योगेन्द्र योगी
बिराटनगर,

सुनसरीका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार ४ मुख्य र १९ सहायक गरी २३ सीमा स्तम्भ हराएको छ। सुनसरीमा भारतसँग जोडिएको सीमा क्षेत्रमा मुख्य ३१,सहायक १४२,सानो ११५ र रिफेरेन्स २ गरी जम्मा २९० सीमा स्तम्भ छन् ।
कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सुनसरीको आर्थिक वर्ष २०८१/८२ मा वंशजको आधारमा १२ हजार ४ सय ९ जना जनाले नागरिकता प्रमाणपत्र लिएका छन् भने १४ हजार ४३ सय ७३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।
बार्षिक प्रतिवेदन अनुसार ७८ हजार ६ सय ८८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ । ३२ हजार ४ सय ४१ जनालाई राष्ट्रिय परिचयपत्र विवरण गरिएको छ भने १२ हजार ८७ जनालाई वितरण गरिएको छ ।
राहदानी तर्फ एक वर्षको अवधिमा १७ हजार २ सय ५४ निवेदन दर्ता भएको छ भने १३ हजार ७ सय ७९ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ।






























