अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिका–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मंगलबारदेखि तीन दिने वृक्षारोपण कार्यक्रम शुरु गरेको छ ।
गत आर्थिक वर्ष ०८१/०८२देखि शुरु गरेको मानव वन्यजन्तु सहअस्तित्वको लागि वृक्षारोपण कार्यक्रम अन्र्तगत उक्त वृक्षारोपणको आयोजना गरिएको समूहका अध्यक्ष मोहन श्रेष्ठले बताए ।
सामुदायिक वनको ब्लक नं. १अन्र्तगत वन्यजन्तु संरक्षित क्षेत्र हात्ती आहालमा विभिन्न प्रजातीका पाँच हजार बिरुवा रोप्ने समूहको लक्ष्य रहेको छ । समूहले त्यस क्षेत्रमा आँप, केरा, बाँस, कटहर, हात्तीफललगायत प्रजातीका बिरुवाहरु रोप्ने बताइएको छ ।

रोपीएका बिरुवाहरु समूहका उपभोक्ताहरुमार्फत् संकलन गरिएको समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले बताए । कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका कर्मचारी धनपति अधिकारी,अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, समूहका लेखा समिति सदस्य अर्जुन निरौलालगायतको सहभागिता रहेको थियो ।
समूहले यस अघि वन क्षेत्रमा डिभिजन वन कार्यालय झापाको समन्वयमा २६ सय वटा श्वेत चन्दनको बिरुवा, डिभिजन वन कार्यालय झापाले उपलब्ध गराएको पाँच सय वटा विभिन्न प्रजातीका बिरुवा र मानव–वन्यजन्तु द्धन्द न्यूनिकरण समितिले उपलब्ध गराएको पाँच सय वटा बाँसको बिरुवा रोपेको बताइएको छ ।































