
‘डाक्टर केवल रोगीको शरीर निको पार्दैन, ऊ समाजको आत्मालाई पनि उपचार गर्छ ।’
जीवन र यात्राको प्रारम्भ
बिर्तामोडको उत्तर भागमा अवस्थित एउटा साधारण भवन– ‘सिन्हा क्लिनिक’ जहाँ बिसौं वर्षसम्म मानवीय सेवाको उज्यालो बलिरह्यो । यही भवन, यही मुस्कान र यही हातका औषधिहरू बिस्तारै ‘डा. एम. सिन्हा’, जसलाई सबैले सिन्हा डाक्टर भनेर श्रद्धापूर्वक चिन्थे, नामको पर्याय बने । दार्जिलिङको शिक्षा र अनुशासनप्रेमी परिवारमा जन्मिएका सिन्हा डाक्टरले आफ्नो प्रारम्भिक चिकित्सा अध्ययन भारतमै पूरा गरी सीमापारको यो शहरलाई आफ्नो कर्मभूमि बनाए । बिर्तामोडले उनलाई अपनायो र उनले बिर्तामोडका आम नागरिकलाई ।
बुवासँगको सम्बन्ध
शिक्षासेवी हरि प्रसाईंले उहाँलाई पहिलो पटक बुवासँग चिनजान गराउनुभएको थियो । त्यसपछि डा.सिन्हा हाम्रो घरमा निरन्तर आउनुहुन्थ्यो– कहिले रोगीको सल्लाहका लागि कहिले मित्रताको आत्मीय भेटका लागि । बुवासँगको उहाँको सम्बन्ध केवल चिकित्सक र बिरामीको सीमामा थमिएन, त्यो सम्बन्ध ज्ञान, सेवाभाव र मानवीय संवेदनाको गहिरो पुलमा परिणत भयो ।
डा. सिन्हा बिर्तामोडका चिकित्सक मात्र होइन, एक युगका ‘मानव–सेवक’ थिए । शान्त स्वभाव, गहिरो दृष्टि र हरेक रोगीप्रति स्नेहपूर्ण व्यवहारले उहाँलाई ‘डाक्टर भन्दा पनि आत्मीय साथी’ बनायो ।
बुवाले धेरैपटक भन्नुहुन्थ्यो–
‘डा. सिन्हा जस्ता मानिसहरूसँग भेट हुँदा मलाई चिकित्सकभन्दा पनि ‘सेवक’ शब्दको अर्थ बुझेको जस्तो लाग्छ ।’
सेवा–भाव र पेशागत योगदान
उहाँको क्लिनिक अस्पतालभन्दा फरक थियो– न गेटमा जटिल नियमहरू न बिरामीसँग दूरी । ‘पहिले सुन्ने, त्यसपछि औषधि दिने’ भन्ने उहाँको शैली नै उहाँको पहिचान बन्यो । दिनको सुरुवात बिहानै हुने र साँझमा पनि अन्तिम बिरामीसम्म हेरचाह नगरी क्लिनिक बन्द नहुने त्यसपछि हिँड्दै घर फर्किने । पैसाभन्दा सेवा, उपचारभन्दा सान्त्वना, औषधिभन्दा मुस्कान– यही थियो उहाँको उपचार दर्शन ।
बिर्तामोडका असंख्य परिवारका लागि उहाँ डाक्टरभन्दा बढी ‘परिवारका मान्छे’ हुनुहुन्थ्यो । सडक दुर्घटनामा घाइते, गरीब किसान, वृद्ध आमाबाबु, एक्ला महिला–जसले भर्ना शुल्क तिर्न नसके पनि उहाँले कहिल्यै फर्काउनुभएन ।
मानवीयता र सामाजिक सोच
उहाँको मानवीयता केवल क्लिनिकसम्म सीमित थिएन । सामाजिक संस्थाहरूमा सक्रिय, स्वास्थ्य शिविरका अगुवा र स्वास्थ्य सचेतना अभियन्ता– डा. सिन्हा स्वास्थ्य र सामाजिक चेतनाको मिलनबिन्दु हुनुहुन्थ्यो । बिर्तामोडका विद्यालयहरूमा निःशुल्क स्वास्थ्य परीक्षण, असहाय वृद्धवृद्धाका लागि सल्लाह दिने उहाँको हृदय ठूलो थियो ।
परिवार र उत्तराधिकार
डा. सिन्हाको परिवार नै उहाँको शक्ति थियो । उहाँका सुपुत्र अनुराग सिन्हा आज पनि उहाँकै पाइलामा हिँड्दै सामाजिक जिम्मेवारी र मानवसेवामा समर्पित छन् ।
‘हामीले बुवाबाट सीखेउ–सेवा गर्न सकिन्छ, यदि मन ठूलो भयो भने’ उहाँ भन्नुहुन्छ ।
उहाँका अर्को छोरा राजु सिन्हा, हामी सबैको श्रदेय दाइ चिया बगानको म्यानेजरको रुपमा कार्यरत हुनुहुन्थ्यो र एक छोरी अञ्जली सिन्हा (बेबी दिदी) इण्डियन एअरलाइन्सको एयरहोस्टेस हुनुहुन्छ ।
अन्त्य होइन, निरन्तरता
सिन्हा डाक्टरको देह अब हाम्रो बीचमा छैन, तर बिर्तामोडका गल्ली, अस्पतालका गलियाराहरू र रोगीका मनमा अझै उहाँको आत्मा बाँचिरहेको छ । एक व्यक्तिको मृत्यु मात्र होइन– एउटा युगको स्मृति, मानवीयताको पाठशाला बन्द भएको हो । उहाँको मुस्कान, उहाँको सेवाभाव र बिर्तामोडमा गुञ्जिने उहाँको नाम– ‘डा. एम सिन्हा’ सधैँ हाम्रो सम्झनामा जीवित रहनेछ । उहाँले छोडेको मानवीय उदाहरण र उपचारको निष्ठा यस पुस्ताका सबै चिकित्सक र सेवाभावी मनहरूका लागि प्रेरणाको स्रोत रहिरहनेछ ।
‘डा. सिन्हाको जीवन चिकित्सा मात्र होइन, सेवाको धर्म थियो– उहाँप्रति श्रद्धाञ्जली स्वरूप, समाजले उहाँका आदर्शहरूलाई निरन्तरता दिओस् ।’
स्मृतिमाः डा.एम. सिन्हा (सिन्हा डाक्टर)

























