मेरो भ्वाइस युनिभर्स– सिजन २ को फाइनलमा पुग्न सफल नेपालकै एकमात्र प्रतिष्पर्धी बुद्धशान्तिका प्रशान्तलाई जिताउन अपिल

0
224

झापा, विश्वभरका नेपाली प्रतिभाहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स– सिजन २” को फाइनलमा पुग्न सफल नेपालकै एकमात्र प्रतिष्पर्धी झापा बुद्धशान्तिका प्रशान्त पोखरेललाई जिताउन अभियान नै थालिएको छ । बुद्धशान्ति ३ का १८ वर्षीय प्रशान्तलाई जिताउने देशव्यापी अभियानको अगुवाई बुद्धशान्तिबासीहरुले गरेका छन् ।

स्थानीय समाजसेवी मदन प्रसाईको संयोजकत्वमा प्रशान्त पोखरेल जिताऔं अभियान मूल समिति गठन गरिएको छ भने अन्य विभिन्न उपसमिति पनि निर्माण गरिएको छ । ती समितिहरुले प्रशान्तलाई जिताउन आव्हान गर्दै विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । यसक्रममा प्रशान्तले अध्ययन गरेको बुद्धआदर्श माविमा मूल समितिले आज पत्रकार सम्मेलन गरी नेपालको एकमात्र गौरव प्रशान्तलाई तन , मन र धनले जिताउन सम्पूर्णलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै मूल समितिका संयोजक प्रसाईले नेपालका एकमात्र प्रतिष्पर्धी प्रशान्तलाई जिताउन आव्हान गर्दै उनको जित नेपाल र नेपालीहरुको जित हुने बताए । प्रशान्तलाई विजेताको रुपमा सम्मान गर्न आफूहरुले व्यग्र प्रतीक्षा गरिरहेको उनले बताए ।

प्रशान्त पोखरेल जिताऔं अभियानअन्तर्गत जिल्लाभरि विभिन्न कार्यक्रमहरु संचालन गरिने उनले जानकारी दिए । भोलि अग्रजहरुको आशीर्वाद ग्रहण गर्ने र स्थानीय जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरुसंग भेटघाट गरी सहयोगको आव्हान गर्ने कार्यक्रम रहेको उनको भनाई छ । त्यस्तै मूल समितिका सचिव धरणी पोखरेलले आगामी शनिवार हुने फाइनलका लागि अत्यधिक भोट दिएर विजेता बनाउन हार्दिक आव्हान गरे ।

कार्यक्रममा सल्लाहकार समितिका संयोजक चन्द्र भण्डारीले प्रशान्तले जित्दा प्रधानमन्त्री केपी ओली , सभामुख देवराज घिमिरेसहित आम नेपालीले जित्ने हुँदा राजनीतिक दल , संघ संस्थासहित सिंगो देश नै जिताउन लाग्नुपर्नेमा जोड दिए । उनले आफूहरु प्रशान्त पोखरेल जिताऔं अभियानमा लागेकाले अरुलाई पनि त्यस अभियानमा जोडिन अपिल गरे ।

कार्यक्रममा बोल्दै प्रशान्तले आफूलाई अत्यधिक भोट दिएर विजयी बनाउन हार्दिक अनुरोध गरे । त्यस्तै सप्तक संगीत विद्यालय बिर्तामोडका संगीत प्रशिक्षक सरोज वत्सले प्रशान्तले जित्नु भनेको सप्तकले मात्र नभई झापा अनि सिंगो देशको जित हुने भएकाले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको फाइनलमा पुग्न सफल प्रशान्तलाई जसरी भएपनि जिताउन अपिल गरे । प्रशान्त सप्तक संगीत विद्यालयका विद्यार्थी हुन् । उनीसहित अभिजित अधिकारी र उदास शंकरले मेरो भ्वाइस युनिभर्स– सिजन २ मा भाग लिएका थिए । अधिकारी टप टेनबाट बाहिरिएका हुन् । प्रशान्तका लागि भोट माग्दै अभिजितले प्रशान्तको जितलाई आफ्नो पनि जितको रुपमा लिने बताए ।

युवराज पोखरेल र टीका पोखरेलका दुई छोरा र एक छोरीमध्ये प्रशान्त कान्छा छोरा हुन् । उनले नर्सरीदेखि कक्षा ८ सम्म कान्तिपुर विद्या सदनमा अध्ययन गरेका थिए । त्यसपछि कक्षा ९ देखि १२ सम्म उनले बुद्धआदर्श माविमा अध्ययन गरेका हुन् । भर्खरै भएको कक्षा १२ को परीक्षामा उनी उत्तीर्ण भएका छन् । सप्तक संगीत विद्यालयमा उनले विगत ६ वर्षदेखि संगीत सिक्दै आएका छन् । शास्त्रीय संगीतमा दख्खल भएका प्रशान्तले सारेगम प च्याम्प , द भ्वाइस अफ नेपाल जस्ता प्रतियोगितामा भाग लिएका थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेरो भ्वाइस युनिभर्स– सिजन २ को फाइनल भदौ ७ गते शनिवार रहेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले सो प्रतियोगिता आयोजना गरेको हो ।

पत्रकार सम्मेलनको संचालन मूल समितिका मिडिया संयोजक रोशन भट्टराईले गरेका थिए । मेरो भ्वाइस युनिभर्स सिजन २ को फाइनलमा ६ जना पुगेका छन् । प्रशान्तसंगै कतार , हङकङ , सिक्किम , दार्जिलिङ र जापानका अन्य पाँचजना नेपाली फाइनलिस्ट बनेका हुन् । प्रशान्तलाई एसएमएस र एपमार्फत भोट गर्न सकिने छ । एसएमएसमार्फत MVU˂space˃ 08  लेखेर 37000 मा पठाउनुपर्नेछ ।

त्यस्तै एपमार्फत MY INTRA  एप डाउनलोड गरी mero voice universe  मा गई प्रशान्त पोखरेलमा क्लिक गर्नुपर्ने छ ।
विजेताले एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here