अमित खम्बू,
अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिका–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा गत कात्र्तिक २७ गतेदेखि जारी वायु पुराण सप्ताह ज्ञान महायज्ञको कथा श्रवण गर्न दैनिक हजारौं भक्तजनहरु उपस्थित हुने गरेको छ ।
धामको ४३औं वार्षिक अनुष्ठानकोरुपमा धाम व्यवस्थापन समितिको आयोजनामा शुरु भएको उक्त महायज्ञको प्रमुख वाचक अन्तराष्ट्रिय कथाव्यास एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी र उपवाचक अर्जुनधारा गुरुकुल वेद विद्यापीठका प्राचार्य पण्डित हेमन्त भण्डारी रहेका छन् ।
नेपाल र छिमेकी देश भारतका विभिन्न स्थानहरुसँगै बर्माबाट समेत भक्तजनहरु धाम दर्शनसँगै महायज्ञको कथाश्रवण गर्न आइपुगेको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
महायज्ञअन्र्तगत भक्तजनहरु कथाश्रवणसँगै साँझ हुने गंगा आरती, भजनकिर्तनलगायतका कार्यहरुमा पनि सहभागी हुने गरेका छन् । सहभागी भक्तजनहरुको संख्यामा वृद्धि भएसँगै धाम व्यवस्थापन समितिले स्थापना गरेको विभिन्न अक्षयकोषहरुमा पनि सहयोग रकम वृद्धि भएको कोषाध्यक्ष जोशीको दावी छ ।

मूलमन्दिरको गर्भगृहमा चाँदी जडान गर्ने अभियानले पूर्णता पाउनेः
गत श्रावणी पर्वदेखि अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको गर्भगृहमा चाँदी जडान गर्ने उद्देश्यले शुरु भएको चाँदी संकलन अभियानले यस अनुष्ठानभित्र पूर्णता पाउने धाम व्यवस्थापन समितिले विश्वास लिएको छ ।
एक तोला बराबर जडान खर्चसहित जम्मा दुई हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको उक्त कार्यक्रमको लागि जम्मा ३० लाख रुपैयाँ खर्च लाग्ने कोषाध्यक्ष जोशीले जानकारी दिएका छन् । उनका अनुसार जम्मा ३० लाख रुपैयाँमध्ये श्रावणी पर्वमा १४ लाख रुपैयाँ संकलन भएको थियो ।
बाँकी १६ लाख रुपैयाँमध्ये हालसम्म ५० प्रतिशत रकम संकलन भइसकेको र ५० प्रतिशत रकम पनि संकलन हुनेमा आफूहरु आशावादी रहेको उनले बताए । “यस अघि धामको मूल मन्दिरमा ताम्रपत्र लगाउने अभियानमा जसरी उत्साहका साथ भक्तजनहरुको सहभागीता रहेको थियो त्यसैगरी चाँदी जडान गर्ने अभियानमा पनि भक्तजनहरुको सहभागीतामा वृद्धि भएको हुँदा हाम्रो लक्ष्य पूरा हुनेछ ।”–कोषाध्यक्ष जोशीले थप स्पष्ट पारेका छन् ।

सामाजिक गतिविधिमा पनि सक्रिय धामः
वर्षभरी विभिन्न किसिमका धार्मिक गतिविधि सञ्चालन गर्दै आएको अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले यस आर्थिक वर्षदेखि सामाजिक गतिविधिको सेवालाई पनि विस्तार गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३बाट त्यस कार्यको लागि धाम व्यवस्थापन समितिले बजेट विनियोजन गरेको कोषाध्यक्ष जोशीले जानकारी दिए । उनका अनुसार धार्मिक संस्थाहरुले लिने मात्र होइन सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न प्राकृतिक प्रकोपका घटनासँगै सामाजिक गतिविधिहरुलाई सहयोग पनि गर्दछ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आफूहरुले यस किसिमको कार्यक्रम शुरु गरेको बताइएको छ ।
समितिले यस वर्ष आएको बाढीपीडितहरुको लागि जिल्ला प्रशासन कार्यालय झापा अन्र्तगत रहेको प्राकृतिक विपद् कोषमा ५१ हजार रुपैयाँ, गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षती भएको इलाका प्रहरी कार्यालय अनारमनीको भवन पुर्ननिर्माण गर्न ५१ हजार रुपैयाँ, अर्जुनधारा–६स्थित ठाकुर सत्संग मन्दिरलाई ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
त्यसैगरी शनिश्चरे प्रहरी चौकीको सवारी मर्मत गर्न नगद २५ हजार रुपैयाँसहित एक थान टायर, सशस्त्र प्रहरी बल शनिश्चरे बेसको ब्यारेक मर्मत गर्न नगद २१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै महायज्ञ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १००८ केशवानन्द स्वामीजी महाराज(केएन स्वामी)को निर्देशनमा धाम व्यवस्थापन समितिले प्रत्येक साताको एक दिन स्थानीय बालबालिका र किशोरकिशोरीहरुको लागि संस्कारयुक्त शिक्षा सम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । उक्त सचेतना कक्षाको सहजिकरण केएन स्वामी आफैले गर्ने बताइएको छ ।





























