दुधे।

शिवसताक्षी नगरपालिका–११, दुधेमा कार्यालय रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। तत्कालीन सतासीधाम गाउँ विकास समितिको सबभन्दा पुरानो सहकारी संस्थाका रूपमा परिचित यस सहकारीमा हाल ९४१ जना सदस्य आवद्ध रहेका छन्।
राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न साधारणसभामा उल्लेख्य संख्यामा सदस्यहरूको सहभागिता थियो। सभा संस्थाका अध्यक्ष नारायण प्रसाद बजगाईंको अध्यक्षता तथा सतासीधाम धाम साहित्य संगमका अध्यक्ष एवं सहकारीका सदस्य उमानाथ दाहालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा उपाध्यक्ष जापान थेबेले स्वागत मन्तव्य राखेका थिए भने आर्थिक प्रशासन शाखाका प्रमुख लोकनाथ (लोकेश) खनालले सहजीकरण गरेका थिए।

संस्थाले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदनमा १० करोड १३ लाख ९० हजार ६३८ रुपैयाँ सदस्यको निक्षेप संस्थामा जम्मा भएको बताएको छ। अहिले सहकारीले १० करोड ६४ लाख ११ हजार ७१३ रुपैयाँका कर्जा सदस्यहरूलाई सस्तो ब्याजदरमा लगानी गरेको जनाएको छ। सहकारीको हालको सेयर पुँजी १ करोड ९० लाख ९९ हजार ९०० रुपैयाँ रहेको अध्यक्ष बजगाईंले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरेका छन्।
गत आर्थिक वर्ष ०८१/०८२ मा सहकारीको वासलात १३ करोड ८४ लाख ७० हजार ५७ पैसामा पुगेको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदन अनुसार केही सदस्यले लिएका कर्जा समयमा फिर्ता नगरेकाले संस्थाले उनीहरूको नाम साधारणसभामै सार्वजनिक गरेको थियो। “संस्थाबाट विभिन्न समयमा प्रक्रिया पूरा गरी कर्जा सुविधा लिनुभएका सदस्यज्यूहरूले आफूले भुक्तान गर्नुपर्ने कर्जा रकम तत्काल बुझाइदिनुहोस्,” सञ्चालक समितिले अपिल गरेको छ।

लेखा तथा सुपरिवेक्षण समितिले पनि साधारणसभामा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्दै बक्यौता असुलीमा जोड दिन, कर्जा असुलीका लागि तेरीज खडा गर्ने र सहकारीका समिति तथा उपसमितिहरूलाई सहकारी तालिम प्रदान गर्ने सिफारिस गरेको छ। साथै, भाखा नागेका सावा र उठ्न बाँकी ब्याज असुलीमा विशेष ध्यान दिनुपर्ने समितिको सुझाव थियो।
साधारणसभामा शुभकामना मन्तव्य याम काफ्ले, गोविन्द काफ्ले, दीपक गिरी, सुकबहादुर जबेगु (बीरबल), नरपति पाठकलगायतले दिएका थिए। कार्यक्रममा सहकारीका सक्रिय सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सदस्यका सन्तानलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। संस्थागत विद्यालयतर्फ नन्दीप दाहाल र दीक्षण तामाङ सम्मानित भए भने सामुदायिक विद्यालयतर्फ ऋषव अधिकारी र विनिता दाहाललाई सम्मान गरिएको थियो।
त्यस्तै, जेष्ठ सदस्य दिनानाथ गौतम, नरपति पाठक चन्द्रमाया खेवा र दमयन्ती दवाडीलाई पनि नगद २५०० रुपैयाँका दरले सम्मान गरिएको थियो। सहकारीसँग उत्कृष्ट कारोबार गर्ने रामचन्द्र भण्डारी, कृष्णकुमारी थापा मगर, रेणुका खतिवडा र लालकुमार लिम्बुलाई पनि सम्मान गरिएको थियो।
सहकारीले गत आर्थिक वर्ष ०८१/०८२ १४ लाख ४१ हजार १४६ रुपैयाँ खुदनाफा आर्जन गरेको छ।































