फरार अभियुक्तसँग नाम मिल्दा १६ दिन तिलबहादुर गुरुङ थुनामा

0
133

इलाम।

इलामको सन्दकपुर गाउँपालिका–२ का ७६ वर्षीय तिलबहादुर गुरुङलाई फरार अभियुक्तसँग नाम मिल्दा १६ दिन थुनिनुपरेको छ।

४५ वर्षअघिको कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तसँग नाम मिलेपछि असार १७ गते उनलाई प्रहरीले पक्राउ गरी असार १८ गते इलाम कारागार चलान गरेको थियो।

इलाम जिल्ला प्रहरी कार्यालयले अदालतबाट प्राप्त पक्राउ आदेशका आधारमा पक्राउ गरिएको बताएको छ। तर, परिवारले उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि अनुसन्धान पुनः सुरु गरिएको थियो। अदालतको आदेशमा थुनामा रहेका गुरुङ र फरार अभियुक्त फरक व्यक्ति भएको पुष्टि भएपछि साउन १ गते गुरुङलाई थुनामुक्त गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले फरार अभियुक्तको नाम, थर, ठेगाना मिलेकै आधारमा गुरुङलाई अदालतमा उपस्थित गराइएको जानकारी दिनुभयो।

परिवारले गुरुङ निर्दोष रहेको र अनुसन्धान नगरी नाम मिल्ने आधारमा थुनिनु अन्याय भएको बताएको छ। इलामका मानव अधिकारकर्मीहरूले पनि अनुसन्धानबिना गरिएको गिरफ्तारीप्रति आपत्ति जनाउँदै यस घटनाले प्रहरी प्रशासनप्रति जनविश्वास गुमाएको टिप्पणी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here