मानव तस्करी रोक्न सामुहिक प्रयास

0
76

भिजिट भिसाको आवरणमा मानव तस्करी हुन थालेको दुई दशक भइसकेको छ । २०६४ सालदेखि मानव तस्करीको सृंखला शुरु भएको र यसको जालो तोड्न जरुरी भइसकेको छ । आर्थिक लाभका लागि विभिन्न प्रलोभन देखाएर धन आर्जन गर्ने बढ्दो प्रवृत्तिले देशको साख, गौरव र गरिमामा आघात पुगेको छ । भिजिट भिसाका नाममा हुने आपराधिक क्रियाकलापले देशको प्रतिष्ठामा आघात पुग्दा पनि सरकार भने चुपचाप देखिएको छ । सरकारको यस्तो लापरवाहीले मानव तस्करीको जालो झन बलियो हुन थालेको दिनहुँ सार्वजनिक भइरहेका समाचारले पुष्टि गर्दछ । भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको भन्दै उच्चस्तरीय छानविन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत डेढ महिनादेखि संसद बहिष्कार गरिरहेका छन् । तर, सरकार टालटुले समिति बनाएर पन्छिएको छ ।

स्वदेशमा रोजगारको अवसर नपाएका नेपाली युवा परिवारको आवश्यकता पूरा गर्न विदेश जान लालायित छन् । यो मानवीय आवश्यकता पनि हो । त्यही आवश्यकतालाई वैदेशिक रोजगारीका निम्ति खुलेका म्यानपावर कम्पनी समाजकै टाठाबाठा, अध्यागमन विभागका कर्मचारी, गृहमन्त्रालयको उपल्लो तह र एयरलाइन्स कम्पनीहरुको मिलेमतोमा मानव तस्करी भएका घटना सतहमा छन् । केही अनुसन्धानकै प्रक्रियामा रहेकाले यसको सत्यतामा शंका गर्न सकिँदैन । मानव तस्करीका लागि भारतको बाटो प्रयोग गर्ने गरेका घटना पनि प्रकट भएका छन्, यसले दलाल, ठगहरु त्यहाँ पुगेर आकर्षक तलबको काम पाउने प्रलोभनमा पारेर नेपाली युवा–युवतीलाई विदेश पु¥याउन सफल भएका छन् । मानव बेचबिखन मानवीय तथा सामाजिक दृष्टिले पनि घृणित र निन्दनीय कार्य हो । एउटा मानिस आफ्नो परिवार, समाज र राष्ट्रसँग जोडिएको हुन्छ । ऊ विचौलिया वा अन्य व्यक्ति र संस्थाको प्रलोभनमा परेर अवैध बाटो अख्तियार गर्न पुग्छ भने त्यसबाट परिवार, समाज हुँदै राष्ट्र नै प्रभावित हुन्छ ।

देश त्यसै पनि अयोग्य राज्य सञ्चालकका कारण भ्रष्ट देशको सूचीमा पुगेको छ । यद्यपि प्रमाणले राज्य सञ्चालकहरु दोषी ठहरिएका छैनन् । तर, देशको सुव्यवस्था, सुशासन र समुन्नति उनीहरुकै दायित्व हो । वैदेशिक रोजगारीका नाममा हजारौं नेपाली चेलीहरु शारीरिक, मानसिक तथा यौन शोषणमा परेका समाचार आइरहेका छन् । यसले राष्ट्रिय अस्मिता नै बिटुलिएको छ । खासगरी भारतसँगको खुला सीमानाका कारण निर्वाध चलिरहेको यस्तो कुकृत्य रोक्ने जिम्मेवारी सरकारकै हो । त्यसका लागि सरोकारावाला तथा नागरिक समाजको समेत भूमिका हुनुपर्छ । यस्तो सामुहिक तथा सहकार्यबाट मात्र यस्तो जघन्य अपराध नियन्त्रण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here