जारी उठाउन जादा उल्टै दान !

0
117

२०२४ सालको कुरा हो । त्यतिखेर म भद्रपुरमा जितबहादुर पुरी दाइ कहाँ बसेर आठ क्लासमा रात्रीकालीन कक्षा पढ्दै थिएँ । ‘सङ्ग्रेकी आइमाई त पोइला हिँडी रे’ भन्ने हल्ला कता–कताबाट मेरा कानसम्म आइपुग्यो ।
कहाँ कोसँग पोइला गइन् भनेर खोजी हुँदा पहाडतिरै घर भएका कोही पोख्रेल बाहुनसँग गएकी र अहिले झापाको महारानीझोडामा आएर बसेको भन्ने पत्तो लाग्यो ।
पोइला गएको भन्ने थाहा पाएपछि मेरा मामाहरु मध्येमा सबैभन्दा बाठा कान्छा मामा भगवान् गिरी जारी उठाउनुपर्छ भनेर कस्सिनुभयो । उहाँले बुबालाई पनि ‘कन्भिन्स’ गर्नुभएछ । इलामको गोलाखर्कमा घर व्यवहार भए पनि उहाँ त्यतिबेला अर्को बिहा गरेर झापाको अनारमनीमा पनि बस्नुहुन्थ्यो ।
त्यति बेला महारानीझोडा, गौरादहतिर जानका लागि अहिले जस्तो सजिलो थिएन । घैलाडुब्बा हुँदै झापा बजार निस्केर हुलाकी मार्ग समाउनु पर्दथ्यो । त्यहाँबाट गौरीगञ्ज पुगेर फेरि उँभो लाग्नु पर्दथ्यो । त्यहाँ जानका लागि मामाले मलाई मान्छे पठाएर भद्रपुरबाट बोलाउनुभयो । अनि महारानीझोडा जानका लागि तीन वटा घोडाको व्यवस्था गर्नुभयो । दुईवटा उहाँकैमा थिए, एउटा घोडा हाम्रो आफ्नै थियो ।
एकाबिहानै हामी घरबाट हिँड्यौं । शुरुमा गौरादहमा घर भएका गणेश भारती भन्ने भिनाजुका घरमा पुगेर बास बस्यौं । उहाँलाई मामाले नै सबै कुरा कहनु भयो । त्यसपछि जारी उठाउन जानका लागि लाठा, खुकुरीसहितका पाँच जना लाठेको प्रबन्ध गर्न भन्नुभयो । हामी खाना खाएर त्यहीँ सुत्यौँ ।
‘बिहानै चार बजे गएर जारलाई स्वास्नीसँगै भएका बेला समाउनुपर्छ, नत्र भाग्न सक्छ’ भनेर बेलुकै सल्लाह भएको थियो । हामी बिहान चारै बजेतिर ती जारका घरमा पुग्यौँ र घर घेरा हाल्यौँ ।
काठको एकतले घर रहेछ खरको छानो हालेको, खाँबा कपेर बनाइएको सिँढी । तला माथि मान्छे बस्ने, तल गाईबस्तु बाँध्ने । मामा र अरुहरु तल बसे, मलाई भने माथिल्लो तलामा गएर ढोकामा रुङ्न पठाए ।
हामीले घर घेरा हालेको थाहा पाएपछि त्यो जार ‘गुहार गुहार ! मेरो घर घेरा हाले गुहार !’ भनेर बरण्डामा निस्केर कराउन थाल्यो । भर्खरै झोडा खुलेको ठाउँ, उसका छरछिमेकीहरु साईसाई र सुईसुई सिट्टी फुक्दै ‘खबरदार ! ज्यान मर्ला’ भन्दै लाठी र खुकुरी लिएर एकैछिनमा झुरुप्प जम्मा भइहाले ।
मेरा मामा पनि के कम ! ‘जार खत लिन आएको, जार खत !’ भन्दै कराएरै जवाफ दिन कस्सिनुभयो । त्यसपछि आएका उसका मान्छेहरु अलि मत्थर भए । जार खत भनेको एकदमै खतरा खालको केस हुँदोरहेछ । जारका घरमा जार उठाउन जाने मैले पानी पिउन पनि नहुने, उनीहरुले मलाई दिन पनि नहुने ! जारलाई पक्रँदाखेरी पनि जोडी अवस्थामै समात्नुपर्ने ।
जार खत लिन गएकै भए पनि बुबा, मामा र भिनाजुलाई उनीहरुले माथिल्लो तलामा लगेर खाना खुवाए । मलाई भने मामाले माथि उक्लिन पनि दिनुभएन । मलाई उनीहरुले सिल्बरको थालमा भुटेको खट्टे ल्याएर दिए । पानीबिनाको नुनखोर्सानीसँगको फुको खट्टे के निल्न सक्नु ! जसोतसो भोक मार्ने प्रयास गरेँ ।
