
पत्रकारिता एउटा कागजी काम होइन । पत्रकारिता सत्य बोल्ने निर्णय हो र सत्य बोल्ने निर्णय भनेको सदा झैं अस्तित्वसँगको एकल युद्ध हो । ३१ वर्षअघि २०५२ मंसीर १ गते पूर्वाञचल दैनिक शुरु हुँदा यसले एउटा संस्थाको मात्र जन्म दिएन, यसले पूर्वी नेपालका जन–मनमा ‘शब्दको नागरिकता’ प्रदान ग¥यो । शब्द नागरिकता पाएपछि जनताको पीडा आवाजमा बदलियो, आवाज इतिहासमा बदलियो र इतिहास चेतनामा बदलियो । यसैले पूर्वाञ्चल दैनिकको तीन दशकको यात्रा पत्रिकाको इतिहास मात्र होइन पूर्वी नेपालको सामुहिक आत्मा–विकासको कथा हो ।
समयको दार्शनिक रूप
३१ वर्ष कुनै अंक होइन, एउटा चेतना हो । संसारमा धेरै चीजहरू उम्रन्छन्–रित्तिन्छन्, हराउँछन् । तर ‘चेतना’ भने बाँचिरहन्छ । पूर्वाञ्चल दैनिकको ३१ वर्ष त्यस चेतनाको निरन्तरताको प्रमाण हो ।
समयले हरेक कुरालाई बोक्दैन
समयले केबल त्यही बोक्छ जो मानवताको गहिरो पक्षसँग जोडिएको हुन्छ । तीन दशकअघिको एउटा बिहान पत्रिकाको पहिलो प्रति हातमा उठाउँदा शायद कसैले पनि अनुमान गरेको थिएन । यो कागज चाहिँ कहिले एक ‘अर्काइभ’ बन्नेछ, कहिले ‘आन्दोलन’ बन्नेछ, कहिले ‘अवरोध’ बन्नेछ, कहिले ‘न्यूज–रूमको निष्ठा परीक्षण’ बन्नेछ । सत्यका शब्दहरूको आयु मानिसका शरीरभन्दा धेरै लामो हुन्छ । त्यही भएर आज ३१ वर्षपछि पनि पूर्वाञ्चल दैनिक नयाँ–नयाँ पाठक जन्माइरहेको छ ।
सत्यको दार्शनिक रूप
सत्यलाई बोल्नु सरल हुन्छ, तर बोकेर हिँड्नु कठिन । सत्य कर्कश पनि हुन्छ, सत्य तेजिलो पनि हुन्छ, सत्य कहिलेकाहीँ आफै तल लाने खम्बा पनि हुन्छ । पत्रकारिता भनेको सत्यलाई केवल लेख्नु होइन, बोकेर हिँड्नु हो ।
युद्धका घाउ, द्वन्द्वका चिहान, सीमावर्ती त्रास, राजनीतिक धर्मशालाका धक्कार, अभावका लस्कर –यी सबैलाई पूर्वाञ्चल दैनिकले खुला आँखाले हेरे, निसंकोच शब्दमा उतारे, आफ्नै जोखिममा बोकेर हिँड्यो । सत्य बोकेर हिँड्नेहरूको संख्या सधैँ कम हुन्छ र इतिहासले त्यही अनुहारलाई प्राथमिकता दिन्छ । पूर्वाञ्चल दैनिक यो ‘थोपराको समूह’ मध्ये अद्वितीय बनेर रह्यो ।
पीडाको दार्शनिक रूप
पत्रकारिताको सबैभन्दा ठूलो ककस ‘जन–मनको मौन पीडा’ हो । पत्रकारिताको साँचो कक्षा न त क्याम्पसका कोठामा पर्छ, न त पुरस्कार मञ्चमा । पत्रकारिताको असली कक्षा जनताको मौनतामा पर्छ । पूर्वाञ्चल दैनिकका पानामा दर्जनौं मौन शोकहरू बोल्न थाले किसानको बारम्बार बग्ने खेत, आमाको अस्पताल नपुग्ने छोरी, सीमानामा चिसिएकै हातहरू, अभावको रातमा बत्ती खोज्दै हिँडेको परिवार, अर्थतन्त्रले छोपेको नागरिकको घाँटी । पत्रिकाले लेखेको यही मौनताको आवाज मानव आत्माको सबैभन्दा सत्य अभिलेख हो । पत्रकारिता भावना होइन, तर भावनाको पूर्वाधार हो । किनकि तथ्य केबल सूचना दिन्छ, भावना भने जीवनको अर्थ दिन्छ ।
संस्थागत दार्शनिक रूप
दीर्घायु भनेको केबल टिकिरहनु होइन ‘अर्थपूर्ण टिकाइ’ हो । ३१ वर्ष टिक्नु ठूलो कुरा हो । तर ३१ वर्ष सङ्कट, द्वन्द्व, राजनीतिक अप्रत्याशितता, आर्थिक झड्का, डिजिटल बाढी सबैसँग जुधेर ‘अर्थपूर्ण’ बनेर टिक्नु यो त दार्शनिक उपलब्धि हो । पूर्वाञ्चल दैनिकले समयसँग युद्ध लडेन, यसले समयसँग संवाद ग¥यो र यही संवादले यसलाई आज पनि कागजमा पनि स्क्रिनमा पनि जन–मनमा पनि जीवित राखिरहेको छ । जीवित त धेरै हुन्छन्, तर अर्थवान थोरै हुन्छन् । पूर्वाञ्चल दैनिक यही ‘अर्थवान थोरै’ मध्ये एक हो ।
भविष्यको दार्शनिक रूप
सत्यले नयाँ आकृति खोज्छ, तर सिद्धान्त स्थिर रहन्छ । आगामी वर्षहरूमा सत्यको रूप डिजिटल हुन सक्छ, डेटा हुन सक्छ, इन्टरअक्टिभ हुन सक्छ, कृत्रिम बुद्धिमत्तासँग संवाद गर्न सक्छ, तर पत्रकारिताको आत्मा सदैव पुरानै रहन्छ । मानवलाई मानव बनाउने प्रश्नहरू उठाउनु । यही ‘प्रश्न उठाउने परम्परा’ पूर्वाञ्चल दैनिकले पछिल्ला ३१ वर्षमा जन्माएको सबैभन्दा ठूलो सम्पत्ति हो । पत्रिका अन्त्य हुँदै जाँदा पाना च्यातिन्छन्, मसी फिका हुन्छ तर प्रश्नका गहिराइ अझ बलिया हुँदै जान्छन् । त्यसैले भविष्यमा पनि पूर्वाञ्चल दैनिक केबल समाचार नछाप्ला, मानव चेतना नघट्ने प्रश्नहरू छाप्ला ।
उपसंहार :
पूर्वाञ्चल दैनिक समयलाई देख्ने, सत्यलाई बोक्ने, चेतनालाई जगाउने एउटा विद्यालय अन्ततः पत्रकारिता घटनाको लेखाजोखा होइन, यो मान्छेलाई मान्छे बनाउने नैतिक अभ्यास हो ।

























