पछिल्लो समय कोशी प्रदेशमा हरेक दिनजसो भएको सवारी दुर्घटनामा एकजनाभन्दा बढीको मृत्यु भइरहेको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोशी प्रदेशका चौध वटा जिल्लामा आर्थिक वर्ष ०८१÷०८२ मा चार सय अठाह्र जनाको मृत्यु भएको छ । त्यस अवधिमा भएका दुर्घटनामा परी सात सय एघार जना गम्भीर तथा आठ हजार पाँच सय तीन जना सामान्य घाइते भएका थिए । अध्ययनले सवारी दुर्घटनामा चालकको लापरवाहीलाई मुख्य कारण रहेको देखाएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियमका बारेमा चालक सवारीमा सवार यात्रु र पैदलयात्रीलाई प्रशिक्षण दिइरहन्छ । त्यस्तै विद्यार्थी, अभिभावक तथा सडक यात्रीलाई विद्यालयमा गएर सचेतना दिने गरिएको छ । अनि पनि दुर्घटना बढिरहेको छ ।

त्यसो त सवारी दुर्घटना विविध कारणहरु जिम्मेवार हुन्छन् । तर, त्यसमध्येको प्रमुख कारण चाहिँ लापरवाहीपूर्वक सवारी चलाउनु नै हो । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार कोशीमा भएका दुर्घटनामा त्रिपन्न प्रतिशत तीव्रगतिका कारण भएको छ । चालक लापरवाहीले सोह्र प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले बाह्र प्रतिशत, मादकपदार्थ सेवनका कारण दश, बिना लाइसेन्स सवारी चलाउनेहरुका कारण सात प्रतिशत रहेको अध्ययनले देखाएको छ । प्रदेशका पहाडी क्षेत्रमा जथाभावी र अवैज्ञानिक तरिकाले सडक खन्ने प्रवृत्ति पनि सवारी दुर्घटनाका कारण बन्न थालेका छन् । त्यस बाहेक प्रतिष्पर्धाको भावनाले र क्षमताभन्दा बढी यात्रु चढाउने लगायतका कारण पनि दुर्घटनामा जिम्मेवार रहेको अध्ययनले देखाएको छ ।
कुनै पनि दुर्घटना कसैका लागि पनि सुखद् हुँदैन । दुर्घटनाले शारीरिक, भौतिक, आर्थिक क्षति त हुन्छ नै त्यस बाहेक ज्यानै जाने अवस्था ल्याउँछ । त्यसलाई रोक्न सवारी चालक सावधान हुनुपर्छ र मादक पदार्थ अझ हिजोआज लागूपदार्थ सेवन जस्ता कारण पनि सवारी दुर्घटनाका कारण बनिन थालेका छन् । मौसमका कारण पनि यदाकदा सवारी दुर्घटना हुने गरेका सन्दर्भमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन जरुरी छ । त्यस्तै सवारी चालक अनुमति दिने विविध र पद्धति पनि परिमार्जित गर्दै दक्ष नभई सडकमा आउन रोक लगाउनुपर्छ । त्यसैगरी सडकको मर्मतसम्भार, सीसी क्यामेरा जडान, टाइम कार्डको प्रयोग र चेकजाँचमा कडाइ गरेर सडकमा हुने दुर्घटनाको भयावहता कम गर्न सकिन्छ । त्यसो भए मात्र हाल भइरहेको दुर्घटनाको जोखिम कम गर्दै सडक सुरक्षित गर्न सकिन्छ ।




























