राजनीति जागीर होइन सेवा हो

0
62

नेपाल भर्खरै असफल राष्ट्रको सूचीमा पर्न सक्ने भयावह संकटबाट थोरै टरेको छ । तर, सडकमा उर्लिएको भीडले राष्ट्रिय सम्पदा, उद्योग, पसल, बजार र नागरिकका घर ध्वस्त पा¥यो । जनताको जीवन असुरक्षित भयो । केही दिन यस्ता थिए, जब साधारण मानिसले पनि सोचे–राष्ट्र ढल्न सक्छ ! आफ्नै आँखाले उनीहरूले देखे, दशकौंको पसिना क्षणभरमै खरानीमा परिणत भएको दृश्य ।

जेन जेड पुस्ताले उठाएको आवाज गलत थिएन । त्यो आक्रोशमा विद्रोहभन्दा बढी न्यायको माग थियो । तर, सरकारको दम्भ र गलत तत्वहरूको प्रवेशले आन्दोलनलाई बिगा¥यो, विध्वंस गरायो अनि मुलुककै संरचना हल्लिने अवस्थामा पु¥यायो । निर्दोष युवाहरू आहुति भए । परिवर्तन आवश्यक थियो, तर मुलुकमा अकल्पनीय मानवीय, आर्थिक एवम् भौतिक बिनास गराइयो ।

यस्तो संवेदनशील घडीमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई अडेसो लिएर दृढ निर्णय गरे, जेन जेड पुस्ताको भावनालाई सम्बोधन गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरे । सेना पनि संवैधानिक दायराभित्र सीमित रह्यो र सुरक्षामा खडा भयो । यदि त्यो समय संविधान बाहिर गएको भए, नेपालले आज आफ्नो पहिचान गुमाइसक्थ्यो ।

संकटको बीऊ केबल नयाँ पुस्ताको विद्रोहमा थिएन । दशकौं सत्तामा बसेका नेताहरूको असफलतामा थियो । उनीहरूले पद र स्वार्थलाई राष्ट्रभन्दा ठूलो ठाने । न्याय किनबेचको वस्तु बन्यो, ठेक्का भागबन्डाको खेलमा सीमित भयो, कमिशनकै आधारमा नीति बन्न थाल्यो । किसान घाटामा डुब्न बाध्य भए, युवाले रोजगारी नपाएर विदेश पलायन हुन थाले, सामान्य नागरिकलाई न्याय पाउनै कठिन भयो । जब यस्तो अवस्था लामो समयसम्म रह्यो, असन्तोषको ज्वालामुखी अन्ततः विस्फोट भयो ।

निश्चय नै कसैको घर जलाउनु, व्यक्तिगत सम्पत्ति नास गर्नु वा हिंसा गर्नु अपराध हो । तर, आन्दोलनका दिन नेताहरूको घरभित्र देखिएका जलिरहेका नोटका बन्डलहरू– यदि झुठा होइनन् भने– के हुन् ? कहाँबाट आयो ? जनताको आक्रोश अकारण थिएन, त्यो भ्रष्टाचार र लुटतन्त्रको परिणाम थियो ।

जेन जेड पुस्ताको आन्दोलनलाई केबल अराजकता भनेर बुझ्नु ठूलो भूल हुन्छ । त्यो दशकौंको बेवास्ता र असमानताको प्रतिवाद थियो । जब कानून शक्तिशालीका लागि मात्र खुला हुन्छ, राज्यको शक्ति दमनमा प्रयोग हुन्छ र जनताको आवाजलाई बेवास्ता गरिन्छ, तब सडक नै अन्तिम विकल्प बन्न पुग्छ ।

तर, आक्रोशले मात्र मुलुक जोगिँदैन । संविधानको दायरामा मात्र भविष्य सुरक्षित हुन्छ । यस पटक राष्ट्रपति, प्रधानमन्त्री र सेनाको संवैधानिक निष्ठाले मुलुकलाई असफल राष्ट्र बन्नबाट जोगायो । यो घटनाले दिएको सन्देश स्पष्ट छ– संविधान नै जीवनदायिनी शक्ति हो । सांसदको जागिर, मन्त्रीको पद, नेताको सत्ता क्षणिक हुन्, तर संविधान गुम्यो भने राष्ट्र नै हराउँछ ।

