
मिति २०८२/०७/१७ गतेका दिन म आफैं पूर्वाञ्चल दैनिकको कार्यालय बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेको अतिथिसदन रोडमा गएको थिएँ । त्यहाँ चिरपरिचित नै भन्नुपर्छ प्रधान सम्पादक एवम् पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र व्यवस्थापक चन्द्रकान्त ढकालसँग भेटघाट भयो । ढकालले स्वेतवस्त्र पहिरिएको सम्बन्धमा मैले सोधखोज गर्दा बुबाको स्वर्गबास भएको हो भन्ने उत्तर आएपछि म चुप लागेँ । किनकि हिन्दू परम्परामा आधारित यो चलनले पनि प्राथमिकता पाएको हुँदा एउटा चिन्ह स्वरुप ४५ दिन, छ महिना वा वर्ष दिन नै जुठोको संकेतका लागि पनि यो शास्त्रोक्त नियम रहेको छ ।
प्रधान सम्पादक एकराज गिरी र मेरो बसोबास भएको साविक सुरुङ्गा गाविस नं. १ र ३ वडा हुँदा चिनजान नविकरणमा त्यस्तो धेरै समय खर्चिनु परेन । मलाई चाहिँ पूर्वाञ्चल दैनिक खोजी–खोजी पढ्ने नै बानी बसिसकेको हुँदा र त्यस सम्बन्धी अरु पनि पत्रपत्रिकाहरु फेला पार्ने भएको हुँदा मलाई थाहा भयो कि ऊ नै एकराज गिरी हुन् भन्ने कुरा । अर्को जना चन्द्रकान्त ढकालसँग त मेरो कतैबाट नाता सम्बन्ध नै जोडिने हुँदा र पहिले नै पनि परिचय भइसकेकोले झनै सजिलो भयो, कुनै अप्ठ्यारो भएन । ढकालले खाली सेतो पोशाक र लामा दाह्री राखेको भए पनि केही गाह्रो भएन ।
पूर्वाञ्चलन दैनिक पत्रिका हो र यसले सही र सत्य समाचार मात्र प्रसारण गर्दछ भन्ने जनताका साथै पत्रपत्रिकामा चासो राख्ने सबै मानिसहरुमा विश्वास छ भन्ने कुरामा म सहमत छु । यो पत्रिका श्रीअन्तु प्रकाशन प्रालिद्वारा निरन्तर प्रकाशित हुँदै आएको ३१ वर्ष लागेको छ । यसले २५औं वार्षिक रजतजयन्ती विशेषाङ्क २०७६ सालमै निकालिसकेको छ । त्यसपछिका विशेषाङ्कहरु चाहिँ मेरा हातमा नआएका हुँदा मलाई यथार्थ ज्ञान भएन । चाहे जे होस् यस पत्रिकाको म नियमित ग्राहक नभए पनि मेरो मनपर्ने पत्रिका हो । यसमा पूर्वाञ्चल अथवा १ नम्बर प्रदेश लगायत समय–समयमा विश्व तथा राष्ट्रमा भएका घटनाहरुको राम्ररी विश्लेषण गरेको छ भन्ने कुरामा म र म जस्ता पत्रिकाका पाठकहरु बीच सबैलाई थाहा छैन । पत्रिकामा विज्ञापन छापिनु कुनै आश्चर्य होइन । विज्ञापनले आर्थिक सहयोग गरेको हुन्छ नै । बिना आर्थिक सहयोग विज्ञापन छापिँदैन । होला कहीँ केही बाँकी हुन रहन व्यापारमा नौलो कुरा होइन ।
डाक्टर आउने, नयाँ अस्पतालहरु खुलेका वा खुल्ने कुराहरु पनि विज्ञापनबाट जानकारी हुन्छ । जनतालाई सूचना दिने अत्यावश्यक केही कुराहरु भए नेपाल सरकारबाट सञ्चालन भएको विज्ञापन वोर्डले पनि सूचना प्रसारण गर्दछ । कुनाकाप्चाका मानिसहरुलाई पनि सबै कुराको जानकारी हुन सक्छ । यो सबै कार्यको परिपूर्ति गर्ने कार्य पूर्वाञ्चल दैनिकले गरेको छ जस्तो मलाई लाग्छ । अरु खास यस क्षेत्रमा पत्रिका नै छैनन् भए ता हामी पनि पढ्न पाउने थियाँै होला । कान्तिपुर आउँथ्यो त्यो पनि अहिले त बन्द प्रायः छ । सुरुङ्गाबाट कनकाई दैनिक प्रकाशित हुन्थ्यो त्यो पनि अहिले देखिएको छैन भने पूर्वाञ्चल दैनिकको ग्राहक संख्या वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ला कि जस्तो मलाई लागेको छ ।
