
देशमा हालै भएको जेनजी पुस्ताको देशव्यापी आन्दोलनमा देखिएको सहभागीहरुको भीडझैं लागेको थियो महानवमी पर्वको दिन बुधबार साँझ अर्जुनधारा नगरपालिका–११ मिलडाँडास्थित कार्यक्रमस्थलको दृश्य ।
पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको कालीझोडा–मिलडाँडा–सालबारी–खरबन्दी–शनिश्चरे सडक खण्डको पश्चिमतर्फको भागमा निर्माण गरिएको सुन्दर मञ्चमा न कुनै जनप्रतिनिधि, न कुनै राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित छन् । उपस्थित छन् त केवल आयोजक सालबारी मिलडाँडा युवा परिवारका पदाधिकारी तथा सदस्यहरु एवम् कार्यक्रममा मनोरञ्जन लिन पुगेका सहभागीहरु ।
घडीमा ठिक ८ बजेको समयपछि कार्यक्रमकी सञ्चालक अनुमा राईले कार्यक्रमको औपचारिक सञ्चालन गर्ने क्रममा परिवारका अध्यक्ष विजय राईलाई अध्यक्षता गराएपछि प्रमुख अतिथि र अतिथिहरुमा भने क्रमश ज्येष्ठ नागरिकहरु दिव्यराज नेपाल, पवित्रा राना मगर र हर्कराज गिरीलाई मञ्चमा आमन्त्रण गरेकी थिइन् ।

औपचारिक कार्यक्रमहरु निर्धारित समय भन्दा ढिलो गरि सुरु हुने र धेरै समय प्रमुख अतिथि, विशेष अतिथि, अतिथिलगायतको आसन ग्रहणमा खर्चने प्रणालीलाई आयोजकले यस पटक पूर्णरुपमा हटाएको थियो । राजनीतिक दल र राजनीतिक व्यक्तित्वहरुप्रतिको आम नागरिकको निराशाले गर्दा पनि आयोजकले यस शैलीको कार्यक्रम सञ्चालन गरेको सहभागीहरुको धारणा रहेको थियो ।
माथि उल्लेखित दृश्य आयोजक सालबारी मिलडाँडा युवा परिवारले प्रत्येक वर्ष आफ्नो वार्षिक कार्यक्रमकोरुपमा नियमित गर्दै आएको दुर्गा पूजा–२०८२को समापनको अवसरमा आयोजित सांगीतिक कार्यक्रमको हो ।
नेपालीहरुको साझा चाड दशैंको अवसरमा संस्कृतिको निरन्तरतासँगै स्थानीयस्तरमा रहेका कलाकारहरुको प्रतिभालाई प्रबद्र्धन एवम् उजागर गर्दै र गाँउघरमा दशैं आएको संकेत दिने उद्देश्यले संस्थाले यस कार्यक्रमको आयोजना गरेको संस्थापक अध्यक्ष किरणकुमार जबेगुले जानकारी दिए ।
कार्यक्रममा बिर्तामोडस्थित इस्तमाल ब्याण्ड, मेरो डान्स युनिभर्सकी फाइनलिस्ट सुशाना कोइराला, कलाकार फूर्लामु गुरुङलगायत स्थानीय कलाकारहरुले गीत एवम् नृत्य प्रस्तुत गरेका थिए । पूर्व अध्यक्ष ओम मगरले स्वागत गरेको उक्त कार्यक्रममा आयोजक संस्थाको पृष्ठभुमि, गतिविधि र भावी रणनीति बारे संस्थापक अध्यक्ष जबेगुले जानकारी गराएका थिए ।
प्रस्तुतीः अमित खम्बू































