झापा , झापाको बिर्तामोड–५ स्थित शनिश्चरे रोडमा रहेको ईसा बुक्स एण्ड स्टेशनरीको आयोजनामा आजबाट तेस्रो किताब मेला सुरु भएको छ ।
पुस्तकप्रेमी र विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको यस मेलामा विभिन्न विधागत तथा विषयका पुस्तकहरू १० देखि ३० प्रतिशत छुटसहित उपलब्ध गराइएका छन् ।
मेलामा बालबालिकादेखि लिएर विद्यार्थी र साहित्यप्रेमीलाई उपयोगी हुने पाठ्यपुस्तक, कथा–उपन्यास, कविता संग्रह, सन्दर्भ पुस्तक र प्रतियोगी परीक्षाका तयारी पुस्तकहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । मेला आयोजक तथा ईसा बुक्सका सञ्चालक केशव प्रसाद मैनालीका अनुसार आजबाट सुरु भएको यो किताब मेला आउँदो असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।
“पढौँ, पढाइले सोचको दायरा फराकिलो बनाउँछ भन्ने उद्देश्यका साथै, विशेष गरेर पठन संस्कृतिको विकास र छुट्टीको समयमा पनि पाठकहरूमा पढ्ने बानीको विकास होस् भन्ने उद्देश्यले यो किताब मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
उहाँले विगतका वर्षहरूदेखि नै ईसा बुक्स एण्ड स्टेशनरीले नियमित रूपमा किताब मेलाको आयोजना गर्दै आएको र यस वर्ष पनि स्थानीय पुस्तकप्रेमीलाई पुस्तकप्रतिको रुचि बढाउन र पढाइ संस्कृतिलाई प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो बताउनुभयो ।
मेलामा आउने पुस्तकप्रेमीका लागि १० देखि ३० प्रतिशत छुट, आकर्षक उपहार र विभिन्न पुस्तकहरूमाथि विशेष अफरको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मेला अवधिभर स्थानीय लेखक–साहित्यकारको सहभागिता र पाठकहरूसँग पुस्तकको महत्वबारे अन्तरक्रियात्मक छलफल समेत हुने बताईएको छ ।































