शिवसताक्षी ।

झापाको शिवसताक्षी नगरपालिका–७, ब्याङडाँडाका यज्ञराज ओली (गोपाल) ले आफ्नो जन्मदिनलाई पूर्ण रूपमा धार्मिक र परोपकारी रूपमा मनाएका छन्।
पछिल्लो समय नेपाली समाजमा जन्मदिनलाई पार्टी, भोज र पश्चिमी शैलीमा मनाउने प्रवृत्ति बढ्दै गएका बेला उनले आफ्नो जन्मदिनलाई धार्मिक उद्देश्यका लागि उपयोग गरेर उदाहरणीय कार्य गरेका छन्।
यज्ञप्रसाद ओलीले सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाको पूर्वाधार निर्माणका लागि र गोलोक गोवर्धन गौशालाका गाईहरूको आहाराका लागि नगद २१/२१ हजार रुपैयाँ (जम्मा ४२ हजार रुपैयाँ) सहयोग गरेका हुन्। सताक्षीधाम पूर्वी नेपालकै एक प्रसिद्ध धार्मिक स्थल हो भने गोलोक गोवर्धन गौशाला धार्मिक र गोसेवा केन्द्रका रूपमा चिनिएको छ।
सहयोग रकम चर्चित युट्युब च्यानल तात् तातो खबर का सञ्चालक तथा सामाजिक अभियन्ता भाग्य न्यौपानेमार्फत धाम विकास समितिका सचिव कालीप्रसाद रिजाललाई हस्तान्तरण गरिएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन प्रसाद मैनाली, सचिव विनोद सापकोटा, सदस्य परशुराम ढुङ्गाना, कार्यकारी प्रमुख नवीन ओली, सताक्षीधाम समितिका उपाध्यक्ष कृष्ण खरेल, सचिव कालीप्रसाद रिजाल, सदस्य गङ्गाधर तिम्सिना, परशुराम खरेललगायतका स्थानीय सामाजिक, धार्मिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धार्मिक भावनासहित सामाजिक उत्तरदायित्व वहन गर्दै जन्मदिनको दिन यस्ता संस्थाहरुलाई सहयोग गर्नु प्रेरणादायी कदम भएको सहभागीहरूले बताएका थिए। यज्ञप्रसाद ओली सामाजिक कार्यमा सक्रिय हुनुका साथै नेपालकै एक लोकप्रिय सामाजिक संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान का केन्द्रीय कोषाध्यक्ष पनि हुन्।
उनी करिब १ अर्ब रुपैयाँको वासलात रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका पनि सदस्य हुन्।
विगत केही वर्षदेखि ओलीले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउँदै आएका छन्। कहिले विपन्न परिवारलाई सहायता, कहिले मठमन्दिर तथा धार्मिक संस्थालाई सहयोग गर्दै आएको उनका नजिकका साथीहरू बताउँछन्।
धार्मिक आस्थासँगै समाजसेवा गर्ने ओलीको यस्तो कार्यले आगामी पुस्तालाई पनि आफ्नो संस्कृति, परम्परा र धर्मप्रति श्रद्धा राख्दै जन्मदिनजस्ता व्यक्तिगत अवसरहरूलाई समाजसेवामा रूपान्तरण गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।































