बढ्दो मानव बेचबिखनको विषयमा चिन्ता व्यक्त

0
215

बिर्तामोड ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्य जिम्मेवार ढंगले अघि बढ्नुपर्ने कुरामा जोड दिइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार बिर्तामोडमा आयोजना गरेको सरोकारवालाहरु बीचको बैठकका सहभागीले उक्त विषयमा राज्य गम्भीर नभएको र मानव बेचबिखन विभिन्न स्वरुपमा अझ बढेर गएको भन्दै चिन्ता व्यक्त गरे ।

मानव बेचबिखन तथा ओसारपसारबाट मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको भन्दै उनीहरुले राज्य र सरोकारवालाहरुको साझा प्रयासबाट यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारले समेत नीति निर्माण गर्नुपर्ने र स्थानीय तहमा हुने समितिलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने बताइएको छ ।

प्रलोभनमा परेर ठगिने, बेचिने, यौन तथा श्रम शोषणमा पर्ने क्रम बढेको विषयमा बैठकमा छलफल भएको थियो । अहिले रोजगारीका नाममा प्रलोभन देखाएर भइरहेको सीमापार मानव तस्करी र सीमाभित्रै मानव बेचबिखनको अवस्था भयावह भएको सो अवसरमा बताइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट सचिव मुरारीप्रसाद खरेलले औचित्य माथि प्रष्ट्याएको कार्यक्रमको सहजीकरण डाक्टर गोविन्द सुवेदीले गरेका थिए । आयोगले मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको राष्ट्रिय प्रतिवेदन २०२५ तयारीका सिलसिलामा झापाका सरोकारवालाहरुसँग बैठक गरेको हो ।

उक्त प्रतिवेदन छिट्टै सार्वजनिक हुने जनाइएको छ । आयोगले गरेको अनुगमन, प्राप्त विवरण, भइरहेको प्रयास गर्नुपर्ने कार्य तथा सुझावहरु प्रतिवेदनमा समेटिने बताइएको छ । वैठकमा आयोगका लोकनाथ बाँस्तोलाले समेत आयोगका कामबारे जानकारी गराएका थिए ।

त्यसक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, माइती नेपालका गोविन्द घिमिरे, एबीसी नेपालकी कञ्चना ढकाल, नव अभियान नेपालकी अनिता गुरागाँई, आफन्त नेपालकी प्रितिका थामी, मातृका गुरुङ, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, राससका झापा प्रमुख दिपक चन्द, युथ एड्भोकेसी नेपालका विनय कार्की, साहसी महिला नेपालका होमराज राई, माइती नेपालकी गंगा मगर, साना हातहरु नेपालकी मन्दु धिमाल, आम्काश नेपालकी दिपा राई, विमला राई लगायतले जिल्लाको वस्तुस्थितिसहित विभिन्न सुझाव राखेको आयोगकी कुमारी महराले बताइन् । कार्यक्रममा स्वागतसहित सञ्चालन राष्ट्रिय मानव अधिकार आयोग विराटनगर कार्यालयकी सुदिप्ती सुवेदीले गरेकी थिइन् ।

पछिल्लो समय नक्कली कागजात बनाएर, नेटवर्किङ व्यापारका नाममा, भारतको आधार कार्ड देखाएर, धार्मिक सम्मेलनको नाममा, अध्ययनको नाममा मानव ओसारपसार र बेचबिखन बढ्ने गरेको बताइएको छ । खुल्ला सिमाका कारण झापाबाट दाउरा तथा विभिन्न वस्तुको भारी बोकेर स्थानीय मान्छे झैं बनी भारततर्फ जानेक्रम पनि बढेको बताइएको छ ।

त्यस्तै मलामीको हुलमा, कोही खसीबाख्रा तान्दै त कोही नानी समाएर, कोही घाँस काट्ने बहानामा, कोही आफन्त भेट्न गएको भन्दै भारततर्फ प्रवेश गर्ने गरेको बताइन्छ । दलालहरुले दिएको उपाय अनुसार उनीहरु सरकारी अधिकारी र अभियन्ताहरुलाई छलेर भारततर्फ जाने र बेचबिखन तथा श्रम शोषणको जोखिममा पर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here