झापा, साउन २ — झापाको बाह्रदशी गाउँपालिकामा दुई साताअघि भएको सवारी दुर्घटनामा घाइते भएका सबै चार जनाको मृत्यु भएको छ।
बिर्तामोडस्थित बीएण्डसी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत उर्मिला राजवंशीको निधनसँगै मृतकको संख्या चार पुगेको हो। दुर्घटनामा घाइते भएका कचनकवल–३ डाकुपारा निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी र उनका ७ वर्षीय नाति आयुष राजवंशी को यसअघि नै मृत्यु भइसकेको थियो ।
बुहारी २७ वर्षीया उर्मिला राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार उर्मिलाको आज दिउँसो १:३५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको हो। उनी दुई साता यता गम्भीर घाइते भई उपचाररत थिइन्।
गत असार २५ गते दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१, खयरबारीस्थित भागुडुब्बा – कुटी सडकखण्डमा भारततर्फबाट आउँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र कुटीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा स्कुटर चालक श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत, बिहार राज्यको किशनगंज जिल्लास्थित करलाबारी–१४ निवासी २७ वर्षीय सुरज टुडूको घटनास्थलमै मृत्यु भएको थियो। त्यसै राति उपचारका क्रममा आयुषको पनि मृत्यु भएको थियो। उर्मिला भने अस्पतालमै उपचाररत थिइन्।