अन्त्यमा एउटा प्रसङ्ग उल्लेख गर्न मलाई मन लागेको हुँदा यहाँ प्रस्तुत गर्न खोजेको छु । त्यो हो हमास क्षेत्र अथवा गाजा क्षेत्र । असोज २८ गते मंगलबार प्रकाशित पूर्वाञ्चल दैनिकमा ठूला–ठूला अक्षरमा हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकका रिहाइ विपीनको अवस्था अझै अज्ञात लेखिएको रहेछ । त्यो पढेपछि मलाई आश्चर्य लागेर आयो । मैले तिथि–मिति थाहा नभए पनि एकपटक पढेको थिएँ । विपीन जोशी जीवित २० बन्दीसँगै नेपाल आउँदैछन् । त्यो पछि त पत्रिका हेर्ने अवसर नै पाइन । त्यहीँ छिमेकीलाई सोधे के भयो ? विपीन कहिले नेपाल आउँछन् ? उनको घर कहाँ हो ? भन्दा उनले जवाफ दिए– भोलि लास पो आउँछ त । उनको शव परीक्षण गर्दा साँचो ठहरियो । लास ल्याएर परिवारलाई जिम्मा लगाउने कुरा छ । भोलि आउँछ भनेको हुँदा म नै अलमल्लमा परेँ । कहिले ज्यूँदै आउँछ त कहिले मरिसकेको छ, कहिले के कहिले के भन्दा पत्रिकाको विश्वसनीयतामै प्रश्न उठ्ने हुनाले वास्तविक कुरा नबुझिकन कुनै पनि पत्रपत्रिकाले त्यस्तो समाचारलाई त्यही अनुसार मिलाएर लेखे राम्रो हुने थियो भन्ने मलाई लागेको छ ।
एकपटकको कुरा हो, करिब ६० बर्ष नै भयो होला विराटनगरबाट निस्कने ‘हिमचुली साप्ताहिक’ भन्ने पत्रिकामा पनि मैले यही कुरा राखेको थिएँ । हाम्रा छिमेकी एकजना संवाददाताले म सँग गुनासो पनि पोखेका थिए । तर, मैले त्यसको जवाफ राम्ररी बुझाएपछि चित्त बुझाए । त्यस समयमा त्यस्तो विश्वसनीय कुनै साधन पनि थिएन, जस्तो अहिले प्राप्त गर्न सकिन्छ । अहिले पनि टाढाको कुरामा त निकै विचार पु¥याउनुपर्ने हुन्छ । भाषा र कुरा मिलाउन पनि पोख्त नै बन्नुपर्ने र चलाख पनि हुनुपर्ने हुन्छ । नत्र त पूर्वाञ्चल मात्र होइन अरु नै निकै दामी र स्थापित पत्रिकाको पनि मूल्य–मान्यता तथा विश्वसनीयता घट्दै जान्छ र दुस्परिणाम निस्कन्छ ।
म आफँै पूर्वाञ्चल दैनिकको नियमित पाठक भए पनि स्थायी ग्राहक नभएको कारणले विपीन जोशीको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्न असम्भव भयो । प्रहरीले सूचित गर्ने त कुरै भएन । गाजा क्षेत्रमा रहेका हुँदा उनले पहिले नै मृत्यु वरण गरिसकेका रहेछन् भन्ने कुरा पछि थाहा भयो । उनको बसाइ अथवा घरपरिवार नेपालको पश्चिम तराईको कैलाली जिल्लामा भएको पनि जानकारीमा आयो तर पूर्वाञ्चलको एउटा गल्ती चाहिँ के देखाउन चाहन्छु भने त्यसदिनको तिथि मिति चाहिँ मैले लेखेर राखिन र दिमागले पनि पक्रिएन छ । तर, मलाई थाहा भए अनुसार चाहिँ हमासले बन्धक बनाएका २० जनासँग विपिन पनि नेपाल आउने भनेको रहेछ । त्यो चाहिँ असत्य सावित भएको हुँदा मलाई दुःख लागेको मात्र हो । वाक्य मिलाएर त्यही अनुसार लेखेके भए हुन्थ्यो नि भन्ने तर्क मात्र हो ।
पूर्वाञ्चलसँग अरु कुरामा दुख मनाउने कुरै छैन के भन्नु र ? प्रहरीले पनि स्वदेशका खबरहरु मात्र पूर्वाञ्चल दैनिकमा पठाउने गर्दछ । पश्चिमतर्फका ठगी, जुवा, करणी, चेलीबेटी बेचबिखनदेखि लिएर जेन–जी का आगजनी साथै हतियारहरु हराएका अनि फेला पारेका आदि घटनाका बारेमा घरमै बसेर समाचारहरु पढ्न पाइन्छ । त्यसको तुलनामा अहिले कुनै पत्रपत्रिका भएको जस्तो लाग्दैन । अन्य स्थानीय दैनिक पत्रिकाले पूर्वाञ्चलले जस्तो सेवा पु¥याउन सकेको छैन । कुनै पनि कमजोरीले पूर्वाञ्चललाई कुनै असर नपरोस्, यही मेरो शुभकामना साथै र्ईश्वरसँग प्रार्थना छ, पूर्वाञ्चलको चुलिँदै गएको प्रगति अझै चुलियोस्, यही मेरो शुभकामना ।

























