विनोद सापकोटा
साउन।

गौरीगञ्ज गाउँपालिकाको नाममा सञ्चालित एम्बुलेन्स बिरामी बोक्ने सट्टा टायल्स ढुवानीका लागि प्रयोग गरिएको भेटिएको छ। सोमबार दिउँसो गौरादहबाट फर्किँदै गरेको गाउँपालिकाको प्र.१-०१-००१ झ २४६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर गरिएको जाँचमा २० काटुनभन्दा बढी घरमा प्रयोग हुने टायल्स फेला परेको हो।
स्थानीय सञ्चारकर्मीको भनाइ अनुसार गोप्य सूचनाको आधारमा गरिएको निगरानीपछि एम्बुलेन्समा लुकाएर निर्माण सामग्री राखिएको पुष्टि भएको हो। सो एम्बुलेन्सका चालक दिपेन्द्र गिरीमाथि यसअघि पनि सरकारी सवारीसाधनको दुरुपयोग गरेको आरोप लाग्दै आएको बताइएको छ।
घटनाबारे प्रतिक्रिया दिंदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले एम्बुलेन्सको यस्तो प्रयोग गैरकानुनी भएको स्पष्ट पारे। “एम्बुलेन्स केवल बिरामी बोक्न प्रयोग हुने सवारी हो,” थापाले भने, “यदि दुरुपयोग भएको हो भने तुरुन्त छानबिन गरेर आवश्यक कारबाही हुन्छ।”
नेपालको यातायात व्यवस्था ऐन २०४९ अनुसार, विशेष प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनलाई अन्य प्रयोजनमा प्रयोग गरेमा चालक अनुमतिपत्र खारेजीदेखि आर्थिक जरिवानासम्मको व्यवस्था छ। यदि सार्वजनिक स्रोतबाट खरिद गरिएको सवारीसाधन हो भने भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान हुन सक्ने कानुनी प्रावधान समेत छ।
एम्बुलेन्सजस्ता आपतकालीन सेवाका सवारी साधनलाई गैरकानुनी ढंगले प्रयोग गर्दा बिरामीको ज्यान नै जोखिममा पर्न सक्ने भएकाले यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने स्थानीयबासीको भनाइ छ।
यस घटनापछि स्थानीय नागरिकहरूले गाउँपालिकामा औपचारिक उजुरी दिने तयारी गरेका छन्। अब पालिकाले यस विषयमा कस्तो कदम चाल्छ भन्ने कुराले सार्वजनिक सेवाप्रति जनताको विश्वास कति टिक्छ भन्ने कुरालाई संकेत गर्नेछ।































