अर्जुनधारा ।

निजी तथा आवासीय विद्यालय संगठन नेपालले आव्हान् गरेको देशव्यापी आन्दोलन कार्यक्रम अन्र्तगत प्याब्सन अर्जुनधाराले बिहीबार अर्जुनधारा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकमा उल्लेखित केही विषयहरु अमान्य भएको भन्दै प्याब्सन, एनप्याब्सन र सरोकारवाला संस्थाहरुको गत साउन २७ गतेको सम्पन्न बैठकबाट साउन २९ गतेदेखि भदौ ७ गतेसम्म आन्दोलन कार्यक्रम गर्ने निर्णय भएको थियो ।
प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सदस्यहरु कुमार राया, दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमलगायतको नेतृत्वमा अर्जुनधारा नगरपालिकामा पुगेको संयुक्त टोलीले नगर उपप्रमुख खड्गमाया पराजुली र शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख हरीबहादुर कवरलाई उक्त ज्ञापन पत्र बुझाएको सचिव ताराप्रसाद नेपालले जानकारी दिए ।
निजी विद्यालयहरुलाई क्रमश गैह्र नाफामूलक बनाइने भन्ने वाक्यांश हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्र्तगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्नेलाई प्याब्सनले तत्काल सच्याउनुपर्ने विषयहरुका रुपमा ज्ञापन पत्रमा उल्लेख गरेको छ ।































