अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को क्वाटरफाइनलमा शनिश्चरे फुटबल क्लब (अर्जुनधारा नगरपालिका) र नव विहानी फुटबल क्लब(माई नगरपालिका) पुग्न सफल भएको छ ।
प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो खेलमा जुनतारा फुटबल क्बल(झापा गाँउपालिका)लाई २–० गोल अन्तरले पराजित गर्दै शनिश्चरे क्वाटरफाइनल पुग्न सफल भएको हो ।
शनिश्चरेको जीतका लागि खेलको २४औं र ४८औं मिनेटमा क्रमश श्याम मुर्मु र पेमा तामाङले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका श्याम मुर्मुलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–१ नं. वडाका वडाध्यक्ष उपेन्द्र बस्नेत, आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवालगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार अर्जुनधारा नगर सभा सदस्य शर्मिला सुब्बाले सौजन्य गरेकी थिइन् ।

त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा आरबीएम युनाईटेड फुटबल क्लब(भद्रपुर नगरपालिका)लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नव विहानी फुटबल क्लब क्वाटरफाइनल पुग्न सफल भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । नव विहानीका लागि खेलको १८औं मिनेटमा जनम लिम्बूले र आरबीएमका लागि खेलको ३९औं मिनेटमा मर्कस किस्कुले गोल गरेका थिए ।
खेलका उत्कृष्ट खेलाडी घोषित जनम लिम्बूलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–१ नं. वडाका वडाध्यक्ष उपेन्द्र बस्नेत, शान्ति सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष लक्ष्मी आङदेम्बे लिम्बूलगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिता अन्र्तगत भोली(बिहीबार)को पहिलो खेल विहान १२ बजे सालबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) र खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) तथा दोस्रो खेल दिँउसो २ बजे थोप्ले बिरान फुटबल क्लब(मेचीनगर नगरपालिका) र सातकटेरी फुटबल क्लब(अर्जुनधारा नगरपालिका)बीच हुने आयोजक सचेत युवा समूहका सल्लाहकार मुकुन्द भण्डारीले जानकारी दिए ।

