खाना खाइ सकेर उनीहरुले बस्तुभाउको काम र घरधन्दा गर्दावर्दा आठ बज्यो । त्यसपछिबाट दुई पक्षबीच कचहरी शुरु भयो । कचहरीमा जारका पक्षबाट छ जना बसे । मेरो पक्षबाट म सहित चार जना थियौँ । पाँच हजारबाट शुरु गरेर दश हजार रुपैयाँ दिनेसम्ममा ऊ पुग्यो तर मेरा मामाले बीस हजारबाट एक कन्ची पनि नछाड्ने अड्डी लिइरहनुभयो ।
घाम शिरमाथि आइपुगे । कचहरी अनावश्यक रुपमा लम्बिइरह्यो । उखरपात गर्मी, भोक र तिर्खाले गर्दा मलाई भने भित्रभित्रै रिस उठ्न थाल्यो ।
बुबा एक शब्द बोल्ने होइन । मामा र भिनाजु चर्को स्वरमा मेरो पक्षमा कस्सिइ–कस्सिई कराएको करायै गर्छन् । यति तोला सुन, यति केजी चाँदी, यतिको लुगा कपडा भन्दै उनीहरु बीस हजार खर्च देखाउँछन्, ऊ भने यसो उसो गर्छ दश हजारको मात्रै हिसाब निकाल्छ ।
दुबै पक्षले एउटै कुरा पटक–पटक दोहो¥याएका छन्, चर्काचर्की गरेका छन्, गरेका छन् । जति छलफल गरे पनि निचोडमा पुग्ने सङ्केत देखाउँदैनन् । दिउँसोको दुई बजेतिर मलाई खपिनसक्नु रिस उठ्न थाल्यो । त्यतिखेर हातमा घडी पनि थिएन । घाम हेरेर समय अन्दाज गर्नुपथ्र्यो ।
एकपटक सबैतिर हेरेँ । बुबा एक शब्द बोल्नु हुन्न । जार बाहुन दश हजारबाट बढ्ने सङ्केत देखाउँदैन । चर्काचर्की लम्बिएको लम्बियै छ ।
‘ओए ? दान थाप्छस् ?’ जारतिर हेरेर मैले आफ्नो झाँेक देखाएँ ।
‘बाहुनको छोरो हो, दान किन थाप्दैन ? दिनुहुन्छ भने थाप्छ ।’ उसका पक्षका मानिसहरु एक स्वरमा बोले ।
‘हन भाञ्जा, यो तिमी के भन्दैछौ ?’ मामा म तिर फर्केर सोध्दै हुनुहुन्थ्यो । उहाँका कुराको वास्तै नगरी मैले भनेँ– ‘लु जा, म पैसा दिन्छु । गाईको बाच्छी खोजेर लिएर आइज । त्यसको पुच्छर समातेर म तँलाई स्वास्नीदान दिन्छु ।’
त्यतिबेला कहाँबाट मलाई त्यसो भन्न आयो, अहिले सम्झँदा पनि अचम्म लागेर आउँछ ।
कचहरी भाँडेकोमा बुबा, मामा र भिनाजु म सँग असाध्यै रिसाउनुभयो । यत्रा–यत्रा आँखा पारेर मलाई हेर्न थाल्नुभयो ।
म चाहिँ उहाँहरु भन्दा झन् धेरै रिसाइदिएँ । भनेँ– ‘आँखा फुकालेर नहेर है । मलाई असाध्यै रिस उठिसक्यो ।’
उता जारपट्टिका मानिसहरुमा भने छुट्टै प्रसन्नता छायो । जारी खत नतिरी आफ्नो मान्छेले मुक्ति पाउने भयो भनेर उनीहरु दङ्ग बने । जार त झन् त्यसै खुशी हुने भइगयो ।
‘हैन, तिमी के गर्न खोज्दैछौ ?’ मामाले मलाई रोक्न खोज्नुभयो ।
‘जारले बोलेपछि जारको खटन हुन्छ याँ । बीचमा अरु बोलेर काम छैन ।’ खुशीले दङ्ग बनेका उसका मान्छेहरु पनि मेरै पक्षमा बोल्न थाले । उनीहरुले बुबा, मामा र भिनाजुको मुख बन्द गरिदिए ।
त्यतिखेर मैले मुसाले लगेको धान खोजेर साढे पाँच रुपैयाँ मनले बेचेको थिएँ । चिया दोकान गर्दाको पैसा समेत गरी त्यतिबेला म सँग डेढ सय रुपैयाँ जति थियो ।
भारु दशका पाँच वटा नोट दिँदै जारलाई भनेँ– ‘ला पैसा, एउटा बाच्छी खोजेर ले ।’
