झापा । झापाको बाह्रदशीमा प्रथम बाह्रदशी टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको छ । आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका २१ वटा टिमले सहभागीता जनाएका छन् ।
बाह्रदशी खेलकुद विकास समितिको समन्वय तथा ५ नम्वर वडा खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्रप्रसाद चम्लगाईले गरेका छन् । प्रतियोगिता भूपेन्द्र राजवंशीको अध्यक्षता आयोजित कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
उद्घाटन खेलमा गोल्धाप क्रिकेट टिमले आयोजक टिम ‘ए’ सँग प्रतिस्पर्धा गरेको छ । जसमा ९ विकेटले आयोजक टिम ‘ए’लाई गोल्धाप किक्रेट टिमले पराजित गरेको छ ।
त्यस्तै दोस्रो खेल भागुडुब्बा र आर्दश युवा क्लव बुद्धशान्तिबीच भएको थियो । जसमा ८ विकेटले भागुडुब्बाले जित हासिल गरेको प्रतियोगिताका प्रमुख सल्लहकार पुष्पलाल धमलाले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद ५० हजार पुरस्कार राशिसहित ट्रफी र प्रमाणापत्र प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुने टिमलाई नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने बाह्रदशी खेलकुद विकास समिति सचिव जीवन कुमार धमलाले जानकारी दिए ।
त्यस्तै म्यान अफ दी सिरिजलाई माउण्टेन साइकल प्रदान गरिने बाह्रदशी जेसीजका पूर्व अध्यक्ष खगेन्द्र सुवेदीले बताएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोडले एघार हजार एक सय ११ रुपैयाँ सहयोग गरेको फाउण्डेशनका जनसम्पर्क अधिकारी पुष्पलाल धमलाले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत दोस्रो दिन चार खेल हुनेछन् । भारतको न्यू अभिशेख क्लव/विहीवारे, राजगढ / लक्ष्मीपूर, महमारी / इँटाभट्टा र डीसीसी / अब्सोलुट बीच प्रतियोगिता हुने जनाइएको छ ।

प्रथम बाह्रदशी टी –१० क्रिकेट प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा बाह्रदशी गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष वीरवहादुर राजवंशी, वडा नम्वर ४ वा वडाध्यक्ष महताव आलम सहितका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।





























