पशुपतिनाथ क्षेत्रमा आज पितृका नाममा शतबीज छरिँदै

0
26

काठमाडौँ,

मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। बुधबारपशुपतिनाथ क्षेत्रमा बिहानैदेखि शतबीज (सतबिउ) छर्नेको घुइँचो लागेको छ।

यसअघि मंगलबार राति श्रद्धालु पितृका दीप तथा महादीप बालेर जाग्राम बसेका थिए। अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बाह्ममूहुर्त्तमै बागमतीमा बत्ती बगाउने परम्परा छ।

यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने परम्परा छ। शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल हुन्छन्।

१०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदि ठाउँमा शतबीज छरिन्छ। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त भइने विश्वास छ।

पुराणादिमा उल्लेख नभएको तर हेमाद्रि नामक ग्रन्थमा पशुपतिनाथ आसपास क्षेत्रमा शतबीजरोपण (सतबिउ छर्नुपर्ने) गर्नुपर्ने बताइएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। पशुपतिनाथमा आउन अनुकुल नहुनेहरूले अचेल नजिकका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन्।

पञ्चांगका अनुसार शनिबार ६ घडी २२ पला अर्थात् बिहान ९ बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वैदिक कालगणनाका अनुयायीले भने बुधबार चतुर्दशी नभई औँसीकै कर्म गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here