२०५२ साल मंसिर १ गतेबाट प्रकाशनको यात्रा सुरु गरेको पूर्वाञ्चल दैनिक आज ३१ औँ वर्षमा प्रवेश गरेको छ। पत्रकारिताको क–ख–रा सिक्ने मेरो प्रारम्भिक बाटो यही पत्रिकाबाट सुरु भएको थियो । मोफसलमै पहिलोपटक अत्याधुनिक अफसेट मशीन भित्र्याई डिजिटल प्रकाशनतर्फ अग्रसर हुने साहसिक कदम श्री अन्तु प्रकाशन प्रालिले चालेको थियो, त्यसकै परिणामस्वरुप मलाई पूर्वाञ्चल दैनिक मा काम गर्ने अवसर प्राप्त भयो ।
सम्पूर्ण अनुभवका बीच, श्री अन्तु प्रकाशन प्रालि नै मेरो पत्रकारिताको महाविद्यालय हो भन्ने अनुभूति आज पनि उत्तिकै बलियो छ। प्रिन्ट तथा डिजिटल दुवै माध्यममा सशक्त उपस्थितिसहित अघि बढिरहेको पूर्वाञ्चल दैनिक मा बिताएका दिनहरू आज पनि मेरो लागि उर्जास्रोत बनेर उभिएका छन्। मोफसलमा पत्रकारिता गर्न पाएको अनुभव, जिम्मेवारी र चुनौती आज पनि मेरो पेशागत जीवनको आधारस्तम्भ हो।
तत्कालीन व्यवस्थापक मात्रिका विमलीप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु, जसले मलाई यो परिवारमा प्रवेश गर्ने अवसर प्रदान गर्नुभएको थियो। आज पत्रिकाले तीन दशकको सफल यात्रा पूरा गर्दै ३१ औँ वर्षमा प्रवेश गर्दा अत्यन्त खुसी लागेको छ, किनकि त्यो मेरो अक्षरलाई कर्मभूमि दिने ठाउँ पनि थियो। आगामी दिनमा पनि पत्रिकाको निरन्तर प्रगतिको कामनासहित हार्दिक शुभेच्छा व्यक्त गर्दछु।
यस अवसरमा पूर्व प्रधान सम्पादक स्व. मदन ढकाललाई कृतज्ञतापूर्वक स्मरण गर्दछु। उहाँबाट पत्रकारितासम्बन्धी धेरै सिप, अनुशासन र मार्गदर्शन पाएको थिएँ। त्यस्तै, आदरणीय गोविन्दचन्द्र क्षेत्री, लक्ष्मण ढकाल, मोहनकाजी न्यौपाने, गोपाल गिरी, लोकराज ढकाल तथा वर्तमान प्रधान सम्पादक एकराज गिरीसँग काम गर्ने अवसर मिल्यो, जसबाट मैले अझ धेरै सिक्न पाएँ। विशेषगरी एकराज गिरीज्यूकै पहलमा पहिलोपटक पत्रकारिताको आधारभूत तालिममा सहभागी हुने मौका पाएको थिएँ, जसले मलाई सशक्तरूपमा अगाडि बढ्ने हौसला दियो।
पत्रिकासँग बिताएको यात्रामा , सुरेन्द्र भण्डारी , सुव्रत न्यौपाने, राजेन्द्र गौतम, इन्द्रसिंह राजवंशी, राजु अधिकारी, टेकेन्द्र ढकाल, छविराज ढकाल, विश्व थापा, रूपेन्द्र शेर्मालगायत अनेकौँ सहकर्मीहरू पनि बराबरका सहयात्री बनेका थिए। सबैप्रति मनैदेखि कृतज्ञ छु।
आज ३१ औँ वर्षमा प्रवेश गरिरहेको पूर्वाञ्चल दैनिक ले प्रदेशभर आफ्नो पाठक परिवार विस्तार गर्न सफल भएको छ। वर्तमान व्यवस्थापक चन्द्रकान्त ढकाल ९सिके अंकल० को कुशल नेतृत्व र सह–व्यवस्थापक होमप्रकाश अधिकारीको निरन्तर परिश्रमले पत्रिका प्रत्येक घरघरमा पुगिरहेको छ। पत्रिका प्रकाशन गर्नु मात्र होइन, वितरणलाई मजबुत रूपमा व्यवस्थापन गर्नु कति चुनौतीपूर्ण रहेछ भन्ने कुरा यो यात्राले प्रमाणित गरेको छ।
पत्रिकाको सफलतामा सम्पूर्ण पूर्वाञ्चल टिम—सञ्चार उद्यमी, सम्पादकीय स्टाफ, प्राविधिक टोली, वितरणकर्मी—सबैको उत्तिकै योगदान छ। विषयवस्तुको विविधता, लेख–फोटो–भिडियोलाई समेट्ने आधुनिक ढङ्ग, र ताजा समाचारप्रतिको संवेदनशीलताले पूर्वाञ्चल दैनिक लाई आजको प्रतिस्पर्धात्मक मिडिया वातावरणमा पनि विशिष्ट पहिचान बनाइदिएको छ।
राजनीति, शिक्षा, स्वास्थ्य, विज्ञान, वातावरण, संस्कृति, साहित्य, खेलकुद, मनोरञ्जनदेखि धार्मिक तथा सामाजिक गतिविधिसम्मका विषयलाई सन्तुलित र तथ्यपरक रूपमा प्रस्तुत गर्दै आएको कारण पूर्वाञ्चल दैनिक आफ्नो स्थापनाकालदेखि नै व्यापक पाठकवर्गमा प्रिय बनेको छ। लोकतन्त्र, सुशासन, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारका पक्षमा पत्रिकाको अडिग प्रतिबद्धता प्रशंसनीय छ।
मोफसलमा पत्रपत्रिका सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो। विज्ञापनका स्रोत सीमित हुनु, सरकार–प्रदेश–स्थानीय तहबाट विज्ञापन वितरणमा देखिने असमानता, र कोभिडपछि पत्रपत्रिकाको कमजोर अवस्था—यी सबै बाधाहरूबीच पनि पूर्वाञ्चल दैनिक निरन्तर अगाडि बढिरहेको छ। धेरै पत्रपत्रिकाहरू बजारमा भेटिन छाडेका बेला पूर्वाञ्चल दैनिक गाउँ–गाउँसम्म पुगिरहेको छ, पाठकको विश्वास कायम राख्दै।
अन्त्यमा, समाजमा भइरहेको अन्याय–अनियमितता, भ्रष्टाचार, जनताको पीडा, राज्यका कमजोरी र मनोमानी—यी सबै विषय उजागर गर्दै जनतासमक्ष सत्य पस्किरहने चेतना पूर्वाञ्चल दैनिक ले कहिल्यै नछोडोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
३१ औँ वार्षिकोत्सवको शुभघडीमा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र उत्तरोत्तर प्रगतिका लागि शुभकामना।
— उप्रेती, सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् ।


























