बिर्तामोड । अखिल नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा सुरेश आले चयन भएका छन् । महासंघ झापाको दोस्रो जिल्ला सम्मेलनबाट आलेको नेतृत्वमा समिति गठन भएको हो ।
बिहीबार बिर्तामोडमा सम्पन्न सम्मेलनबाट आलेको नेतृत्वमा ३१ सदस्यीय समिति चयन गरिएको हो । समितिको उपाध्यक्षत्रयमा हरि बस्नेत, प्रवेश कुमार श्रेष्ठ (राजु) र पंकज शेर्पा चयन भएका छन् । सचिवमा सुरेन्द्र गिरी, सह सचिवमा पुरन भण्डारी र कोषाध्यक्षमा गंगा तुम्बापो चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङले युवाले खेलकुद मार्फत राजनीतिमा जोडिनु पर्ने बताए । नेपाललाई विश्वमा चिनाउने विभिन्न विधामध्ये खेलकुद पनि एक भएको बताउँदै यसको विकासमा राज्य लाग्नु पर्ने बताए । तामाङले खेलकुद स्वास्थ्यका लागि मात्र नभइ यसले अनुशासन लाई पनि सँगै अगाडि बढाउने बताए । मुलुकको विकासका लागि युवा शक्ति एकजुट हुनु पर्ने मातामाङले जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले सबै युवाहरु खेलकुदमा जोडिएर अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बिर्तामोड इञ्चार्ज कुवेर श्रेष्ठ (अरुण), प्रदेश सदस्य डिल्ली घिमिरे (हिक्मत), अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज मदन खड्का लगायत नेता कार्यकताहरु सहभागी थिए ।
निर्वतमान अध्यक्ष राजु दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रम वर्तमान सचिव सुरेन्द्र गिरीले सञ्चालन गरेका थिए ।