’कस्तो रङको ल्याउनु ?’ हिँड्नै लाग्दा उसले सोध्यो । जवाफमा म बोलेँ– ‘लाल रङको ले । लाल रङको ।’
उसले एकैछिनमै भने जस्तै बाच्छी लिएर आयो र बीस रmपैयाँ फिर्ता पनि ग¥यो । मैले बाच्छीको पुच्छर समातेँ अनि भुइँको एकमुठी माटो टिपेर भनेँ– ‘लआओ, म तिमेरलाई यही माटोको टिको लगाइदिन्छु ।’
जारी खत तिर्नु नपर्ने भएपछि प्रसन्न भएका उनीहरु दुबै जनाले पालैपालो निधार थापे । तिनलाई माटाको टीका लगाइदिँदै भनेँ– ‘अब तिमेरले राम्ररी गरी खानु । आजदेखि तिमीहरुलाई कुनै खत छैन । म तिमीहरुसँग कुनै प्रकारको खत दावी गर्दिनँ । तिमीहरुको भविष्य राम्रो होस् । ल अब म गएँ ।’
यति भनेर म आफ्नो घोडा भएतिर गएँ र चढेर आफ्नो बाटो लागेँ । मामा, बुबा र भिनाजु कता गए, केही वास्तै गरिनँ ।
अलि वर्तिर आएपछि उसका छिमेकीले भनेपछि पो थाहा पाएँ, किनेर ल्याएको भनेको बाछी त उसको आफ्नै पो रहेछ ! जारी तिराउन गएको म सँगबाट उसले उल्टो तीस रुपैयाँ नाफा पो गरेछ !
त्यहाँबाट हिँड्दाखेरी बेलुकी भइसकेको थियो । म घोडाको यात्रा गर्दै घैलाडुब्बाभन्दा अलि तल डिल्लीराज गनगाईको घर भएको ठाउँमा आइपुगेँछु । त्यहाँ आइ पुगेपछि झमक्कै रात प¥यो । बास मागेको, पहाडेलाई के को बास दिन्थे ? रात परेपछि उनीहरु आफ्नो गाउँमा अन्जान कसैलाई पनि पस्न दिँदैनथे ।
‘पाहाडिया लाआसे, हिती रोबाको, हिती रोबाको ।’ भन्दै स्कूलको छाप्रोतिर देखाए ।
उनीहरुले आफ्नो घरमा बास नदिए पनि ओढ्ने–ओछ्याउने कपडा र घोडा बाँध्ने पगाहा दिए । खानका लागि साँधेको मुरै एक थाल ल्याएर दिए । दिउँसो पनि राम्रोसँग खान पाएको थिइनँ, त्यो मुरैले के भोक टर्नु ! जसोतसो रात काटेँ ।
भोलिपल्ट बिहान उठेर घर आएँ र घोडालाई पगाहा लगाइदिएँ । आमाले के–के भयो भनेर सोध्नु भयो । मैले भएको इतिवृत्त बताइदिएँ ।
“हन, तैँले के गरेको त्यस्तो ?अबतँलाई बाउले कुटेर मार्छन् ।” आमाचिन्तितहुनुभयो । जवाफमा मैले “मारुन् कि जे गरुन्, मैले त लागेको गर्दिएँ ।” भनेँ ।
‘तँलाई चाहिने कुरो गर्न त कहाँ आउँछ र ? जहिल्यै उपद्रो मात्रै त गर्छस् नि ।’ आमाले चिन्ता प्रकट गर्नुभयो ।
दुई दिनपछि बुबा पनि आउनुभयो । उहाँले मलाई केही भन्नुभएन । त्यसपछि पढ्न भनेर म लागेँ भद्रपुरतिर ।
त्यतिखेर भद्रपुरमा जितबहादुर पुरी दाइ बस्नुहुन्थ्यो । उहाँलाई पदमबहादुर मामाले हिमालयन राइस मिलको क्यासियर बनाएर राख्नुभएको थियो । म सरासर उहाँ कहाँ गएँ ।
दाजुले के–के भयो भनेर सोध्नुभयो । मैले उहाँलाई पनि भएको कुरा बताइदिएँ । ‘तैँले त्यसो गर्नु हुँदैनथ्यो, बुबा र मामाले भनेको मान्नुपथ्र्यो ।’ उहाँले चिन्तित हुँदै भन्नुभयो– ‘अब सानो बुबा र मामा म सँग पनि रिसाउनुहुन्छ होला । तैँले मलाई पनि गाली खुवाउने भइस् ।’
मैले उहाँको कुराको वास्ता गरिनँ । भोलिपल्टदेखि नियमित स्कूल जान थालेँ ।
(गिरीको पुस्तक मैले रोजेको बाटोबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here