इथियोपिया,

इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग’ गर्नु नहुने स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ । अफ्रिका महादेशमा हाल करिब २८ करोड मानिसहरू भोक, कुपोषण र भोकमरीको गम्भीर जोखिममा छन् ।
गुटेरेसले भिडियो सन्देशमार्फत सम्मेलनमा सम्बोधन गर्दै भन्नुभयो, “भोकले अशान्ति फैलाउँछ र स्थायित्वमा बाधा पु¥याउँछ । त्यसैले हामीले भोकलाई कहिल्यै पनि द्वन्द्वको माध्यम बनाउने कुरा स्वीकार गर्नु हुँदैन ।” उहाँले जलवायु परिवर्तनका कारण बाली उत्पादनमा समस्या, आपूर्ति प्रणालीमा अवरोध, र मानवीय सहायता प्रभावित भएको कुरामा पनि चिन्ता व्यक्त गर्नुभयो ।
गाजामा जारी द्वन्द्वका कारण अहिले त्यहाँको जनसंख्या गम्भीर संकटमा परिरहेको उहाँले बताउनुभयो । दुई करोडभन्दा बढी जनसंख्या भोकमरी र कुपोषणको चपेटामा परिरहेको छ । इजरायलले गाजामा गत मार्च देखि पूर्ण नाकाबन्दी लगाएपछि अवस्था झन् जटिल भएको छ । यद्यपि पछिल्लो समयमा केही राहत सामग्री जान थाले पनि सयभन्दा बढी सहायता संस्थाहरूले ‘गम्भीर भोकमरी’ फैलिरहेको चेतावनी दिएका छन् ।
सम्मेलनको अवसरमा अफ्रिकी संघका कार्यकारी प्रमुख महमूद अली युसुफले हाल अफ्रिकाभर खाद्य संकट गहिरिँदै गएको जानकारी दिनुभयो। उहाँले जलवायुजन्य आपत्, द्वन्द्व र आर्थिक अव्यवस्थालाई यस समस्याको मुख्य कारणका रूपमा उल्लेख गर्दै भन्नुभयो,“आजको दिनमा कति बालबालिका र आमाहरू भोकै सुतेका छन् । यो स्थिति तुरुन्तै समाधानको खाँचो भएको अवस्था हो ।”
उहाँका अनुसार अफ्रिकामा २८ करोडभन्दा बढी मानिसहरू कुपोषणको शिकार भएका छन् र झन्डै ३४ लाख व्यक्ति भोकमरीको गम्भीर जोखिममा छन् । करिब एक करोड मानिसहरू सुख्खा, बाढी र आँधीका कारण आफ्नो घरबार गुमाउन बाध्य भएका छन् ।
युसुफले अफ्रिकी देशहरूले आफ्ना कुल आम्दानीको दश प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, उहाँले अन्तर्राष्ट्रिय साझेदारहरूलाई अफ्रिकी समाधानहरूलाई सहयोग गर्न र अघिल्लो प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्नुभयो ।





























