायत भाषा साहित्यका साधक, स्रष्टा, इतिहासकार, अवेषक, भाषासेवी प्रति उपेक्षा हुन थालेको छ । भानुभक्तले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा मात्र होइन मानवतावादी सन्देश पनि प्रवाह गरेका छन् । त्यसैले उनीप्रति अन्तरमनले श्रद्धा गर्नु हाम्रो कर्तव्य हो ।




























