अविरल वर्षाको कहर

0
48

लगातारको वर्षापछि आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा सबैभन्दा बढी क्षति भएको छ । कोशी प्रदेशको इलाम जिल्लामा मात्रै सैंतीस जना भन्दा बढीले ज्यान गुमाउनु परेको छ भने पाँचथर, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा सात जनाको मृत्यु भयो । मौसम विभागको पूर्वानुमान सरकारले गम्भीरतापूर्वक ग्रहण गर्दै उद्धार तथा राहतमा तदारुकता देखाएपछि यसपटकको बाढीपहिरोमा विगतको जस्तो ठूलो मानवीय क्षति हुन पाएन । प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली अझै पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका कारण पीडितहरुले राहतको महशुस गरेको हुनुपर्छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार प्रदेशका विभिन्न स्थानमा बाढीपहिरोमा फसेका पाँच सय पचपन्न जनाको सकुशल उद्धार भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता पोखरेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयम्सेवकहरुको संयुक्त प्रयासमा बाढीपहिरोमा फसेका मानिसहरुलाई सकुशल उद्धार गरिएको बताए । बाढीले गरेको भौतिक क्षतिको विरण आइसकेको छैन तर झापामै खेतमा लगाइएको अन्नबालीमा ठूलै क्षति भएको छ । झापाको दक्षिणी पालिका झापाबाट मात्रै सोह्र जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै इलामको माङ्सेबुङबाट तीन जना घाइतेलाई उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । त्यस्तै सन्दकपुरबाट चार जना घाइतेलाई उपचारका लागि बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

अहिलेको वर्षापछि आएको बाढी र पहिरोका कारण कोशीमा पाँच हजार नौ सय पच्चीस घर प्रभावित भए । जसका कारण झण्डै सत्ताइस हजार जना विस्थापित हुन पुगेको प्रहरी तथ्यांक छ । यस विपत्तिमा परेका केही अझै बेपत्ता नै छन् । मनसुन सकिएपछि परेको अविरल वर्षाले यसपटक नेपालीको ठूलो पर्व वडादशैं प्रभावित हुन पुग्यो । राष्ट्रिय राजमार्ग अवरुद्ध भए, आवागमन रोकियो । कतै सडकमा पहिरो खसेर, कतै सडक भासिएर त कतै सडक नै बगाएर यात्रुहरुले ठूलो सास्ती व्यहोर्नुप¥यो । तर, जेन–जी आन्दोलनपछि बनेको सरकारले समयमै सूचना प्रवाह गरेर र आफ्ना संयन्त्रलाई चलायमान बनाएका कारण क्षति न्यूनीकरणमा सहयोग पुग्यो । त्यसपछिको उद्धार तथा राहतमा देखाएको सक्रियता उदाहरणीय बन्यो । आशा गरौं अब बन्ने सरकार जनताप्रति उत्तरदायी हुनेछ र जनताले सुरक्षित महशुस गर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here