अर्जुनधारा,
झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को सेमीफाइनलमा होक्से युवा फुटबल क्लब(बुद्धशान्ति गाँउपालिका) र ब्रदर्स युनाईटेड फुटबल क्लब(भद्रपुर नगरपालिका) पुग्न सफल भएको छ ।

प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा शुक्रबार सम्पन्न भएको पहिलो खेलमा नमूना युवा क्बल(माई नगरपालिका)लाई ३–१ गोल अन्तरले पराजित गर्दै होक्से सेमीफाइनलमा पुग्न सफल भएको हो ।
होक्सेको जीतका लागि खेल सुरु भएको पहिलो मिनेटमा सुरज लिम्बू “चमेली”ले गोल गरेका थिए । त्यसैगरी खेलको छैटौं र १४औं मिनेटमा सागर रसाइलीले गोल गरेका थिए । त्यस्तै नमूनाको लागि खेलको ३७औं मिनेटमा जीवन लिम्बूले सान्तवना गोल गरेका थिए ।
खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका सागर रसाइलीलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व मदनविक्रम नेम्वाङ, आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”लगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार दाता गर्जमान सुब्बाले सौजन्य गरेका थिए ।
त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा सीएम सेतीपानी फुटबल क्लब (अर्जुनधारा नगरपालिका)लाई ४–० गोल अन्तरले पराजित गर्दै ब्रदर्स युनाईटेड फुटबल क्लब सेमीफाइनल पुग्न सफल भएको हो ।

ब्रदर्स युनाईटेडको जीतका लागि खेलको १२औं, २४औं र २५औं मिनेटमा गोल गर्दै सरोज कार्कीले आफ्नो ह्याटरिक पूरा गरेका थिए । त्यसैगरी थप एक गोल खेलको २०औ मिनेटमा सविन थापा मगरले गरेका थिए ।
खेलको क्रममा पराजित टिम सीएम सेतीपानी एफसीका गोलरक्षक सुजन चेम्जोङ डक सो नियम अनुसार रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । उनले आफू बिट भएको अवस्थामा फल खेलेको हुँदा रेफ्रीले सो नियम अनुसार उनलाई रातो कार्ड देखाएको थियो ।
खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका सरोज कार्कीलाई प्रमुख अतिथि नेम्वाङ, अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनलगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार दाता ख्याम समाल मगरले सौजन्य गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोली(शनिबार)को पहिलो खेल विहान १२ बजे शनिश्चरे फुटबल क्लब(अर्जुनधारा नगरपालिका) र खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) तथा दोस्रो खेल दिँउसो २ बजे नव विहानी फुटबल क्लब(माई नगरपालिका) र सातकटेरी फुटबल क्लब(अर्जुनधारा नगरपालिका)बीच हुने आयोजक सचेत युवा समूहका सल्लाहकार मुकुन्द भण्डारीले जानकारी दिए ।































