नमूना कृषक प्रदीप खनाल

0
58

प्रधानमन्त्रीले भन्ने गरेको सुखी नेपाली समृद्ध नेपालको कुरा पूरा हुनेमा नेपाली आशावादी त छैनन्, तर झापा बिर्तामोडका एक किसानले भने गरेर देखाएका छन् ।

बिर्तामोड–७ का किसान प्रदीप खनालको पौरख यसबेला घरको भान्सादेखि सामाजिक सञ्जालका भित्तासम्म चर्चाको विषय बनेको छ । ठेक्कापट्टाको काम छाडेर कृषिमा भविष्य खोज्न हिँडेका युवा किसान खनालले अहिले वार्षिक दुई करोडभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले लगाएको तरकारी मध्ये बोडीमात्रै दैनिक पाँच सय किलो उत्पादन भइरहेको छ । अरुको जमिन ठेक्कामा लिएर व्यावसायिक खेती गरिरहेका पौरखी खनालसँग अहिले पैंतालीस बिगाहमा धान, फलफूल र विभिन्न जातका तरकारी बारी छ ।

ठेक्काको काम छाडेर व्यावसायिक कृषि फर्म थालेका खनालको कृषि फर्ममा पच्चीस जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस बाहेक पनि धेरैले अप्रत्यक्ष रुपले उनको फर्मबाट लाभ लिइहरेका छन् । उनको सोच, अठोट र कर्मले अरु युवाहरु प्रोत्साहित हुनसके कृषि निर्वाहमुखीबाट व्यावसायिक हुन समय लाग्दैन । तर, त्यसका साथ, सहयोग, सिञ्चाइको प्रबन्ध र बजारीकरणको व्यवस्था राज्यले गर्नुपर्छ । कुरा चाहिँ गर्ने तर समयमा मल, बीऊ सिञ्चाइ तथा बजार सुनिश्चितता नगर्ने हो भने कृषि क्रान्ति सम्भव हुँदैन । कृषि क्रान्तिबिना न नेपाली सुखी हुन्छन् न त देशले समृद्धिको यात्रा तय गर्छ । हाम्रो भूगोलको जटिलता, आर्थिक अवस्था र प्रविधिको अभावका कारण एक त औद्योगिक क्रान्ति गर्न कठिन छ त्यसमाथि अस्थिर राजनीतिक अवस्था र दृष्टिकोण बिनाका राज्य सञ्चालकहरुसँग प्रतिबद्धता छ ।

खनालको बारीमा उत्पादित बोडी टिप्न भ्याइ–नभ्याइ छ । उनले हाम्रो कृषि फार्म नाम राखेर उत्पादन गरेको बोडी लगायतका तरकारी यतिबेला बिर्तामोडका पसलहरुमा उपलब्ध छ । कृषि कर्मलाई उत्साह दिन र टेवा पु¥याउन बिर्तामोड नगरपालिकाले प्रबद्र्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री गरिन्छ । उत्पादित तरकारी नगरपालिकाले विषादीको अवशेष जाँच गरेर मात्र बजारमा पु¥याइन्छ । तरकारी बाहेक धान, अम्बक, बयर समेत लगाइएको छ ।

वार्षिक करोडभन्दा बढी आम्दानी गरिरहेका किसान खनाल आफ्नो कर्मप्रति उत्साहित छन् भने उपभोक्ताले पनि स्वदेशी, ताजा र खान योग्य तरकारी खान पाएका छन् । सरकारले कृषि कर्मलाई प्रवद्र्धन गर्ने हो भने हाम्रो गुमेको आत्मनिर्भरता फेरि यही पेशाबाट आर्जित गर्न सकिन्थ्यो । रेमिट्यान्स निर्भर अर्थतन्त्रलाई स्वनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ । यसको उदाहरण भएका छन्– प्रदीप खनाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here