बिध्वँसले अर्थतन्त्रमा गहिरो चोट पु¥याएको छ । उद्योग, व्यवसाय, पसल र वर्षौंको लगानी खरानी बनेको छ । निजी लगानीकर्तामा निराशा फैलिएको छ– ‘सुरक्षा नभएको ठाउँमा कसरी लगानी गर्ने ?’ भन्ने प्रश्न अझ गम्भीर बनेको छ । जसले रोजगारी सिर्जना गर्थे, कर तिर्थे र अर्थतन्त्रलाई चलायमान बनाउँथे, उनीहरू सुरक्षित महशुस गर्न सकेनन् भने भविष्यको सम्भावना पनि खरानी हुन्छ ।

अझ विडम्बना, नेताहरूका महल समेत आक्रोशको निसाना बने । अंकुत सम्पत्ति खरानी हुँदा जनतामा प्रश्न थियो– नेताले आफ्नै सम्पत्ति जोगाउन सकेनन् भने, साधारण नागरिकको सुरक्षाको ग्यारेन्टी कसरी गर्छन् ? यसले शासन प्रणालीको असफलता र नेताहरूको संवेदनहीनता उजागर गरिदियो ।

अब मुलुकले असफल नेतृत्वलाई अवकाशमा पठाउनै पर्छ । पुरातन पन्थी भ्रष्ट नेताहरू जनताको नजरमा चुकेका छन् । उनीहरूले सत्ता आफ्नो स्वार्थका लागि प्रयोग गरे र जनताको विश्वास गुमाए । अब स्वच्छ छवि भएका नयाँ पुस्ताका नेताले अगाडि सरी जनतासँग माफी माग्दै हातेमालो गर्नुपर्छ ।

नेपाल अहिले गम्भीर मोडमा छ । संविधानलाई अडेसो लिएर राष्ट्र त बच्यो । तर, पुनर्निर्माण अझै बाँकी छ । अब न्याय प्रणाली निष्पक्ष बनाउन, भ्रष्टाचार जरैदेखि उखेलेर फाल्न, व्यवसायलाई सुरक्षित बनाउन र स्वदेशी पूँजीलाई जोगाउनै पर्छ । युवालाई रोजगारी, किसानलाई न्यायसंगत मूल्य दिन सकेनौं भने असन्तोष फेरि बढ्छ । त्यसैले संविधानसँगै आर्थिक र सामाजिक न्याय जोडेर अघि बढ्नुपर्छ । महत्वपूर्ण कुरा तोकिएको चुनाव समयमा सम्पन्न गर्नु वर्तमान सरकार को ठूलो चुनौति हो ।

यस संकटले अन्तर्राष्ट्रिय समुदायलाई पनि सन्देश दिएको छ– नेपाल लोकतन्त्र र संविधान जोगाउन कटिबद्ध छ । तर, फेरि नेतृत्व स्वार्थमा डुब्यो भने अन्तर्राष्ट्रिय विश्वास गुम्नेछ, लगानी रोकिनेछ र मुलुक पुनः असफलताको मोडमा धकेलिने छ ।

अब राजनीति जागिर होइन, सेवा हो भन्ने संस्कार बसाल्नुपर्छ । संसद जनताको प्रतिनिधि मञ्च हो, पारिवारिक व्यापारको थलो होइन । संविधानलाई पदभन्दा ठूलो ठान्नुपर्छ । नयाँ पुस्ताको ऊर्जा, प्रविधि र दृष्टि सकारात्मक परिवर्तनमा प्रयोग गर्न सके मात्र मुलुक बलियो हुन्छ ।

संविधानको रक्षा, जनताको सेवा, व्यवसायिक सुरक्षाको ग्यारेन्टी, भ्रष्टाचारको अन्त्य र नयाँ पुस्ताको सक्रिय सहभागिता– यही बाटो हो देश बचाउने । नभए संकट फेरि दोहोरिन बेर छैन । त्यसैले आज हाम्रो साझा आवाज एउटै हुनुपर्छ– राजनीति जागिर होइन, सेवा हो । हामीले यो बेला जागिर बचाउने होइन, संविधान र देश बचाउने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here