जेनजी आन्दोलनका क्रममा संलग्न थप तीन जना प्रहरीको नियन्त्रणमा

0
43

झापा, झापामा गत भदौ महिनामा भएको जेनेजी आन्दोलनका क्रममा प्रहरी सम्पत्तिमा तोडफोड र प्रहरी पोशाक दुरुपयोगमा संलग्न रहेको आरोपमा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब निरीक्षक (प्रनानि) कुलप्रसाद सापकोटाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी, र १६ वर्षीय आयुष धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुबैजनामाथि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अनारमनीमा कार्यरत प्रहरी मिनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेको आरोप लगाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले दमक नगरपालिका–६ लाटे क्याफे क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ।
नियन्त्रणमा परेका २० वर्षीय साजन लाबुहाङले गत २०८२ साल भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी पोशाक निकालेर दुरुपयोग गरेको आरोप छ। उनीलाई पनि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरी स्रोतले जनाएको छ।
यस अघि पनि प्रहरीले बिर्तामोडबाट जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने चारजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने , आगजनी गर्ने , प्रहरीलाई कुट्ने चारजनालाई पक्राउ गरिएको थियो , प्रहरीका अनुसार बिर्तामोड ५ त्रिवेणी चोकबाट अर्जुनधारा ६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बिर्तामोड ५ बस्ने वर्ष २६ का नवराज राई र पक्राउ परेका अर्का एक व्यक्तिको नाम खुलाइएको छैन । प्रहरीको अनुसन्धान जारी रहेकाले उनको नाम नखुलाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here