अर्जुनधारा ।

विगत तीन वर्षदेखि वडास्तरिय यु–१८ नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको झापाको अर्जुनधारा नगरपालिका–८स्थित शनिश्चरे फुटबल क्लबले यस वर्ष अन्तरपालिका यु–१८ प्रतियोगिता गर्ने भएको छ ।
स्थानीयस्तरमा खेलाडी उत्पादनसँगै लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले क्लबले उक्त प्रतियोगिता २०७९ सालदेखि सञ्चालन गर्दै आएको थियो । आगामी माघ दोस्रो सातादेखि सञ्चालन हुने प्रतियोगितामा झापाका आठ वटा नगरपालिका र सात वटा गाँउपालिका गरि जम्मा १५ वटा पालिकाको सहभागीता रहने क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश एक लाख र ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सल्लाहकार एवम् प्रतियोगिता आयोजक समितिका संयोजक टेकराज तिलिङले जानकारी दिए ।
अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा खेलमैदानमा हुने प्रतियोगिताअन्र्तगत प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद तीन हजार, विभिन्न विधागत पुरस्कारतर्फ जनही नगद पाँच हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।
अनुमानित नौ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको लागि मुख्य प्रायोजक, सह–प्रायोजक, अर्जुनधारा नगरपालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था र दाता महानुभावहरुबाट स्रोत जुटाउने क्लबको लक्ष्य रहेको छ ।
प्रतियोगिता आयोजक समितिका संयोजक तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, निर्माण व्यवसायीद्वय मिलन बस्नेत र विजय सेन्दाङले प्रतियोगिताको लागि आवश्यक कार्यहरुको लागि सहजिकरण गर्ने बताएका छन् । उक्त कार्यक्रमको सञ्चालन सचिव हरि गुरुङले गरेका थिए ।


























